कविता ः चेतनाको दियो

कविता ःचेतनाको दियो
हथौडा र डोजरको बेगमा
नयाँ नेपालको सुत्रधार होस्
सच्चा देशभक्त सपूत हरुमा
देश विकासको सद् विचार होस्।
नभेटियोस फोहोर सोहोर
सडक गल्ली धूलो रहित होस्
जति छन् विल्डिंगका छाती लस्कर
अन्डरग्राउन्ड पार्किङ सहित होस्।
ढल नमिसिएको नदी नाला
वृक्षारोपण एक छांटले होस्
बुद्धि लगाई विकास गर्न
नेता नैतिक आंटले होस्।
सहस्राब्दीको प्राविधिक युगमा
गाउँ शहर धपक्क बलेको होस्
स्वतन्त्रताको मुस्कान ओठ ओठमा
विधीको शासन चलेको होस्।
 कतै नदेखियून भोका नाङ्गा
गरिब सुकुम्बासी कोही नहोस्
श्रम पर्यटन कुना काप्चामा
अनधिकृत संरचना कहीं नहोस्।
लोभी पापी नेताहरुलाई
चिनेर चुनावमा फाल्ने हो
यो देशको मुहार फेर्नलाई
चेतनाको दियो बाल्ने हो ।।
लेखक भिभास चौधरी हिम शिखर माध्यम विद्यालयका शिक्षक हुनुहुन्छ ।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस