जुम्ला । दलिय राजनीतिमा पार्टीको विचार, सिद्वान्त र एजेण्डामा बढी छलफल हुन्छ । दलगत विचार र एजेण्डाका आधारमा विभाजित छन् । त्यसको ज्वालन्त उदाहरण चुनावमा बढी देखिन्छ ।
चुनावमा विभिन्न दलका कार्यकर्ताहरु हाम्रो पार्टीको चुनावी नारा यी हुन, यस कारण हामीलाई जिताउनु पर्छ भनेर जनता माझ जान्छन् । त्यो पनि मौखिक हैन, लिखित रुपमा चुनावी एजेण्डा लिएरै जनता सामु पुग्छन् ।
नेपालको निर्वाचन सम्बन्धि ऐनले पनि निर्वाचनमा सबै उम्मेदवारले आफ्ना चुनावी घोषणा ल्याउनै पर्ने बाध्यकारी बनाएको छ । एजेण्डा हेरेर मत दिनुपर्छ भन्ने बहस चुनाव ताका खुबै चल्छ । तर जुम्लाले सांसद नदोहोराउने एतिहासको क्रम भंगता गर्दै दोस्रो पटक राप्रपाका ज्ञानेन्द्र बहादुर शाहीलाई जिताउदै गर्दा कुनै लिखित घोषणा पत्र र एजेण्डा हेरेनन् ।
जुम्लामा एक स्वतन्त्र सहित १० जना उम्मेदवार मध्य अधिकांशले घोषणापत्र सार्वजनिक गरिरहँदा राष्टि्य प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाहीले अन्तिम समय सम्म घोषणा पत्र ल्याएनन् । तर पनि उनी जुम्लाबाट दोस्रो पटक निर्वाचित हुन सफल भए ।
जुम्लाका जनताले उनको लिखित घोषणा पत्र मागेनन् । उनले बोलेका कुरालाईनै लिखित जस्तै विश्वास गरेका छन् । यदपी पत्रकारहरुले उनलाई अन्य दलले घोषणा पत्र ल्याउँदै गर्दा तपाईको घोषणापत्र कहिले आउछ,तपाईका प्रथामिकता केछन् ? किन भोट दिने भनेर प्रश्न नगरेका हैनन्, जति पटक प्रश्न गरेपनि उनको एउटै स्वर र शब्द थिए,´जुम्लाको आवाज राष्टि्य अन्तराष्टि्य स्तरमा चिनाउने, भ्रष्टचारमुक्त जुम्ला बनाउने` ।
जुम्लामा खसेको कुल ४० हजार ८९८ मत खसेकोमा राप्रपाका ज्ञानेन्द्र बहादुर शाही १४ हजार ८१६ मत प्राप्त गरी दोस्रो पटक निर्वाचित भएका हुन् । संगठन विहीन,लिखित घोषणापत्रनै नभएका राप्रपा उम्मेदवार शाही दोस्रो पटक पनि विजयी भएका छन् । खास गरी अघिल्लो पटक निर्वाचित हुदा राप्रपाको जुम्लामा ५५० मत संगठनको रहेको भन्ने गरिन्थ्यो । उनले २०७९ मा २२ हजार ८१९ मत सहित विजयी भएका थिए ।
शाहीका प्रतिद्धोन्दी नेकपाका उम्मेदवार नरेश भण्डारीले जुम्ला समृद्वी स्पष्ट एजेण्डा ल्याउँदा पनि उनी पराजित भए । उनले ११ हजार ६३५ मत प्राप्त गरी पराजित भएका छन् ।

यस्तै काग्रेसका उम्मेदवार दिपबहादुर शाहीले ७ हजार १४३ मत र एमाले उम्मेदवार शान्तिलाल महतले ४ हजार ५१८ मत प्राप्त गरेका छन् । देशभरबाट निर्वाचित हुर्दै गरेको रास्वापाका उम्मेदवार विनिता कठायतले भने जुम्लामा ४२१ मत प्राप्त गरेकी छन् । उनले आफ्नो धरौटी पनि फिर्ता ल्याउन सकिनन् । नेमकिपाका उम्मेदवार विर्खबहादुर रावतले ४ सय मत प्राप्त गरेका छन् । जुम्लामा ४० हजार ८९८ मत खसेको थियो । तर, यहाँ ७१ हजार ७३९ जना मतदाता रहेका छन् । ३० हजार ८४० मत खसेन ।
शाहीका मौखिम प्रतिबद्वता: भ्रष्टचार निवारणमा जोड
फागुन २३ गते साझ ४ बजेतिर अन्तिम चुनाव मत परिणाम सार्वजनिक भएपछि मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत राप्रपा ज्ञानेन्द्र शाही निर्वाचित भएको घोषण गरे । कुल खसेको मत मध्य १४ हजार ८१६ मत ल्याएर विजयी भए । निर्वाचित भएपछि निकालिएको विजय ऱ्यालीमा सहभागी हजारौ नागरिकलाई संबोधन गर्दै सांसद ज्ञानेन्द्रबहादुर शाहीले जुम्लामा विकास निर्माणदेखि हरेक क्षेत्रमा हुने भ्रष्टचारलाई न्यूनीकरण गर्न प्रथामिकता दिने बताए ।
‘म हिजोसम्म राप्रपाको मान्छे थिए, अब पनि होइन,’ उनले भने, ‘निर्वाचित भइसकेपछि म समग्र जुम्लाको मान्छे हुँ। अब जुम्लाको अधुरा विकास निर्माणलाई अघि बढाउनेदेखि जिल्लामा भइरहेको भ्रष्टचार निवारणमा विशेष ध्यान दिइनेछ । अब जुम्ला कहाँ छ भनेर खोज्ने होइन, विश्वकै पर्यटन गन्तव्यका रूपमा चिनाउन प्रयास गर्नेछु।’
साथै अब राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी २०८४ मा हुने स्थानीय तहको निर्वाचनमा वडादेखि पालिकामा युवाको सुनिश्चिता हुनेगरी निर्वाचनमा भाग लिने उल्लेख गरे। युवालाई राजनीतिमा प्रथामिकता दिएर स्थानीय तह सञ्चालन गर्ने उनको तर्क थियो।
२०१५ यताको भएका विभिन्न निर्वाचनमा सांसद नदोहोऱ्याएका जुम्लावासीले आफूप्रति विश्वास भरोसा गरेर एतिहासको क्रमभंगता हुनेगरी दोस्रोपटक निर्वाचित गराएक लगाएको ऋण जिल्लाको विकास गरेर तिर्नेसमेत वाचा गरे ।
साथै निर्वाचित भएर गाउँ र जिल्ला छोड्ने कहिल्यै गाउँ नफर्किने प्रवृत्तिको अन्त्य गर्दै जिल्लाका हरेक गाउँमा पुगेर समस्या, आवश्यकता बुझेर सदनदेखि सरकारमा निन्तर पैरवी गर्ने उनको भनाइ छ।

´हाम्रो मुख्य चुनौती भ्रष्टचार हो । जुम्लामा विकास निर्माणमा ढिला सुस्ती गर्ने, मिलोमत्तोमा कार्यालयहरु चुईक्क नबोल्ने समस्या छ` उनले भने । सेवा प्रवाह देखि विकास निर्माणमा हुने अनियमितता र भ्रष्टचारको अन्त्य गर्न शसक्त रुपमा काम अघि बढाईने छ । संसदमा सशक्त प्रतिपक्षका रुपमा आवाज उठाउदै जिल्लाको सबै सवाललाई उजागर गरिने उनको भनाई छ ।
शिक्षा,स्वास्थ्य पूर्वाधार विकासका एजेण्डा ?
कर्णाली प्रदेशको जुम्ला सम्भावनाका हिसाबले भरिपूर्ण जिल्ला भएपनि यहाँ शिक्षा स्वास्थ्य र पूर्वाधार विकासका सवाल अझै उपेक्षामा छन् ।
भौगोलिक रुपमा विटक बस्तीमा सडक पुराउने, अलपत्र सडक,पुललाई पूर्णता दिने सवाल खास्सै प्रथामिकतामा छैनन् ।तर राप्रपाका ज्ञानेन्द्र शाहीले भने गाउँ गाउँमा चुनावी अभियानमा जाँदा जुम्लामा अलपत्र पारिएका योजनाहरु:सडक,पुल,भवन जस्ता संरचनाको पुर्ननिर्माणमा जोड दिने, ढिला सुस्ती गर्ने, अनियमितता गर्ने ठेकेदारको´पाता कस्ने` कस्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई विश्वासिलो र भरपर्दो बनाउन जोड दिने, सामुदायिक विधालयमा हुने अनियमितता विभिन्न नाममा लिईने शुल्कको अन्त्य गर्ने बताएका छन् । आफु जुम्लाको साझा मान्छे भएका सबैका समस्या आफ्ना समस्या हुनेमा जोड दिएका छन् ।
२०७९ मा निर्वाचित भएर साढे दुई वर्ष जुम्लाको विकास र समृद्वीका सवालमा सधै सशक्त भएर बोलेको उनको भनाई छ । कर्णालीलाई बजेट कम भयो, उपेक्षा भयो भनेर पहिलो पटक संसदमै बजेट किताव च्यातेको एतिहास समेत कायम गरे । यसपाली त्यस्तै शसक्त रुपमा जुम्लाको सवाल राख्ने बताएका छन् । यदपी शिक्षा र स्वास्थ्यलाई सुदुढीकरण गर्ने सुधार गर्ने ठोस योजना शाहीसंग छैनन् ।
´दुख विरामी पर्दा सारथी बन्छु`
जुम्लालाई भ्रष्टचार मुक्त बनाउने मौखिक बाचा पछि अर्को बाचा हो,´तपाईहरुको दुख विरामी पर्दा म सारथी बन्छु` । जुम्लामा कोही उपचार नपाएर छटपटाउनु पर्दैन । उनले गाउँ गाउँ पुग्दा होस् वा आफ्नै पेजबाट भिडियो सन्देश र अपिल गर्दा सांसद शाहीले जुम्लाका कोही पनि नागरिक उपचार अभावमा कतै भौतारिनु नपर्ने बाचा गरेका छन् ।
चाहे हेलिकप्टरबाट उद्वार गर्न परोस्, चाहे हिमपहिरोमा कोहि फसेपछि उद्वार गर्ने कुरा होस् वा काठमान्डौमा गएर निशुल्क उपचार गर्ने कुरा होस्, जुम्लाका नागरिकका लागि सबै आफु साथमा रहने बाचा गरेका छन् ।
यी कुरालाई लिखित रुपमा ल्याएर चुनावी एजेण्डा बनाउन सक्थे शाहीले ।तर गाउँ गाउँमा पुगेर आफु उम्मेदवार भएर जुम्ला नआएको सवारी दुर्घटनामा घाईते निर्वाचन प्रहरी धर्मेन्द्र रोकायाको हेलिकप्टरबाट उद्वार हुने थिएन्, आफु भएकै कारण उद्वार भएको उनको दाबी छ । त्यस्तै चुनावकै बेला ४जनाको उद्वार गरेको उनको भनाई छ ।
२०७९ मा निर्वाचित हुनु पहिला भ्रष्टचार विरोधीको परिचय बनाएका शाहीले बितेका साढे दुई वर्षमा जुम्लाका धेरैको उपचार गरेको, विदेशबाट उद्वार गरेकै कारण अहिले पनि जुम्लाका नागरिकलाई सारो गाह्रो पर्दा सधै ढाल भएर उभिनेउनको बाचा छ । कोही जनता म एक्लै छु भन्ने महसुश नगर्न अनुरोध गरेका छन् ।
जुम्लाका ६० वटै वडामा आफ्नो नम्बर टास्ने समस्या हुने वित्तिकै आफुलाई फोन गर्नपनि अपिल गरेका छन । अभियान्ता हुदै पहिलो पटक सांसद हुँदा खेरी राहत उद्वारका क्षेत्रमा उल्लेखीय रुपमा काम गरेकै कारण आफुलाई जनताले फेरी अनुमोदन गरेको त्यस्ता कामलाई निरन्तरता दिने सांसद शाहीले बताएका छन् ।

निर्वाचित शाहीको राजनीतिक यात्रा
सिंजा गाउँपालिका – ३ पिंगी गाउँमा जन्मिएका ज्ञानेन्द्र शाही युवा राजनीतिज्ञ हुन् । उनी सानैदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय थिए । विशेष गरी भ्रष्टाचारविरुद्ध आवाज उठाउने अभियानका कारण उनी सामाजिक सञ्जाल र सार्वजनिक बहसमा चर्चित बने । सन् २०२२ मा उनले राप्रपामा प्रवेश गरेका थिए । सोही वर्ष पार्टीको केन्द्रीय सदस्य तथा प्रवक्ता बने । २०७९ सालको प्रतिनिधि सभामा जुम्लाबाट २२ हजार ८१९ मत ल्याएर प्रतिद्वन्द्वी उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गर्दै संसदमा निर्वाचित भए ।
भ्रष्टाचारविरुद्ध कडा अभियान, स्थानीय उत्पादन (जस्तै जुम्लाको स्याउ) प्रवद्र्धन, हिन्दु राष्ट्रको बहस, संघीयताको पुनरावलोकन गर्नुपर्ने धारणा शाहीका मुख्य विचार र राजनितिक मुद्दा हुन् । शाही कर्णाली प्रदेशबाट उदाएका युवा राजनीतिज्ञ हुन् । जसले भ्रष्टाचारविरुद्ध अभियान र आक्रामक राजनीतिक अभिव्यक्तिका कारण लोकप्रियता हासिल गरेका छन् ।
कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा जन्मिएका शाही पिछडिएको क्षेत्रमध्ये एक भएकाले उनले बाल्यकालदेखि नै विकासको अभाव, गरिबी, बेरोजगारी र सरकारी बेवास्ता नजिकबाट देखेका थिए । यिनै अनुभवहरूले उनलाई पछि सामाजिक र राजनीतिक अभियानमा सक्रिय हुन प्रेरित गरेको मानिन्छ । उनको परिवार सामान्य आर्थिक पृष्ठभूमिको रहेको पाईन्छ ।
उनले आफ्नो प्रारम्भिक शिक्षा जुम्लामा नै प्राप्त गरेका थिए । पछि उच्च शिक्षा अध्ययनका लागि उनी राजधानी काठमाडौं गएका थिए । यद्यपि उनको शैक्षिक विवरण सार्वजनिक रूपमा धेरै विस्तृत रूपमा उपलब्ध छैन । तर विद्यार्थी अवस्थादेखि नै उनी सामाजिक गतिविधि र सार्वजनिक बहसमा सक्रिय थिए । उनी राजनीतिमा औपचारिक रूपमा प्रवेश गर्नु अघि सामाजिक अभियन्ताका रूपमा चर्चित भएका थिए ।
अभियानका क्रममा “नेपालका भ्रष्टाचार विरुद्ध” अभियानमा सक्रिय थिए । सरकारी निकाय, ठेकेदार र प्रशासनमा हुने भ्रष्टाचारविरुद्ध उनले सार्वजनिक रूपमा आवाज उठाउने गरेका थिए । उनले धेरै पटक सार्वजनिक स्थानमा सरकारी कार्यालयको लापरवाहीबारे भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका थिए ।
जनसमस्याको आवाज, कर्णालीको विकास, सडक र स्वास्थ्य सेवा, स्थानीय उत्पादनको बजार जस्ता यी विषयलाई उनले लगातार उठाउँदै आएका छन् ।

संक्षिप्त चुनावी एतिहास
जुम्लाको २०४८ सालदेखि यताको इतिहास हेर्ने भने संसदिय निर्वाचनमा दोहोरिएर निर्वाचित भएको कुनै राजनितिज्ञ छैनन् । शाहीले भने जुम्लाबाट दोस्रो पटक निर्वाचित भएर इतिहासको क्रमभंगता गरेका छन् । यसअघि २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा २२ हजार ८१९ मत प्राप्त गरी विजयी भएका थिए ।
०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा जुम्लाबाट नेपाल मजदुर किसान पार्टीका डिल्लीबहादुर महत निर्वाचित भए । ०५१ सालमा नेमकिपाले नै उम्मेदवार फेर्दै भक्तबहादुर रोकायालाई अघि सा¥यो । रोकाया निर्वाचित हुँदा एमाले दोस्रो र कांग्रेस तेस्रो स्थानमा सीमित रहेको थियो ।
०५६ सालमा एमालेका देवीलाल थापा निर्वाचित भए । त्यसपछिका निर्वाचनमा माओवादी प्रमुख राजनीतिक शक्तिका रूपमा आयो । ०६४ सालको संविधान सभा निर्वाचनमा माओवादीका नरेश भण्डारी निर्वाचित भए । ०७० को निर्वाचनमा कांग्रेसका ललितजंग शाही निर्वाचित हुँदा प्रतिस्पर्धी माओवादीका गजेन्द्र महत पराजित भए । ०७४ को निर्वाचनमा भने माओवादीका महत निर्वाचित भए । उक्त चुनावमा एमाले माओवादीबिच गठबन्धन थियो ।
०७९ को प्रतिनिधि सभा चुनावमा भने कांग्रेस माओवादीबिच गठबन्धन हुँदा पनि राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले चुनाव जितेका थिए । यसरी हेर्दा जुम्ला अहिलेसम्म प्रतिनिधि सभातर्फ कुनै पनि सांसदलाई दोहो¥याएर निर्वाचित गराएको देखिदैन ।
नेकपाबाट उम्मेदवार बनेका भण्डारी ०६४ मा निर्वाचित भएका थिए । उनकै पहलमा ‘विकासको जुम्ला मोडल’ स्थापना भएको चर्चा हुने गरेको छ । कर्णालीलाई ‘चाँदीको घेरा’ नामक पुस्तकमा चर्चा गरेका भण्डारी यसअघि गुमेको माओवादीको साख जोगाउने उद्देश्यसहित चुनावी मैदानमा होमिए पनि पराजित व्योहोर्नु प¥यो । ०७४ मा कर्णाली प्रदेशमा निर्वाचित भएका भण्डारी कर्णालीको कानुनमन्त्री समेत बने । भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चुकेनी जलविद्युत् जस्ता ठुला परियोजना आफ्नै परिकल्पनामा बनेको भन्दै जनताले त्यसको श्रेयसहित आफूलाई जिताउने दाबी गरेपनि पराजित भए ।
यहाँ सांगठनिक रूपमा सबैभन्दा बलियो राजनीतिक दल माओवादी (हाल नेकपा) हो, तर ०७९ को जनमत हेर्दा एमाले पहिलो दल हो । ०७९ मा समानुपातिकतर्फ एमालेले १० हजार ५४८ मत ल्याउँदा दोस्रो स्थानमा रहेको कांग्रेसले १० हजार ४५८ र माओवादीले ८ हजार ९६० मत पाएको छ ।
प्रत्यक्षमा राप्रपाका ज्ञानेन्द्र शाहीले २२ हजार ८१९ मत पाउँदा समानुपातिक तर्फ उनको पार्टी राप्रपाले ५ हजार ७९६ मात्र पायो । हाल नेकपामा समाहित दल एकीकृत समाजवादीले २ हजार ६४८, नेमकिपाले २ हजार ७३ र रास्वपाले झन्डै ९ सय मत पाएको थियो । प्रत्यक्षतर्फ राप्रपा पहिलो हुँदा दोस्रोमा माओवादीका गोमा गौतम कुवँरले ११ हजार ९५९ र एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत पाएका थिए ।



