कर्णाली प्रतिष्ठान :प्रहरीद्दारा खाेलियाे ताला,प्रध्यापकहरुले सुरु गरे पेन डाउन र धर्ना

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यापक तथा प्रध्यापकहरु आन्दोलित भएका छन् । स्थायी गर्नुपर्ने माग राख्दै गत जेठ १४ गतेबाट आन्दोलित बनेका प्राध्यपाकहरुका माग अझै संबोधन हुन सकेका छैनन् ।  

लामो समय सम्म माग संबोधन नभएपछि आईतबार कर्णाली प्रतिष्ठानका पदाधिकारीहरुको कार्यकक्षमा ताला लगाउने तयारी भयो । सोहि अनुसार रजिष्टार,रेक्टर, डीन र अस्पताल निर्देशकको कार्यकक्षमा ताला लगाए । अन्तिममा उपकुलपति डा.मंगल रावलको कार्यकक्ष तालाबन्दी गर्न खोज्दा उपकुलपतिले मानेनन् ।

सह प्रध्यापक रमेशराज उपाध्यायले भने,“सेवा प्रवाह र  अध्यायनलाई प्रभावित नहुनेगरी छिटो माग संबोधन हुने आशामा पदाधिकारीको कार्यकक्ष तालाबन्दी गर्ने योजना हो ।  तर उपकुलपतिले ताला लगाउन दिएनन् । अन्ततः प्रहरी प्रशासन लगाएर अन्य कार्यकक्षको ताला खोलिएको छ ।”

तालाबन्दीपछि रिले अनशनको  कार्यक्रम रहेपनि तालाबन्दी कार्यक्रम  असफल भएपछि सिधै पेन डाउन तथा धर्नाका कार्यक्रमलाई अघि बढाइएकोसहप्रध्यापक उपाध्यायले जानकारी दिए । हाम्रो मनसाय सेवालाईरोक्ने छैन् । अध्यायन प्रभावित बनाउनेपनि छैन् । तर पदाधिकारीहरु हाम्रा समस्या र माग प्रति गैरजिम्मेवार बनेपछि सिधै पेन डाउन धर्नाका कार्यक्रम अघि बढाइएको उनको भनाई छ ।

हाल कर्णाली प्रतिष्ठानमा एक वर्ष देखि ६ वर्ष सम्म काम गरेका ६० जना करारका अध्यापक तथा प्रध्यापकहरु रहेका छन् । जो सबै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनरत अध्यापक तथा प्रध्याकहरु आफुहरुलाइ स्थायी गर्नुपर्ने माग राख्दै आएका छन् ।

लामो समयदेखि जुम्लामा कार्यरत रहेका करार अध्यापक प्रध्यापकहरुले स्थायी गर्नुपर्ने माग राख्दै पेन डाउन  र धर्नाका कार्यक्रम सूर गरिएको प्रध्यापक संघर्ष समितिका संयोजक रवीन्द्र रोकायाले बताए ।

उनले भने,“गत जेठ १४ गतेदेखि करार अध्यापक र प्रध्यापकहरूलाई स्थायी गर्नुपर्ने मागसहित संघर्षका कार्यक्रम सुरु गरेका थियौ । तर प्रतिष्ठानका पदाधिकारीहरु हाम्रा माग प्रति अनुदार देखिए । सुनुवाई नभएपछि हामी तालाबन्दीदेखि रिलेअनसन सम्म पुगेका थियौ । त्यो पनि असफल भएपछि पेन डाउन र धर्नाका कार्यक्रम सुरु गरेका छौ ।”


आन्दोलनरत पक्षले संघर्षको पहिलो चरणमा प्रशासन कार्यालय, नगरपालिका, प्रतिष्ठानका सबै पदाधिकारी, सहकुलपति र कुलपतिको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका थिए । कुनै पनि सुनुवाइ नभएपछि असार १७ देखि २४ गतेसम्म कालोपट्टी बाँधेर प्रतिष्ठानको काम गरेका थिए ।

दोस्रो चरण सम्मका ध्यानकर्षणका कार्यक्रम गर्दा पनि सुनुवाई नभएपछि हाम्रा माग प्रति प्रतिष्ठानका पदाधिकारी गम्भीर नभएको  ठहर गर्दै पेन डाउन गरिएको हो  । यदपी,अझै सुनुवाई नभए कडा आन्दोलनका कार्यक्रम अघि सार्ने अध्यापक तथा प्रध्यापकहरुले चेतावी दिएका छन् ।

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस