दशैँ लगत्तै जुम्लामा बाली भित्रयाउने चटारो

जुम्ला । नेपालीहरुको महान चाड दशैँ सकिए लगत्तै जुम्लामा बालीनाली भित्रयाउने चटारो सुरु भएको छ । दशैँ भोली पल्टकै दिनदेखि किसानहरु बाली भित्रयाउन जुटेका छन् । मार्सीधान बाहेक अन्य सबै सिमि,कोदो,फापर,चिनो, कागुनो,भट्ट,लगायतका बाली भण्डारण गर्न थालिएको छ ।

साथै दिउँदका लागि पशु चौपायको दाना जोहो गर्न अहिले घाँस काट्ने पनि काट्ने गरिन्छ । बाली भण्डारण संगै घाँस काट्न किसान निकै व्यस्त छन् । विगतका वर्षमा दशैँ अघिनै बाली भित्राएर घाँस काटेर सकाउन्थे । तर यस वर्ष मनसुन सक्रिय भएर वर्षा भएकोले घाँस कुहिने डरले केही समय ढिला घाँस काटेका छन् ।

भने पानी धेरै परेका कारण पनि अधिकांश किसानको खेतको सिमि हरियो देखियो नैछ । जुम्लाका आठ पालिका मध्य चन्दननाथ नगरपालिका,गुठिचौर गाउँपालिका तिर भने मार्सीधान पनि भित्रयाईसकेका छन् ।

खेतबाट निकालेर ल्याएको सिमि,भट्ट घरको छतमा परम्परागत भण्डारण गर्ने तरिका (भल्को) लगाएर राखिन्छ । भने १÷२ हप्ता घाममा सुकाएपछि मात्रै चुटेर घरभित्र राखिन्छ । तातोपानी–२ का किसान दत्त बुढा पछि असिनापानी आउने डरले दशैँ टीका लत्तगै हतारमा बाली भित्र्याउनु पर्ने बाध्यता रहेको बताउँछन् ।

तातोपानी गाउँपालिकाको वडा नं. २ को जर्मी गाउँ ।

उनी भन्छन्,‘जुम्लाको स्याउ र ओखरपछि सिमि प्रमुख नगदे बाली हो । यो सिजनमा अन्य बाली भन्दा सिमि संकलन बढी हुन्छ । विगतको जस्तो चिनो,कागुनो,फापर,गहत खेती गर्न केहि किसानले बाहेक धेरैले छोडेका छन् । सिमि अहिले सिमि र घाँस काट्न भ्याईनभ्याई छ ।’

पानी परेपछि घाँस कुहिने र कुहिएको घाँस पशु चौपायले नखाने भएकोले मौसमलाई मध्यनजर गरी घाँस काट्ने,सुकाउने, बाट्ने र अन्तिममा घाम पानीबाट जोगाउने गरि परम्परागत रुपमा भण्डारण गर्ने ९फगलो० लगाउने चलन रहेको किसान बुढाले उल्लेख गरे ।

सबैभन्दा बढी सिमि उत्पादन हुने तिला गाउँपालिका र पातारासी गाउँपालिकाका किसान सिमि साटेर चामल खरिद गर्छन् । धान उत्पादन नहुने भएकोले ३० किलो सिमि दिएर ६० किलो चामल लिने गर्दै आएका छन् । जुम्लामा असोज र कार्तिक बाली भण्डारको महिनाका रुपमा समेत लिने गरिएको करिष्ठ किसान रामकृष्ण बुढ्थापा बताउँछन् । कामको चटारो र दशैँ तिहार संगै हुने भएकोले जुम्लाका किसानलाई चाडपर्वको नौनक त्यति धेरै नलाग्ने उनको भनाई छ ।

पछिल्ला वर्षमा बाली भित्रयाउने बेला असिना पर्ने,रोग किरा लाग्ने जस्ता समस्या हुने भएकोले किसान घाटामा रहेको उल्लेख गरे । अधिकांश किसानको जोड सिमि खेतीमै मात्र रहँदा चिनो कागुनो,गहत जस्ता महत्वपूर्ण अन्न लोपहुदै गएकोले सबै खाले खेती गर्न किसानलाई प्रेरित हुने खालका कृषि कार्यक्रम ल्याउनु पर्नेमा किसान बुढ्थापाले जोड दिए ।

असोज कार्तिक बाली भित्रयाउने समयमा व्यस्थित भण्डारण नगरे रोग किरा लाग्ने कुहिने समस्या हुन सक्ने भएकोले ध्यान दिनु पर्ने कृषि विज्ञहरु बताउँछन् । खेतबाट निकालेको अन्न घाममा राम्ररी सुकाउने,विहानको ओसबाट बचाउने,भण्डारण गर्नु पहिला ढुंगा माटो नमिसिने गरी छान्ने जस्ता कुरामा ध्या दिनु पर्ने कृषि विज्ञ बालक राम देवकोटा बताउँछन् ।

बजारमा निकै माग बढीरहेको रैथाने बाली नालीको उत्पादन बृद्धि तथा गुणस्तर कायम गर्न सम्बन्धीत किसान देखि पालिका गम्भीर हुनु पर्नेमा उनले जोड दिए । जुम्लामा यस वर्ष हुने रैथाने बालीको कूल उत्पादन कति भयो भन्ने बारे एकिन तथ्यांक आउन भने समय लाग्ने कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १ गते बुधवार
प्रतिक्रिया दिनुहोस