राेपाई महाेत्सव : विश्वकै अग्लाे स्थानमा धान फल्ने छुमज्युलोमा घट्दै मार्सीखेती (फाेटाे फिचर)

जुम्ला । कर्णालीका ४० पर्यटकिय गन्तव्यभित्र सुचिकृत भएको,विश्वकै अग्लो स्थानमा मार्सीधान उत्पादन हुने छुमज्युलोमा पछिल्लो समय मार्सीधान खेती घट्दै गएको छ । विश्कै अग्लो स्थानमा धानखेती हुने क्षेत्रका रुपमा गिनिज बुकमा समेत रेडर्क कायम भएको पातारासीको छुमचौर ज्युलो खेती नहुँदा बाझिँदै गएको छ ।

समुद्री सतहदेखि २ हजार ८ सय ५० मिटर उचाईमा अबस्थित छुमचौर ज्युलो विश्वकै अग्लो स्थानमा धान फल्ने एक मात्र क्षेत्र हो । जहाँ एग्रो टुरिजमको प्रचुर सम्भवाना रहेको छ । दुई तीन दशक पहिलासम्म पातारासी ३ छुम र हुरी गाउँका करिब ३ सय ६४ घरधुरीका मुख्य आयस्रोतनै छुमज्युलो थियो । गाउँमा सडक पुगेको थिएन् । अहिलेको जस्तो घरआगँनमै खाद्यको चामल पुग्ने समेत पहुँच थिएन् । बजारबाट किनेर खान समेत आर्थिक स्रोत मजबुद थिएन् ।

स्थानीय ७० वर्षिय कालो महतारा भन्छन,“करिब ३६ हेक्टरमा फैलिएको छुमज्युलोबाट उत्पादित धानबाटै वर्षदिन पुग्थ्यो । पछिल्लो समय धानउत्पादन भन्दा यूवाहरु यार्सा संकलनतिर बढी आर्कर्षित भएपछि जेठमा रोपाई छोडेर पाटन जान थाले । जसका कारण छुम ज्युलोको ७० प्रतिशत भाग बाँझिदै छ । खेती विस्तार गर्न नीति सहित लगानी बढाउनु पर्छ । भने मेला महोत्सव वर्षेनी गरिनु पर्छ ।”

त्यस्तै छुम गाउँकै ७६ वर्षको कलिमान महताराका अनुसार छुमज्युलोमा २०१२ सालबाट खेती सूरु भएपनि २०१४ सालदेखि तातोपानी ४ गिडिखोलाको विउ ल्याएर धानखेती उत्पादन भएको हो ।


२०२१,०२८, र २०३५ सालमा रोपनी दर्ता भएको थियो । कलिमानले भने,“२०३५ मा अन्तिम रोपनी दर्ता भएपछि विश्वकै अग्लो स्थानमा मार्सी फल्ने क्षेत्रका रुपमा छुमचौर ज्युलो गिनिज बुकमा रेकर्ड कायम भएको हो । उत्पादनको प्रचुर सम्भवान हुँदा अधिकांश किसान क्षणिक लाभका लागि पाटन जाने,घेराबार नहुँदा बालीनाली असुरक्षित हुने,रैथाने बाली प्रर्बद्धनमा सरकारको सहयोग नपाउँदा धानखेती हरायो । यसलाई जोगाउन,उत्पादन बढाउन सरकारले विशेष लगानी गर्नुपर्छ ।”

पातारासी ३ मा पर्ने छुमगाउँका २६० र हुरी गाउँका १०४  गरी ३ सय ६४ घरधुरीका किसानले छुमज्युलो भोकचलन गर्दै आएका छन् । पातारासी गाउँपालिकाले करिब ११ करोड लागतको छुमचौर ज्युलोको दिगो विकासका लागि विस्तृप्त परियोजना प्रतिबेदन (डिपिआर) समेत तयार भएको ३ नम्बर वडाध्यक्ष गोविन्द रावत बताउँछन् ।

उलने भने,“डिपिआरमा छुमज्युलोमा सिँचाई आयोजना,मन्दिर,होमस्टे २ वटा,हेलिप्याड र ४ वटा गेड निर्माण गर्ने उल्लेख छ । करिब ३ करोड बढी लगानीमा १ किमी लामो पक्की पर्खाल निर्माण हुदैँ छ । यसले बाली सुरक्षित हुने आशा गरिएको छ । यदपी,अन्य मल विउदेखि ढुवानीमा समेत सरकारले लगानी बढाउनु पर्छ ।”

स्थानीय काली बहादुर बोहोरा भन्छन,“यूवा सबै पाटन जान्छन् । उत्पादीत मार्सिधानले २÷३ महिना पुग्दैन । पाटनको कमाईले वर्षभरिको खान पुग्छ । छुमज्युलामो मार्सीखेती विस्तार गर्न, एग्रो टुरिजमका रुपमा विकास गर्न तीनैतहका सरकारले नीतिसहित लगानी बढाउन जरुरी छ ।”

खेतीविस्तार गर्न रोपाई महोत्सव
विश्वकै अग्लो स्थानमा जुम्ली कालिमार्सी धानको रोपाई महोत्सव सम्पन्न भएको छ । जुम्लाको पातारासी गाउँपालिका वडा नं. ३ स्थित विश्वकै अग्लो स्थान छुमचौर ज्युलोमा रोपाई महोत्सव सम्पन्न भएको हो ।

पातारासी गाउँपालिकाको आयोजनामा आईतबार कर्णाली प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्मा सहितको टोलीले मार्सीधान उत्पादन बृद्धि गर्न,खेती विस्तार गर्न रोपाई महोत्वको गरिएको हो ।

कार्यक्रममा कृषि मन्त्री भिम प्रकाश शर्माले कर्णाली सरकारले कृषि र पूर्वाधार क्षेत्रलाई पहिलो प्रथामिकता दिएर नीति र बजेट ल्याउने बताए । जुम्लामा भाषा,साहित्य र सभ्यतासंगै अर्गानिक रैथानेबाली उत्पादनका हिसाबले पनि सक्षम जिल्ला भएको उल्लेख गरे ।

उनले भने,“पछिल्लो समय खेती छोडर पाटन जाने चलनले धानखेती घट्दै गएको पाइयो । हिजो यहि ठाँउको उत्पादनले खाना पुगेको थियो । किन पुगेन ? पाटनको क्षणिक कमाईले मार्सीको पहिचानै खतरामा परेको कुरा सबैले बुझ्न जूरुरी छ । छुमज्युलोको पर्यटन विकासका लागि आबश्यक बजेट व्यवस्था गर्न म प्रतिबद्ध छु ।”

कर्णालीलाई अर्गानिक प्रदेश घोषणा गर्ने २०७५ मै नीति बनीसकेकोले सोहि अनुसार अर्गानिक उत्पादनमा जोड र रसायनिक प्रयोगलाई निरुत्साहित गर्नुपर्ने उल्लेख गरे ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जुम्ली कालिमासी धानको उत्पादन बृद्धि र खेती विस्तारका लागि प्रदेश सरकारले प्याकेजमै विशेष नीति र बजेट विनियोजन गर्नुपर्ने बताए ।

पातारासीका अध्यक्ष पुर्णसिंह बोहोराले पातारासीमा एग्रो टुरिजमको प्रचुर सम्भवाना भएर पनि नीति र लगानी अभावले ओझेलमा परेको दुखेसो गरे । आर्थिक समृद्धी,रोजगारी सृजना र उत्पादन बृद्धिका अथाह सम्भावना भएर पनि लगानी अभावले अबसरमा रुपान्तरण हुन नसकेको उनको भनाई छ ।


उपाध्यक्ष जनमाया रोकाया,कृषि विकास कार्यालयका प्रमुख गणेश बहादुर अधिकारी,पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाही लगायतका बक्ताले जुम्लाको मार्सीधानको खेती विस्तार र उत्पादन बृद्धिमा सरकारले सहुलियत दिनुका साथै बजारीकरणमा आबश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस