राज्य र नेतालाई गिज्याईरहेकाे कर्णाली राजमार्ग, कहिले सम्म झेल्ने हिलाे र धूलाे ?

जुम्ला । कर्णाली समृद्धिको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग स्तरोन्नति नहुँदा नागरिकले सास्ती पाउँदै आएका छन् । जुम्ला–सुर्खेत २३२ किलोमिटरमात्रै दूरी रहेको यो सडकमा नागरिक हिउँदमा धुलो र बर्खामा हिलोमा यात्रा गर्न बाध्य छन् । बढीमा ४/५ घण्टाभित्र गन्तव्यमा पुग्नुपर्ने दूरी भए पनि सडक स्तरोन्नति नहुँदा धुलो धुवा खाएर १३/१४ घण्टा यात्रा गर्नुपर्ने अवस्था छ ।

२०६३ सालबाट सञ्चालनमा आएको कर्णाली राजमार्गमा स्तरवृद्धिका लागि यहाँका नेताबाट सार्थक पहल नहुनु र संघीय सरकार पनि सधै अनुदार हुँदा कर्णालीबासी यात्राका नाममा मृत्युवरण गर्नसमेत बाध्य छन् ।

हरेक वर्षको नीति कार्यक्रममा सरकारले कर्णाली राजमार्गलाई प्राथमिकता दिए पनि बजेटमा भने सधै उपेक्षा गर्दै आएको छ । जसका कारण सञ्चालन भएको दशकौं बिते पनि सडकमा सास्ती ज्यूकात्यूँ छन् ।

समयमै स्तरोन्नति नहुँदा सवारी दुर्घटना बढ्दै जाँदा कर्णाली राजमार्गलाई मृत्युमार्गसमेत भनिन्छ । सरकारी तथ्यांकलाई आधार मान्ने हो भने सडक सञ्चालन भए यता एक हजार बढी नागरिकले ज्यान गुमाइसकेका छन् । घाइते, अंगभंग हुनेको संख्या एकिन छैन ।

जुम्ला, मुगु, कालिकोट, हुम्लाका सर्वसाधारणलाई हवाईयात्रा पहुँचमा छैन । हवाईयात्रामा टिकटै नपाउने र पाए पनि महँंगो हुने भएकाले अधिकांश सडक यातायात नै प्रयोग गर्छन् । सडक सञ्चालनको दुई दशक बढी समय बिते पनि संघीयतापछि कर्णाली राजमार्गको सुधार हुने अपेक्षा गरिएको थियो ।

तर निर्वाचन जितेर गएका सांसदले संसद्मा खरो रूपमा बोले पनि कर्णालीका नागरिकको जनजीवनसँग जोडिएको कर्णाली राजमार्ग सुधारमा भने कसैले चासो दिएका छैनन् । जसका कारण राजमार्ग सञ्चालन भएको दुई दशक पुगे पनि अवस्था ग्रामीण कच्ची सडकजस्तै छ ।

२३२ किमि दूरी रहेको सडकको दैखोलादेखि जुम्लासम्मको १०४ किमि सडक डिभिजन जुम्ला र बाँकी भाग सडक डिभिजन सुर्खेतको कार्यक्षेत्रमा पर्छ ।

जुम्ला खण्डमा २०७९ को बाढी पहिरो पछि बजेट अभावका कारण सडक स्तरवृद्धिले गति लिन सकेको छैन । अधिकांश भागमा पिच उप्किएको, खाल्डा परेको, सडक साँघुरो भएको छ भने सडक डिभिजन सुर्खेतअन्तर्गत दैखोलादेखी तल्लो डुंगेश्वरसम्मको सडक निकै सास्तीपूर्ण छ ।

पाल्ताडा–पादुका खण्डमा बर्खामा धूलो र हिउँदमा हिलोले निकै सास्ती हुने गरेको छ । सडकको धुलोले गाडी नै नदेखिने र दुर्घटनाको जोखिम बढेको छ । पाल्ताडा–तल्लो डुंगेश्वरको करिब ३० किमि सडक र विशेषगरी पादुका खोला खण्ड तत्काल सुधार हुनुपर्ने कर्णालीबासीको माग छ ।

जुम्लाका स्थानीय कविदत्त न्यौपाने भन्छन्, ‘हवाई सेवा सबै नागरिकको पहुँचमा छैन । सडकको अवस्था हेर्दा मृत्यु खोजेर यात्रा गरेजस्तो छ । धुलो धुवाले थला पर्ने अवस्था छ । सबै नेता मिलेर कर्णाली राजमार्ग सुधार गर्न किन सक्दैनन् होला ?’

कर्णाली राजमार्ग स्तरोन्नतिको सवाल कर्णालीकै सांसदको प्राथमिकतामा नर्पनु र संघीय सरकारले बजेटमा जोड नदिनुले कर्णाली राजमार्ग मृत्युमार्गमा परिणत भएको उनको तर्क छ । त्यस्तै पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष नौरते नेपाली बितेको दुई दशकमा पनि राजमार्ग पूर्ण रूपमा ग्राभेलसम्म नहुनुले कर्णालीबाट संघ र प्रदेशमा नेतृत्व गर्ने नेता र सरकारलाई गिज्याइरहेको बताउँछन् ।

मुगुको रारा ताल, हुम्ला मानसरोवर, डोल्पाको शे–फोक्सुण्डो, कालिकोटको पचाल झरना, जुम्लाको चन्दननाथ, गिडिदह लगायतका पर्यटकीय गन्तव्यमा घुम्न दैनिक सयौं पर्यटक कर्णाली राजमार्ग भएर यात्रा गर्छन् । तर सडकको अवस्था हेरेर एक पटक कर्णाली पुगेको पर्यटक फेरि फर्किएर जाने अवस्था छैन ।

चुनाव जितेर गएका, सत्तामा रहेर वा बाहिर भएर पनि प्रभाव जमाएका जुम्लाका ज्ञानेन्द्र शाही, कालिकोटका महेन्द्रबहादुर शाही, सुर्खेतका हृदयराम थानी, पूर्णबहादुर खड्का, रुकुम पश्चिमका जनार्दन शर्मा, मुगुका ऐनबहादुर शाही, जाजरकाेटका शक्ति बस्नेत लगायतका सांसदलाई कर्णाली राजमार्गले गिज्याइरहेको छ । सडकको अवस्था राम्रो नभएकै कारण सिजनमा स्याउ ढुवानीमा समस्या हुने, कुहिने समस्याले नोक्सान हुने गरेको स्याउ किसान कालो कामीले गुनासो पोखे ।

यसैबीच मंगलबार जुम्ला पुगेका एमाले पोलिटव्यूरो सदस्य तथा सांसद गोकुल बास्कोटाले कर्णाली राजमार्गको अवस्था हेर्दा कर्णालीमा विकासप्रेमी नेता नै नभएको बताए । कर्णाली राजमार्गको यात्रा गरेर जुम्ला पुगेका पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले कर्णाली राजमार्ग यहाँको मेरुदण्ड भए पनि विकासप्रेमी नेता नभएको उल्लेख गरे ।

उनले भने, ‘सडकको अवस्था हेर्दा यहाँ विकासप्रेमी नेता नभएको अनुभूति भयो । राज्यसँंग दबाब पुगेन । राजमार्ग राम्रो भयो भने जीवनशैली राम्रो हुन्छ । सडकको अवस्था हेर्दा जोखिम मोलेर नागरिक यात्रा गर्न बाध्य रहेछन् । सबै एकमत भएर सडक सुधारमा ध्यान दिनुपर्छ ।’

सडक सञ्चालनमा आएको दशकौं हुँदा पनि सुधार स्तरवृद्धि नहुनु दु:खद पक्ष हो । यहाँको नेताको कार्यसम्पादन चित्तबुझ्दो नभएको उनको भनाइ छ । कृषि पर्यटनको प्रचुर सम्भावना रहेको कर्णाली सडक पूर्वाधारमा अपेक्षित विकास नभएकै कारण पछि परेकाले कर्णालीका सबै नेता सक्रिय भएर राज्यलाई दबाब दिनुपर्नेमा जोड दिए

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस