सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

जुम्ला । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । मन्त्री गुप्ताले बिगत केहि दिन अघिदेखि निरन्तर आफ्नो नाममा घुस ‘डिल’ सगै जोडेर प्रचारमा आएको र नखाएको बीस लागेको भन्दै प्रधानमन्त्री समक्ष राजीनामा बुझाएको बताएका छन् ।

मन्त्री गुप्ताको ७८ लाखको घुस ‘डिल’मा अडियो सार्वजनिक भएसंगै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको थियो ।

भने मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुसको डिल गरेको छुट्टै अडियो सार्वजनिक भइसकेको छ । ७८ लाखको घुस डिल संग जोडिएपछि मन्त्री गुप्ताले दोषी प्रमाणित भए देशनै छोड्ने समेत बताएका थिए । यदपी अहिले आफ्नो सामाजिक संजाल फेशबुक मार्फत अनुसन्धानको मार्ग प्रशस्त पार्न प्रधानमन्त्री समक्ष राजीनामा गरेको बताएका छन् ।

मन्त्री गुप्ताको फेशबुक स्टास

बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ ।
कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु ।
प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निस्टाको साथ पुरा गर्ने प्रतिब्दताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।

प्रकाशित मिति : २०८२ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस