तातोपानीका किसानलाई ओखरखेती प्रविधि तालिम

जुम्ला । तातोपानी गाउँपालिकाले पालिकाका किसानलाई ओखरखेतीको प्रविधि सम्बन्धी तालिम दिएको छ । ओखरखेतीको विधि,उत्पादन बृद्धि र श्रम अनुसारको उत्पादनगरी किसानलाई आत्मनिर्भर बनाउन ज्ञान पनि आबश्यक रहेको कुरालाई मनन गर्दै विहिबार ओखर खेतीको प्रविधि सम्बन्धी तालिमको आयोजना गरिएको हो ।

तालिममा तातोपानी गाउँपालिकाका २२ जना किसानको सहभागिता रहेको थियो । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तरर्गत स्याउ ओखरको साना कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम मार्फत छनोटमा परेका ८ समुहका २२ जना किसानलाई पहिलो चरणमा तालिम दिइएको तातोपानीका कृषि शाखा प्रमुख पदम नेपालीले बताउनुभयो ।

ओखर पकेट क्षेत्र कार्यक्रम संचालन गर्नुअघि खेतीबारे किसानलाई आबश्यक विधि प्रक्रिया सिकाउन एकदिने तालिमको आयोजना गरिएको प्रमुख नेपालीको भनाई छ । उहाँका अनुसार ओखर पकेटका लागि १ वटा सहकारी,२ वटा समुह र ५ जना उद्यमी पहिलोचरणमा छनोटमा परेका छन् ।

ओखर पकेट क्षेत्र कार्यक्रम तातोपानीका वडा नं. १,४,६,७ र ८ मा संचालन भईरहेको छ । तातोपानीमा स्याउ ओखर खेतीको सम्भावना राम्रो छ । तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईले भन्नुभयो,“किसानहरु संग खेती प्रविधिबारे प्रयाप्त ज्ञान नहुँदा उत्पादन बृद्धि हुन सकेको छैन् । श्रमअनुसारको आम्दानी लिन आबश्यक ज्ञान सिप चाहिन्छ । त्यसैले पालिकाका किसानलाई खेती प्रविधिको तालिम दिइएको हो ।”

तातोपानी गाउँपालिकामा पकेट क्षेत्र कार्यक्रम संचालन हुनु पुर्व किसानलाई खेती प्रविधिबारे अनिवार्य ज्ञान प्रदान गर्ने योजनामा रहेको तातोपानीका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताउनुभयो । उहाँका अनुसार कृषि क्षेत्र तातोपानीको पहिलो प्रथामिकतामा छ ।

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस