जुम्ला । स्वदेशमा रोजगारी नपाएको भन्दै कालापहाड र खाडी मुलुक जाने यूवाको भिड थामी नसक्नु छ । दैनिक सयौको संंख्यामा यूवाहरुले थातथलो (जन्मघर) छोडी रहेका छन् । अझ हिउँदको समय जुम्लाका गाउँहरु महिला र बुढापाकाकै भरमा हुन्छन् । जन्मघर छोड्नेको एकमात्र गुनासो ‘गाउँमा रोजगार नभएको,स्थानीय सरकारले यूवामैत्री नीति ल्याउन नसेकेको’ भन्ने छ ।
तर जुम्ला गुठिचौर गाउँपालिका वडा नंं. २ का यूवा रतन सिंह बोहोराले गाउँमै व्यवसाय गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । रतनले आफ्नो जीविकोपार्जन र नाफाका लागि मात्र होटल व्यवसाय गरेका छैनन् । गाउँमा समाज सेवा पनि गर्दै आएका छन् । जुन कुरा अन्य यूवाहरुका लागि अनुसरण योग्य छ ।
होटल व्यवसायबाट कमाई भएको केहि रकम सामाजिक कार्यमा समेत नियमित लगानी गर्दै आएका छन् । व्यक्तिगत लगानीमै गाउँका यूवालाई खेलकुदमा प्रोत्साहन गर्न भलिबल प्रतियोगिता,महिलाहरुको देउडा गित प्रतियोगिता तथा फूलपातीमा पहिलो पटक गुठिचौरमा घोडा दौड समेत गराए । विभिन्न प्रतियोगिता गरेर रतनले हाल सम्म समाज सेवाका निम्ती ५ लाख बढी रकम खर्चि सकेका छन् ।
विगत दुई वर्ष पहिले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको भयले विश्व त्रसित थियो । घर बाहिर निष्कने अबस्था सम्म थिए । गाउँ गाउँमा संक्रमित बढ्दै थिए । त्यस्तो जोखिम अबस्थामा समेत यूवा रतनले गाउँका बिरामीलाई आफ्नो मोटरसाईकलमा अस्पताल पुराउने र घर ल्याउने गरे ।
त्यो अवधिमा झण्डै एक सय जना गाउँका विरामीलाई आफ्नो मोटरसाईकलमा ओसार पोसार गरेको रतन बताउँछन् । अबस्थालाई मध्यनजर गर्दै गाउँका नागरिकको सेवा र उपचारका लागि मोटरसाईकल लाई एम्बुलेन्स सह्र सेवा दिएको साहेदै छिमेकीले विर्सन सक्ने छैनन् । तर उनको समाज सेवाको यात्रा अझै रोकिएको छैन् । अहिले पनि उनको वडाका सबै बस्तीमा जसलाई दुख पिर पर्यो त्यहि पुगेर सहयोग गर्दै आएका छन् ।
व्यवसायमा रमाउँदैँ रतन
कर्णालीका दर्जनौ पर्यटन गन्तव्य मध्य गुठिचौर उपत्यका पनि एक गन्तव्य हो । जुम्लाको पुर्वमा अबस्थित गुठिचौर गाउँपालिका २ मा रहेको गुठिचौर उपत्यका पर्यटकिय दृष्टीले आर्कषक भएपनि पूर्वाधार विकासमा अझै कमजोर छ ।
जहाँ दैनिक सयौको संख्यामा आन्तरिक पर्यटक पुग्छन् । गुठिचौरमा पुग्ने पर्यटकलाई मिठो अर्गानिक खान्की खुवाउने,बास बसाल्ने र घुमाउने यूवा रतन सिंह बोहोराको दैनिकी हो । व्यवसायबाट कमाएको रकमबाट रतनले नाफा मात्र खाएका छैनन् । विभिन्न बेला सामाजिक कार्य गर्दै आएका छन् ।
राम्रो बाटो,विद्युत,खानेपानी,संचारको विकास नभएको गुठिचौरमा होटल सञ्चालन गर्नु फलामको चिउरा चपाउनु जस्तै हो । तर यूवा रतन बोहोराले भने हिउँद वर्खा,घाम पानी नभनी आफ्नो व्यवसाय निरन्तर गरी रहेका छन् ।
पूर्वाधार निर्माणमा प्रयाप्त लगानी नभएपनि जोखिम मोलेको खण्डमा गाउँमै प्रचुर सम्भावना छ । उनी भन्छन,“गुठिचौरमै अन्नीघर नामको होटल संचालन गर्दै आएको छु । व्यवसायसंगै समाज सेवा गर्ने मेरो लक्ष्य छ । राम्रो बाटो,विद्युत संचारको समस्याले व्यवसाय संचालनमा चुनौती छ । तर पनि केहि यूवालाई साथमा लिएर काम गरिरहेको छु ।”
“गाउँमै व्यवसाय गर्नु,समाजसेवा गर्नुको पनि बेग्लै अनुभुति र आनन्द छ । किन भने,अर्काको देशमा गएर हुनसक्ने जोखिम छैन् । परिवारसंग रमायो । बस्यो । भएको आम्दानीले परिवार चलायो समाज सेवामा थोरै भएपनि लगानी गर्यो यसमै आनन्द छ”,उनले थपे ।
गुठिचौरमा वर्षाको हरियाली सिजनमा थामी नसक्नु पर्यटक गुठिचौर पुग्ने गर्छन् । जसले अघि होटल बुक गर्छन् उनीहरुले मात्रै बास पाउँछन् । सिजनमा पर्यटकको भिड हुने गरेपनि हिउँद लागेसंगै संख्या घट्दो क्रममा रहेको उनको भनाई छ ।
स्थानीय सरकारले यूवा केन्द्रित नीति नबाउनु,रोजगार मैत्री कार्यक्रम नल्याउनु र गाउँमै इलम गरीरहेका यूवालाई समेत प्रोत्साहन नगर्नुले गाउँ छाड्ने यूवाको संख्या बढ्दै गएको रतनको तर्क छ ।
स्थानीय स्रोत,उत्पादन तथा जनशक्तिलाई परिचालन गर्ने नीति स्थानीय सरकार बनाउन नसक्दा यूवा पलायन हुन बाध्य छन् । हामी गाउँमै बसेकालाई पनि त्यति भविष्य छैन् । तर गाउँ छोड्नु हुदैन्, जस्तोसुकै श्रम गाउँमै गर्नुपर्छ भन्ने सोचले आफु सहित गाउँका ३÷४ जना यूवा मिलेर समाज सेवासंगै व्यवसाय गर्दै आएको उनको भनाई छ ।
पहिलो कुरा गाउँमै भएको कृषि,पर्यटन,जडिबुटिको सम्भावनालाइ मध्यनजर गर्दै यूवा स्वदेशमै बस्नु पर्ने र दोस्रो पक्ष भएका सम्भावना,स्रोत,उत्पादन र जशक्तिलाइ परिचालन गर्ने नीति निर्माणमा तीनै तहका सरकार जिम्मेवार भएको खण्डमा यूवा पलायन रोकिने यूवा रतन बोहोराको दाबी छ ।



