धावक रोकायाको सम्मानमा ‘चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन’बैशाख ११ गते हुने

जुम्ला । आगामी बैशाख ११ गते चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन–२०८० हुने भएको छ । विश्व किर्तिमानी धावक हरि वहादुर रोकायको सम्मान तथा कर्णालीमा खेल पर्यटनको विकास गर्न चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन हुन लागेको हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा विगतका तीन वटा संस्करणको सफलतापछि आगामी बैशाख ११ गते कर्णाली खेलकुद क्लबको आयोजना तथा डिभिजन वन कार्यालय जुम्लाको मुख्य प्रायोजनमा धावक रोकायाको सम्मानमा चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन म्याराथनको तयारी तिब्र रुपमा भईरहेको कर्णाली स्पोर्ट क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताउनुभयो ।

क्लबले जुम्लालाई उच्च पर्वतिय खेलकूद प्रशिक्षण केन्द्रका रुपमा विकास गर्न,खेल पर्यटनको प्रर्बद्धन गर्न र पछिल्लो पुस्तामा खेलकूद प्रतिको आर्कषण बढाउन विगत तीन वर्षदेखि जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताले क्षेत्रको पर्यटन प्रवद्र्धन का साथै साहसीक खेलकूदक प्रशिक्षणमा टेवा पुग्ने आशा गरिएको छ ।

विश्वमा हिमाली तथा पहाडी क्षेत्रमा आयोजना हुदै आएका यस्ता साहसीक खेलकूद प्रतियोगिताहरुमा नेपालका स्थान उच्च रहेको छ । विश्वको अग्लो स्थानमा हुने दौड जस्तै एभरेष्ट म्यारथन नेपालमै हुने गरेको छ । कर्णालीलाई रोग र भोग वाटमात्र नभई खेलकुदको संभावना भएको प्रदेशका दृष्टिकोणवाट परिचित गराउन दौड प्रतियोगिताको आयोजना गरिएको हो ।
पूर्व तयारी अनुसार यस प्रतियोगिता लाई व्यवस्थित तथा सफल बनाउन विभिन्न चार ठाउँहरुमा चेक पोईन्ट,विभिन्न उपसमिती तथा दौड हुने रुटका वजार तथा गाउँहरुमा खेलाडीहरुको स्वागत तथा सत्कारको तयारी भईरहेको छ ।

चन्दननाथ भैरवनाथको आँगन,खलंगा वजार,जुम्ला वाट शुरु भई मुगुमा स्थित नेपालकै सबैभन्दा ठुलो रारा तालको हुटु छेउमा अन्त्य हुनेछ । जुम्ला–रारा अल्ट्रा म्याराथन दौड प्रतियोगिताको दूरी ४९ कि.मी रहेको छ । भने,विगतका तिनवटा प्रतियोगिताहरुमा ३ सयदेखी ४ सयको हाराहारीमा देश विदेशका खेलाडी सहभागी रहेकोमा यसवर्ष झण्डै २ हजार खेलाडीको सहभागिता गराउने लक्ष्य राखिएको अध्यक्ष शाहीको भनाई छ ।

गत वर्षको प्रतियोगितामा नेपालका १८ जिल्ला का साथै बेलायत, नेदरल्याण्ड, भारत, इटाली, अमेरिका वाट समेत खेलाडीहरु सहभागी भएका थिए । यस वर्ष प्रतियोगिताका विभिन्न बिद्याहरुमा २८ जना धावकहरुलाई नगद,मेडल तथा प्रमाण पत्रद्धारा पुरस्कृत तयारी छ । जुम्ला–रारा अल्ट्रा म्याराथनको विजेता महिला पुरुष दुबैले नगद १÷१ लाख पुरस्कार,प्रमाणपत्र र मेडल पाउने छ । भने द्धित्तिय हुनेले नगद ७५ हजार,तृत्तिय हुनेले ५० हजार,सान्तोवना हुनेले २० हजार र पाँचौ स्थानमा आउनेले पनि २० हजार नगद सहित प्रमाण पत्र र मेडल पाउने कर्णाली खेलकुद क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

त्यस्तै विद्यार्थीबीच ५ किलोमिटर दुरीको छोटो दौड प्रतियोगिता पनि हुने छ । जसमा प्रथम हुनेले ५ हजार नगद सहित पुरस्कार पाउने छ । भने क्रमशः द्धित्तिय,तृत्तिय हुनेले ३ र २ हजार नगद र मेडल प्रमाण पत्र पाउने छन् ।

साथै ५ किमी दुरीको कार्यालय कर्मचारी र व्यापारी उद्योगी बीचको दौड प्रतियोगिता हुने छ । भने १ किमी दुरीको बालबालिकाको दौड प्रतियोगिता हुने छ । जसमा प्रथम,द्धित्तिय,तृत्तिय हुनेलाई आर्कषक पुरस्कारको व्यवस्था गरिएको छ ।

खेलाडी दर्ता प्रक्रिया जारी रहेको आगामी बैशाख ४ गते सम्म देशविदेशका खेलाडीहरुले नाम दर्ता गराउन सक्ने छन् । कर्णाली स्पोर्ट क्लबले आफ्नो स्थापना कालदेखीनै खेलाडी प्रशिक्षण जुम्ली घोडा दौड,स्याउ महोत्सव,जुम्ला हेरिटेज ट्रेल रेस,जुम्ला रारा अल्ट्रा म्यारथन लगायतका विभिन्न संस्कृति संरक्षण,पर्यटन प्रर्बद्धद खेलकुद विकासको काम गर्दै आएको छ ।

चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताका लागि झण्डै २२ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । भने मुख्य प्रायोजकका रुपमा डिभिजन वन कार्यालय जुम्ला रहेको छ ।

 

प्रकाशित मिति : २०७९ चैत्र १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस