मुगुको खत्याडमा भीषण आगलागी, शिपचन्द्र बुढाको घर पूर्ण रूपमा जलेर नष्ट

मुगु । मुगुको खत्याड गाउँपालिका–२ सेरी गाउँमा गएराति आगलागी हुँदा स्थानीय शिपचन्द्र बुढाको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।


स्थानीय प्रज्वल पारखीका अनुसार राति करिब ११ः४५ बजे बुढाको घरमा अचानक आगलागी भएको हो। रातिदेखि लागेको आगो श्रीकोट प्रहरी चौकीका सुरक्षाकर्मी, वडा अध्यक्ष तथा स्थानीयवासीको लामो प्रयासपछि आज बिहान मात्रै पूर्ण रूपमा नियन्त्रणमा आएको हो।


आगलागीबाट घरसँगै घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडा तथा महत्वपूर्ण कागजातलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। रातको समयमा अचानक आगलागी भएकाले घरभित्रका कुनै पनि सामान सुरक्षित रूपमा बाहिर निकाल्न नसकिएको स्थानीयले बताएका छन्।


आगलागीबाट भएको क्षतिको यकिन विवरण तथा मूल्याङ्कन भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबाट पीडित परिवार ठूलो आर्थिक क्षतिसँगै तत्काल बसोबास र दैनिक आवश्यकताका सामग्रीको अभावमा परेको छ।


पीडित परिवारलाई तत्काल खाद्यान्न, लत्ताकपडा तथा अस्थायी आवासका लागि आवश्यक राहत सामग्री उपलब्ध गराउन स्थानीयवासीले सम्बन्धित सरकारी निकाय, जनप्रतिनिधि, रेडक्रसलगायत सहयोगी संघसंस्थासँग आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस