जुम्ला – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिदै जान थालेपछि जिल्लास्थित मतदान स्थल अनुगमन गर्न थालिएको छ । निर्वाचनका सुरक्षा चुनौती र भौगोलिक अवस्था बुझ्ने उद्देश्यका साथ निर्वाचन पूर्व मतदान स्थल अनुगमन गर्न थालिएको हो ।
जिल्लास्थित सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको नेतृत्वमा जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कडेल, सशस्त्र प्रहरी बलका एसपी निलकमल आचार्य, डिएसपी रविन बाबु रेग्मीसहितको टोलीले मतदात स्थल अनुगमन गर्न थालेको हो ।
दुई अस्थायीसहित ८५ मतदान स्थलमा ११० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाकी नारायणी चौलागाईले बताइन् ।
यहाँका ८५ वटा मतदान स्थल मध्ये ५२ वटा अतिसम्वेदनशिल, १८ वटा सम्वेदनशिल र १५ वटा सामान्य मतदात स्थलको रुपमा वर्गिकरण गरिएको डिएसपी रविनबाबु रेग्मीले बताए ।
३४ हजार २८० महिला र ३७ हजार ४५९ पुरुष गरी ७१ हजार ७३९ जना मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका कम्यूटर अपरेटर धनबहादुर रावलले जनाए ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्यूनिष्ट पार्टी, रास्वापा, राप्रपा, नेकपा (विव्लव) र नेमकिपासहित करिव ७ पार्टीको उम्मेदवारी रहने सम्भावना देखिएको छ ।
निर्वाचन आयोगले पुस २५ गतेदेखि लागु हुने गरी प्रतिनिधि सभा निर्वाचन ऐन, २०७४ को दफा ५ बमोजिम न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायधीशलाई मुख्य निर्वाचन अधिकृतको रुपमा नियूक्त गरेको छ । यसै गरी सोही बमोजिम न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्धितीय श्रेष्णीका अधिकृतलाई निर्वाचन अधिकृतको रुपमा नियूक्त गरेको छ ।



