जुम्ला । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार भएको सवारी दुर्घटनामा कार सुनकोसी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डीएसपी विजय श्रेष्ठका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार अनियन्त्रित भई सुनकोसी नदीमा खसेको हो।
दुर्घटनामा सिन्धुपाल्चोकका ३९ वर्षीय दिलकुमार लामा, सिन्धुली गोलान्जोर गाउँपालिका–१ का करिब २७/२८ वर्षीय गणेश थापा तथा परिचय नखुलेका एक जना हेल्पर बेपत्ता भएका छन्। लामा मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध कन्ट्र्याक्टर रहेको र उनीहरू काम सकेर खाना खान जाँदै गरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परेको कार सडक विभागको यान्त्रिक कार्यालय मुलकोट, मध्यपहाडी लोकमार्ग आयोजनासँग सम्बन्धित रहेको बताइएको छ। बेपत्ता तीनै जनाको खोजीका लागि प्रहरी र सम्बन्धित निकायले खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी राखेका छन्।




