प्रधानमन्त्रीसँग ओलीका चार चासो

काठमाडौँ — सत्ता गठबन्धन र सरकारविरुद्ध शृंखलाबद्ध कठोर अभिव्यक्ति दिइरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर आफ्नो दलको चासो व्यक्त गरेका छन् । निर्वाचन घोषणादेखि नागरिकतालगायतका विधेयकसम्ममा सरकारले विपक्षीलाई नजरअन्दाज गरेको आरोप एमालेले लगाइरहेका बेला अध्यक्ष ओलीसहितका नेताले बालुवाटारमै पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमाले अध्यक्ष केपी शर्मा ओली,उपाध्यक्षद्वय विष्णु पौडेल र सुवास नेम्वाङ । तस्बिर : ओलीको सचिवालयदेउवा गत वर्ष असार २९ मा प्रधानमन्त्री भएपछि ओलीले बालुवाटारमै पुगेर भेटवार्ता गरेको यो दोस्रो पटक हो । यसअघि माघ तेस्रो साता एमसीसीलगायतका विषयमा आफ्ना चासो लिएर ओली बालुवाटार पुगेका थिए । सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको निष्कर्ष ननिस्किएका बेला देउवा–ओली भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्री देउवासँग बुधबार ओलीले मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन, एमालेको विरोधका बीच पुनः पारितका लागि राष्ट्रिय सभा पुगेको नागरिकता विधेयक, प्रतिनिधिसभामा पेस भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, छानबिन प्रक्रियामा अगाडि बढेको निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव र महँगी नियन्त्रणलगायतका विषयमा चासो व्यक्त गरेको उपाध्यक्ष विष्णु पौडेलले बताए । ‘अध्यक्षज्यू मूलतः चार विषयमा केन्द्रित हुनुभयो । उहाँले यो मुलुकमा एमाले छ भन्ने बिर्सेर काम गर्दै हुनुहुन्छ, हेक्का राख्नुस्, प्रतिवादमा उत्रिन नपरोस् भन्नुभयो,’ उनले कान्तिपुरसँग भने, ‘प्रधानमन्त्रीले ठीक छ, तपाईंका कुरा सुनें भन्नुभयो ।’

प्रधानमन्त्री देउवाले विपक्षीले उठाएका विषय सत्ता गठबन्धनमा समेत राख्ने र सरकारले पनि गम्भीर रूपमा लिएर अघि बढ्ने बताएका छन् । गठबन्धन सरकारले संवादहीनताको अवस्था बनाएको ओलीले आरोप लगाउँदै आएका थिए । आफूहरूका चासो सम्बोधनमा सरकारले ध्यान नदिए त्यसलाई राजनीतिक मुद्दा बनाएर चुनावमा जाने एमालेको तयारी छ । बालुवाटारको भेटमा सहभागी एमाले उपाध्यक्ष सुवास नेम्वाङले संवादहीनताको विषय पनि छलफलमा उठेको बताए ।

ओलीले देउवासँग नागरिकता विधेयक अगाडि नबढाउन जोड दिएका थिए । सरकारले जबर्जस्ती गरे नागरिकता विधेयकलाई चुनावमा राजनीतिक मुद्दा बनाउने जनाउ ओलीले दिएका छन् । ‘नागरिकता विधेयकका सम्बन्धमा संसद्‍मा धेरै कुरा राख्यौं । विगतमा संसदीय समितिमा धेरै गृहकार्यपछि सहमति भएको थियो । त्यसलाई मानिएन । पुनर्विचार गर्नका लागि राष्ट्रपतिले फिर्ता पठाउनुभयो,’ नेम्वाङले भने, ‘त्यसलाई स्वाभाविक रूपमा लिएर पुनर्विचार गर्नुपर्ने थियो । त्यसमा गठबन्धनका नेताबाटै अनावश्यक काम भयो । यो बेठीक भयो भन्यौं ।’ राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता गरेको विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भइसकेको छ । उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुन भने बाँकी छ । राष्ट्रिय सभामा पारित भएर पठाइसकेपछि विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक बाध्यता हुन्छ । विधेयक देशको हितमा नरहेको एमालेको आरोप छ ।

देउवासँगको भेटमा ओलीले एमालेसँग परामर्श नगरी निर्वाचन घोषणा गरे पनि आफ्नो पार्टीले त्यसलाई स्वागत गरेको उल्लेख गर्दै निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनुपर्नेमा पनि ध्यानाकर्षण गराएका थिए । निष्पक्ष रूपमा हुने निर्वाचनका लागि आफ्नो तर्फबाट सहयोग रहने ओलीको भनाइ थियो । जवाफमा प्रधानमन्त्री देउवाले चुनावको वातावरणलाई लिएर शंका नगर्न र त्यसबारे भ्रम सिर्जना नगर्न आग्रह गरेका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । स्थानीय निर्वाचनमा अनपेक्षित नतिजा आएपछि एमालेले सरकारमाथि संस्थागत धाँधली गरेको आरोप लगाएको थियो ।

भेटमा एमाले अध्यक्ष ओलीले सरकारले संसद्मा अघि बढाएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा समेत धारणा राखेका थिए । सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक मंगलबार प्रतिनिधिसभामा पेस गरेको छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङले भेटमा विभिन्न मागसहित आन्दोलन गरिरहेका द्वन्द्वपीडितको पनि कुरा सुन्न प्रधानमन्त्री देउवालाई आग्रह गरिएको बताए । ‘अहिले हतार–हतारमा संशोधन विधयेक टुंग्याउन खोजिरहनुभएको छ, यसमा सबैका कुरा सुनौं, शान्ति प्रक्रियामा हाम्रो सहयोग रहन्छ भन्यौं,’ उनले भने, ‘यसमा मुख्य जिम्मेवार व्यक्ति शेरबहादुरजी र प्रचण्डजी नै हो । सरकारमा हुँदा हामीले यसलाई धेरै अगाडि बढायौं । तर गठबन्धन एक वर्ष त्यसै सुतेर बस्यो ।’

विधेयकमा अन्तर्राष्ट्रिय न्यायसँग मेल नखाने प्रावधार रहेको एमालेको टिप्पणी छ । संक्रमणकालीन न्याय र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको सिद्धान्तका आधारमा द्वन्द्वपीडितलाई केन्द्रमा राखेर विधेयक संशोधन गर्नुपर्ने एमालेको सुझाव छ ।

प्रधानमन्त्री देउवाले निलम्वित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव टुंग्याउन सहयोगको अपेक्षा गरेको बताएका थिए । तर, ओलीले गलत नियतका साथ र गलत समयमा अगाडि बढाइएको मुद्दामा एमालेले निःसर्त सहयोग गर्न नसक्ने जवाफ दिएका छन् । ओलीले बजारमा बढ्दो महँगी नियन्त्रणमा समेत सरकारले भूमिका खेल्न नसकेको भन्दै ध्यानाकर्षण गराएका थिए । भेटमा एमाले उपाध्यक्ष नेम्वाङ र पौडेल तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । ‘ओलीले मुख्य चार वटा विषयमा चासो राख्नुभयो । त्यसमा पनि चुनावको निष्पक्षता र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा बढी चासो थियो,’ सञ्चारमन्त्री कार्कीले कान्तिपुरसित भने, ‘जवाफमा प्रधानमन्त्रीले कांग्रेस कुट्ने होइन, कुटाइ खाने पार्टी हो, चुनाव निष्पक्ष हुन्छ, ढुक्क हुनुहोस् भन्नुभयो ।’

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस