‘मलाई व्यवस्था हैन, तपाईंहरूको अवस्था बदल्नु छ’

 

काठमाडौं , सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले आफू व्यवस्था बदल्न नभई नेपाली जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा होमिएको बताएका छन् । मंगलबार काठमाडौँको राष्ट्रिय सभागृहबाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका लामिछानेले जनतालाई कुनै ठुला सपना नबाँड्ने तर जनताले भोग्नुपरेका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

अरू पार्टीभन्दा आफ्नो पार्टी फरक हुने दाबी गरेका लामिछानेले प्रमुख पार्टी र तिनका नेताहरूबाट कुनै आशा नभएकाले नयाँ पार्टी खोल्नुपरेको दाबी गरे । उनले नयाँ पार्टी भ्रातृ संगठन र कार्यकर्ताविहीन हुने समेत बताए । केहीअघि अमेरिकाको ग्रिन कार्ड त्यागेका लामिछानेले आफ्नो दललाई अमेरिकी मोडलअनुसार नै क्रियाशील गराउने जमर्को गरेको देखिन्छ ।

प्रस्तुत छ पार्टी घोषणाका क्रममा लामिछानेले व्यक्त गरेका विचार र प्रतिबद्धताका सम्पादित अंश :

हामीले जहिले पनि बेकारमा सरकारी अड्डाहरूमा झन्झट बोक्नुपर्ने अवस्था आएको छ । यहाँ ठुलाठुला आयोजना, ठुलाठुला योजना र ठुलाठुला सपनाको कुरा छोड्दिऔँ । बिचौलियारहित सरकारी अड्डा र ढिलासुस्ती नगरी, कसैलाई नचिनी जान पाए पनि आम मान्छेको जीवन सहज हुन्थ्यो । यी सामान्य मुद्दामा कसैको ध्यान गएन । म यहाँ कुनै पनि व्यवस्था परिवर्तन गर्न आएको होइन । मलाई कुनै पनि व्यवस्थाले यदि कसैसँग हिम्मत साहस, आँट र भिजन छ भने नागरिकलाई सुख दिन सक्छ भन्नेमा पूर्ण विश्वास छ । मलाई कुनै व्यवस्था बदल्नु छैन, मलाई तपाईंहरूको अवस्था बदल्नु छ । आम मान्छेको अवस्था बदल्नु छ । राजनीतिलाई मागी खाने भाँडो बनाएको असह्य भएर म राजनीतिमा प्रवेश गर्न आएको हुँ ।

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस