जुम्ला । यस वर्षको दशैँमा जुम्लामा ३६ करोड बढीको भेडा र खसी बोकाको खरिद विक्री भएको छ । नेपालीहरुको महान चाड दशैँमा मात्रै जुम्लामा भेडा र खसी बोकाको खरिद विक्रिबाट किसानले ३६ करोड बढी आम्दानी गरेका छन् ।
जुम्लामा पहिलो पटक दशैँमा भेडा र खसीबोकाको विक्री र त्यसबाट हुने आम्दानी,जिल्ला बाहिर गरिने निर्यातको आधिकारिक तथ्यांक संकलन गरिएको थियो । पशु अस्पताल तथा पशु सेवा कार्यालयले संकलन गरेको तथ्यांकनुसार जुम्लामा दशैँमा भेडा र खसी बोकाको विक्रीबाट मात्रै कूल ३६ करोड ११ लाख १४ हजार रुपैया आम्दानी भएको छ ।
जसमा जिल्लाका आठ पालिमा ३१ करोड दुई लाख एक हजार बराबरका १८ हजार तीन सय ५३ वटा भेडा र खसी बोका जुम्लामै खपत भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापाले बताए ।
उनका अनुसार जुम्लाबाट काठमान्डौ, पोखरा, डोल्पा, सुर्खेत, बाँके लगायतका जिल्लामा चार करोड ९१ लख १३ हजार बराबरका २८ सय ८९ वटा खसी बोका निर्यात भएको छ ।
चन्दननाथ नगरपालिकामा मात्रै ३२ लाख २८ हजार बराबरका ८२ वटा भैसी र राँका खरिद विक्री भएका छन् । भने जुम्लामा जिल्ला बाहिरबाट पनि खसी बोका भित्रिएका थिए । जसमा बाहिरबाट ल्याइएका २९० वटा खसी बोका खरिद गरे बापत जुम्लाबाट ६३ लाख ८० हजार रुपैयाँमा बाहिरीएको छ ।
यो दशैँमा मात्रै जुम्लामा भेडा,खसी बोका तथा राँगा भैसीको खरिद विक्रीबाट कूल ३७ करोड ७७ लाख ४ हजार बराबरको कारोबार भएको तथ्यांकले देखाएको छ । जसमा ६३ लाख ८० हजार रुपैया बाहिरिँदा जुम्लामा मात्रै खसी बोका खरिद विक्रीबाट ३६ करोड ४३ लाख ९४ हजार भित्रिएको छ ।
कार्यालय प्रमुख बुढ्थापा भन्छन,‘स्थानीय बजारमा न्युनतम १५ हजारदेखी अधिकतम ३० हजार सम्म खसी बोकाको खरिदविक्री भएपनि औषत मुल्य १७ हजार तोकेका थियौ । जस अनुसार जुम्लाका आठै पालिकामा गरी १८ हजार ३ सय ५३ वटा खसी जिल्लामै खपत भएका छन् । त्यसबाट ३१ करोड २ लाख बढीको कारोबार भएको देखिन्छ ।’
जिल्लाबाट औषत मुल्य १७ हजारकै दरले करिब ५ करोड बरारबका २८ सय ८९ भेडा खसी बोका निर्यात भएका छन् । यो जुम्ली भेडा पालक किसानका लागि खुसीको कुरा हो ।’
कुन पालिकाबाट कति खरिद विक्री ?
जुम्लाका आठै पालिकाका स्थानीय बजारमा दशैँमा भेडा बाख्राको खरिद विक्री भएको थियो । तथ्यांकनुसार सबैभन्दा बढी जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकामा १३ करोड ८० लाख ५७ हजार बराबरको ८ हजार १२१ वटा खसी बोकाको खरिद विक्री भएको छ ।
भने,सबैभन्दा कम तिला गाउँपालिकामा ८५ लाख बराबरका ५ सय भेडा खसी विक्री भएका छन् । त्यस्तै पातारासी गाउँपालिकामा २ करोड ९१ लख ५५ हजारका १७ सय १५,तातोपानी गाउँपालिकामा ४ करोड ३६ लाख ५ हजार बराबरका २५ सय ६५,सिंजामा ३ करोड २३ लाखका १९ सय,कनकासुन्दरी गाउँपालिकामा २ करोड ७२ लाखको १६ सय वटा भेडा खसी विक्री भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयको तथ्यांकमा उल्लेख छ ।
साथै गुठिचौर गाउँपालिकामा १ करोड १९ लाखका ७ सय भेडा खसी र हिमा गाउँपालिकामा २ करोड १२ लाख ८४ हजार बराबरका १२ सय ५२ वटा भेडा खसी बोकाको खरिद विक्री भएको कार्यालय प्रमुख बुढ्थापाले जानकारी दिए ।
जुम्लाका चन्दननाथ,तातोपानी र हिमा बाहेक अन्य पाँच पालिबाबाट २८ सय ८९ भेडा निर्यात भएको छ ।
हाल जुम्लामा खसी बोका ४६ हजार ३०६ र भेडा भेडी ८४ हजार ३८८ गरी कूल उत्पादन १ लाख ३० हजार ७ सय रहेकाेमा दशैमा मात्रै विक्री २१ हजार २ सय ४२ अर्थात १६.३ प्रतिशत भेडा र खसीबोका विक्री भएका छन् । २१ हजार खसी बाेका विक्री बाट जुम्लाका भेडा पालक किसानले ३६ कराेड ११ लाखबढी आम्दानी गरेका छन् ।
जुम्लाले भेडा पालनबाट पनि वर्षेनी करोडौ आम्दानी गर्न सक्ने सम्भावना भएपनि उचित बजार व्यवस्थापन, किसानलाई प्रोत्साहन,क्वारेन्टाईन जाँच गर्ने जस्ता काममा स्थानीय तहले ध्यान नदिँदा अपेक्षित लाभ लिन नसकिएको कार्यालय प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापाले उल्लेख गरे ।
पशुपालनको बृद्धि र किसानको जीविकोपार्जनमा सुधार ल्याउनका लागि उन्नत भेडा पालनमा जोड,घाँस खेती,किसान प्रोत्साहनका लागि कार्यालयको विनियोजित बजेटनुसार विभिन्न कार्यक्रम गरिरहेको बताए ।
तर जुम्लाका कुनै पनि पालिकामा पशुँ चिकित्सक नहुँदा दशैँ तिहारमा खसी बोका,राँगको स्वास्थ्य जाँच बिनै मासु खानु पर्ने बाध्यता रहेको छ । हाल पशु सेवा कार्यालयमा एक जना पशु चिकित्सक आएका छन् । उनले जिल्लाका सबै पालिकामा आबश्यकतानुसार पशुको जाँच गर्ने छन् ।
भिडियाे हेर्नुहाेस्…