पोखरा पुगेका प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै गठबन्धनमा सिट बाँडफाँटमा ठूलो असहमति नरहेको भन्दै आज भोलि नै शीर्ष नेताहरुको बैठकले सहमति जुटाउने बताए ।
प्रचण्डले विभिन्न जिल्लाबाट निर्वाचन लड्न प्रस्ताव गरिए पनि आफू चितवनबाटै निर्वाचन लड्ने बताए । चितवनका जनताको चेतना र भरोसाका कारण त्यहीबाट निर्वाचन जित्नेमा आफू पूर्ण विश्वस्त रहेको प्रचण्डले बताए ।
प्रचण्डले नागरिकता विहिन ७ लाख नेपाली नागरिकलाई वंशजका आधारमा नागरिकता दिन नागरिकता विधेयकमा हतार गरिएको बताए । बैबाहिक अंगिकृतको हकमा सात वर्षे प्रावधानमा आफ्नो अडान कायमै रहेको उनले बताए । प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणका लागि अब राष्ट्रपतिसँग यताउता गर्ने अधिकार नभएको बताए । उनले भने, ‘दोस्रोपटक पनि प्रमाणीकरण गर्नुभएन भने अदालत जाने या राजीनामा गर्नुपर्ने हुन सक्छ । राष्ट्रपतिलाई संविधानले दोस्रोपटक फिर्ता गर्न सक्ने व्यवस्था छैन ।”