
जुम्ला । हिमा गाउँपालिकामा दिगो तथा न्योयोचित विकास प्रतिष्ठान सेडा नेपाल जुम्ला द्धारा सञ्चालित बालबालिकाको सपना परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । विगत तीन वर्षदेखि सिंजा क्षेत्रका तीन वटै पालिकामा बालबालिकाको कूपोषणदर घटाउने र बालबालिकाको सर्बागिण विकासका लागि काम गर्दै आएको परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न भएको हो ।
सामाजिक लेखा परिक्षणमा सेडा नेपाल जुम्लाका परियोजना संयोजक प्रेम सिंह ठकुरीले परियोजनाले गरेका गतिविधि,सिकाई,चुनौती अबसरका विषयमा प्रस्तुती गरेका थिए । ती वर्षको अवधिमा उक्त परियोजनाले ३ वर्षमुनीका बालबालिकाको कूपोषण दर घटाउन घरदैलो सर्वेक्षण,समुहमा बैठक,छलफल,अन्तरक्रिया लगायतका कार्यक्रम गरेको पाइएको छ ।
सिंजा क्षेत्रका तीन वटै पालिकामा बढ्दो शिघ्र कूपोषणलाई घटाउन परियोजनाले उल्लेखीय भुमिका समेत खेलेको देखिन्छ । घरमै सर्वोतम पिठो बनाउने देखि लिएर ३ वर्ष मुनिका बच्चाहरुको स्याहार सुसारमा विशेष ध्यान समेत अभिभावकहरुको क्षामता विकासमा जोड दिएको छ ।
सामाजिक लेखा परिक्षणमा प्रस्तुत प्रतिबेदनका अनुसार परियोजना मार्फत बालबालिकाको कुपोषण घटाउन पालिकास्तरीय ३ वटा प्रारम्भीक बालविकास समिति गठन, वडास्तरीय २१ वटा समिति गठन,२१० जना महिला स्वास्थ्य स्वयम सेविका संग नियमित छलफल गरेको,२१० वटा स्वास्थ्य आमा समुहमा आबद्ध ४ हजार १५० महिला संग छलफल गरेको र १०५ वटा सामुदायिक संवाद चलाइएको छ । भने हिमा गाउँपालिकाका लागि विनियोजित ५४ लाखबढी बजेट खर्च भईसकेको छ ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले सपना परियोजनाले दुर्गमका बालबालिकाको पोषण स्थिती सुधारमा उल्लेखीय भुमिका खेलेको बताए । परियोजना दिर्घकालिन नरहने दिगो समधान स्थानीय सरकारलनै खोज्नु पर्ने भएकोले आगामी नीति तथा कार्यक्रम र बजेटमा बालबालिका क्षेत्रलाई प्रथामिकता दिईने उल्लेख गरे ।
कार्यक्रममा सहभागी वडाध्यक्षहरुले पनि वडास्तरका कार्यक्रमलाई आगामी दिनमा बालबालिकामैत्री बनाउने प्रतिबद्धता गरेका छन् । कार्यक्रममा सहभागी पत्रकार मानव बहादुर कुँवर,पुर्ण प्रसाद चौलागाई,विजय रावत र नवराज नेपालीले सपना परियोजनाले सिंजा क्षेत्रका बालबालिकाको कूपोषण घटाउन खेलेको भुमिकाको प्रशंसा गर्दै परियोजना संचालन अवधिमा मिडिया क्षेत्र संगको समन्वय अपेक्षित रुपमा प्रभावकारी हुन नसकेको सुझाब राखेका थिए ।
प्रविधि र सूचनाको युगमा सामाजिक रुपान्तरण चेतना बृद्धिका लागि संचार जगतको महत्वपुर्ण भुमिका रहेको कुरा स्मरण गराँदै परियोजनाले गरेका राम्रा काम सुधार गर्नु पर्ने काम समेत मिडियाबाट जनतामाँझ आउन नसकेकोले आगामी दिन समन्वय सहकार्य गर्न सुझाब दिइएको थियो ।
प्राप्त सुझाबलाई आगामी दिनमा कार्यान्वयन गरिने परियोजना संयोजक प्रेमसिंह ठकुरीले बताए । अपेक्षित रुपमा समन्वय नभएपनि आशिंक मिडिया कभरेज भएको तथा आगामी दिनमा सबै सरोकारवाला निकाय संग समन्वय गरेर कार्यक्रम अघि बढाईने उल्लेख गरे ।
सरकारी तथा गैरसरकारी निकाय तथा कुनै पनि सेवा प्रदायक निकायले आफ्ना गतिविधि नागरिक सार्वजानिक गर्नुपर्ने कानुनी प्रावधान छ । सुशासन पारदर्शतिा कायम गर्न तथा सूचनाको हकको प्रत्याभुति दिलाउन प्लान ईन्टरनेशन नेपालको आर्थिक सहयोगमा सेडा नेपालद्धारा सञ्चालित बालबालिकाको सपना परियोजनाको सामाजिक लेखा परिक्षण जेठ १ गते गरिएको हो ।