जुम्लामा ८ सय ७८ कर्मचारी निर्वाचनमा खटिने

जुम्ला । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जुम्लामा आठ सय ७८ कर्मचारी खटिने भएका छन् । निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवक लगायतका कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए ।

जिल्लाभर १ सय ६ मतदान केन्द र ८३ वटा मतदानस्थल कायम गरिएको छ । प्रति मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी कर्मचारी रहने छन् ।
त्यसैगरी चार जना स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जुम्लाका एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्यका लागि जिल्लाका ८ वटै स्थानीय तह गरी ६८ हजार ६ सय ३८ मतदाता रहेका छन् ।

जसमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र १ मा पुरुष १८ हजार ८ सय ७८,महिला १७ हजार ९ सय ५ गरी जम्मा ३६ हजार ७ सय ८३ जना र क्षेत्र नम्बर २ मा पुरुष १६ हजार ८ सय २२ महिला,१५ हजार ३३ गरी जम्मा ३१ हजार ८ सय ५५ जना रहेका छन् । मतदाता शिक्षाका लागि सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संयोजक रहने गरी वडासचिव र महिला स्वयंसेविकालाई परिचालन गरिने छ ।

मतदाता शिक्षाका लागि जिल्लास्तरीय समिति समेत गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीको संयोजकत्वमा रहेको समितिमा जिल्ला समन्वय समिति अधिकारी,सदरमुकाममा रहेको सथानीय तहका प्रमुख प्रशासकीय अधिकृत,नेपाल पत्रकार महासंघका प्रतिनिधि र जिल्ला निर्वाचन अधिकारी सदस्य सचिव रहने गरी समिति गठन गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस