निर्माण सक्नुपर्ने भदौमा,तर रंगशालाको भौतिक प्रगती ४० प्रतिशतमात्रै

चन्दननाथ नगरपालिका वडा नं. ५ स्थित राजसिममा निर्माधिन रंगशाला । तस्बिर: कर्णाली मिसन ।

जुम्ला । कर्णाली प्रदेशको जुम्लामा निर्माणधिन रंगशालाको भौतिक प्रगती ४० प्रतिशत मात्रै भएको पाइएको छ । जुम्लामा रंगशाला निर्माण सुरु भएको करिब दुई वर्ष बितिसक्दा पनि भौतिक प्रगती ४० प्रतिशत मात्रै भएको छ । चन्दननाथ नगरपालिकाको वडा नं. ५ स्थित राजसिममा रंगशाला निर्माण कार्य २०८० बैशाख ५ गतेबाट सुरु भएको थियो ।

सम्झौतानुसार रंगशाला निर्माणको काम ०८२ को भदौ मसान्त सम्म सम्पन्न भईसक्नु पर्ने छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति नजिकीदै गर्दा रंगशाला निर्माणको भौतिक प्रगती भने ४० प्रतिशत मात्रै हुनुले निर्माण कार्य सुस्त गतिमा भईरहेको देखिन्छ । रंगशालाको प्याराफिट,तलको भवन र पैदान सम्याउने काम भईरहेको छ ।

दुई वर्ष भित्र निर्माण कार्य सक्ने गरी रंगशाला लगायतका अन्य संरचना निर्माणका लागि ठेक्का आह्वान गरिएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाले ४० करोड ६२ लाख लागतमा रंगशाला सहित सडक कालोत्रपे,व्यवसायीक भवन निर्माणका लागि ठेक्का खोलेको थियो ।

ठेक्का आह्वानपछि निर्माणको जिम्मा ‘कविन्द्र निर्माण सेवा’ले पाएको थियो । उक्त निर्माण कम्पन्नीले निर्माण सुरु भएको करिब दुई वर्ष पुग्न लागिसक्दा ४० प्रतिशत भौतिक प्रगती भएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका सूचना अधिकारी चन्द्र बहादुर खड्काले बताए ।

४० करोड ६२ लाख लगानीमा रंगशाला सहित नगरपालिका क्षेत्रमा भवन,सडक कालोपत्रेका काम भईरहेका छन् । उनले भने,‘सबैसंरचना मध्य रंगशालाको निर्माण कार्य ४० प्रतिशत र वित्तिय प्रगती २२.३८ प्रतिशत भएको छ । भने अन्य संरचना निर्माण अन्तिम अबस्थामा छन् । सम्पन्न गर्नुपर्ने समय नजिकीए पनि गर्नुपर्ने काम धेरैनै बाँकी छ । निर्माण व्यवसायीले काम गरिरहेकै छ ।’

हालसम्म रंगशाला सहितका अन्य संरचनाको गरी कूल ८ करोड ४ लाख ७४ हजार ८८३ रुपैया भुक्तानी भएको सूचना अधिकारी खड्काले जानकारी दिए । अझै ३२ करोड रुपैया भुक्तानी हुन बाँकी रहेको छ । जसमा रंगशाला निर्माणको बजेट मात्रै १३ करोड रहेकोमा सबैभन्दा बढी हिस्सा भुक्तानी बाँकी रंगशालाकै रहेको देखिन्छ । ४० करोड बजेट अन्तरर्गत चन्दननाथ नगरपालिका परिसरमा व्यवसायीक प्रयोजनका लागि पक्की भवन निर्माण सम्पन्न भईसकेका छन् ।

४० करोड लगानीमा दुई वर्षभित्र निर्माण हुने अत्याधुनिक रंगशालाभित्र अन्य ११ वटा संचरना निर्माण हुनेछन् । बाहिर निर्माण हुने अन्य संचरनाले खेल क्षेत्रकै विकासमा जोड दिनेछ । यस्तै, रानीताल पार्क बनाइने छ । भने चन्दननाथ–८ को पक्की वडा कार्यालय भवन र जुम्ला बजारमा कटिङ ढुंगा छाप्ने काम पनि अघि बढेको छ ।

कृष्ण मन्दिरदेखि एयरपोर्ट सडक कालोपत्रे, कर्णाली प्रतिष्ठानदेखि कर्णाली राजमार्ग सडक मर्मत, छिनासांगु–कार्तिकस्वामी सडक कालोपत्रे, कर्णाली राजमार्गदेखि महतगाउँको घाट जाने सडक कालोपत्रे, धाइपालादेखि भण्डारीवाडा सडक कालोपत्रे र मालाभिड कर्णाली प्रतिष्ठान जाने सडक कालोपत्रे लगायत ११ वटा संरचना रंगशालासँगसँगै निर्माण हुने आयोजना कार्यालयले जानकारी दिएको छ ।

स्थानीय खेलाडीका समस्या समाधान गरी उनीहरूलाई प्रोत्साहन गर्न सुविधायुक्त रंगशाला निर्माण सुरु भएपछि यहाँका खेलाडी उत्साहित छन् । अहिले जिल्ला स्तरमा कुनै खेलको आयोजना गर्दा नेपाली सेनाको खेल मैदान माग्नु पर्ने बाध्यता र नदिएपछि आयोजनानै रद्द हुने अबस्था छ ।

रंगशाला अभावमा खेलाडीले पर्याप्त अभ्यास गर्न पाएका छैनन् । जिल्लास्तरीय खेलकुद आयोजना गर्ने व्यवस्थित ठाउँ पनि छैन । एकातिर खेल क्षेत्रमा बढ्दो सम्भावना र अर्कोतिर खेल पूर्वाधारको अभावले खेलाडी खुम्चीनु पर्ने स्थिती रहेकोले रंगशाला निर्माण कार्यालयको विशेष प्रथामिकतामा रहेको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाले जनाएको छ ।

सुस्त गतिमा भएपनि बजारमा रंगशाला निर्माण अघि बढीरहेको छ । तर पातारासीमा निर्माण हुने भनिएको हाईअल्टीच्युट टेर्निङ सेन्टर भने आठ वर्षदेखि अलपत्र रहेको छ । चालु आवमा ६ करोड २९ करोड बजेट विनियोजन भएपनि वडाध्यक्ष र गाउँपालिका अध्यक्षको आन्तरिक द्धन्द्धले बजेटनै फ्रिज हुने देखिएको छ ।

संघिय सरकारले २ करोड सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय र ४ करोड २९ लाख खेलकूद परिषदमा विनियोजन भएको छ । दुबै कार्यालयमा विनियोजित बजेट फ्रिज खतरा बढेको सघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी खड्काले उल्लेख गरे ।

प्रकाशित मिति : २०८२ बैशाख १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस