
जुम्ला । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जुम्ला निर्वाचन क्षेत्र (ख)मा त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका तर्फबाट कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री पदम रोकाया, नेकपा एमालेबाट टेकराज पछाई र स्वतन्त्रबाट धनबहादुर बस्नेतबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।
दोस्रो पटक हुन लागेको प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरु चुनावी एजेण्डा सहित मतदाता भेटघाटका लागि गाउँगाउँमा पुगेका छन् । महत्वकाँक्षी योजना सुनाउदै उम्मेदवारहरु मतदाता रिजाउन व्यस्त छन् ।
धनबहादुर बस्नेत नेपाली काँग्रेसले आफुलाई अन्याय गरेको भन्दै पार्टीमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । त्यस्तै मन्त्री पदम रोकायालाई तीन दलीय सत्ता गठबन्धको ठुलो साथ छ । नेकपा एकिकृत समाजबादी पार्टीबाट उम्मेदवार बनेका रोकाया गठबन्धनको बहुमत पाएर जित्नेमा ढुक्क छन् ।
यता नेकपा एमालेका टेकराज पछाई समुदायमा राम्रो व्यक्तित्व भएका उम्मेदवार हुन् । उनी गठबन्धनको कच्ची धाँगो चुडाएरै विजयी हुने दाउँमा छन् । एमाले प्रतिको बढ्दो जनलहरले जीत सुनिश्चित रहेको उहाँको दाबी छ ।
बलियो जनमतका साथ चुनावी मैदानमा उत्रिएका तीनै जनाले उम्मेदवार चुनाव जित्ने आ–आफ्नै दाबी गरिरहेका छन् । मन्त्री रोकायाले तीन दलीय गठबन्धन भएको कारण आफू सजहै जितको नजिक रहेको बताउनु भएको छ । उहाँले बाढीपहिरोले निर्वाचन क्षेत्र (ख)मा पुराएको क्षतिको व्यवस्थापन गरी पुनस् जस्ताको तस्तै बनाउने मुद्दालाई प्राथमिकता दिएका छन् ।
२०७४ सालको निर्वाचनमा कांग्रेसका भीमनिधि हमाललाई पराजित गरेर प्रदेशसभा सदस्यमा निर्वाचित भएका रोकाया त्यतिबेला एमालेको साथ थियो । पछि उहाँ नेकपा एसमा प्रबेश गरी मन्त्री भएका थिए ।
आफु मन्त्री हुँदा समग्र जुम्ला सहित आफ्नो निर्वाचन क्षेत्रको उल्लेखीय विकास गरेको र सत्ता गठबन्धनका कांग्रेस र माओवादीको मतबाट आफू विजयी हुनेमा कुनै शंका नरहेको उहाँको दाबी छ ।
यता एमालेका उम्मेदवार टेकराज पछाई युवा रोजगारी,उद्यमशीलता र उत्पादन बृद्धिका एजेण्डा लिएर घरदैलो गरिरहेका छन् । पछाई एमालेका प्रभावकारी एवम पहुँचयोग्य नेताका रुपमा प्रचित छन् । लामो समय काठमाडौंमा रहेर विद्यार्थी राजनीति गरेका उहाँ जनताको माग र आबश्यकता अनुसार गठबन्धन नभएकोले आफूलाई विजयी गराउने तर्क दिनुहुन्छ । सिंजा सभ्यताको विकास र संरक्षण तथा यूग सुहाउदो विकासका लागि निर्वाचन क्षेत्र (ख)मा एमालेको विकल्प अरु नहेको समेत उहाँको भनाई छ ।
गठबन्धनका साँझा उम्मेदवार पदम रोकाया तथा एमालेका प्रभावकारी नेता टेकराज पछाई दुईवटा हेवीवेट उम्मेदवारलाई चुनौती दिन स्वतन्त्र उम्मेदवार धन बहादुर बस्नेत चुनावी मैदानमा उत्रिएका छन् । ४८ वर्षदेखि कांग्रेसको राजनीतिमा होमिएर बस्नेतलाई हाल सम्म पार्टीले कुनै उपयुक्त अबसर नदिएपछि कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका उहाँ आफुलाई स्पष्ट मत प्राप्त हुने बताउनुहुन्छ ।
गठबन्धनको उम्मेदवार मन्त्री रोकाया भए पनि कांग्रेस र माओबादीको उम्मेदवार नहुँदा ती पार्टीका समर्थकको मत आफूलाई आउने उहाँको दाबी छ । गठबन्धन आफैमा गिजोलिएको छ । धेरै मतदाता रुष्ट छन् । उहाँले भन्नुभयो,“मतदाता नयाँ अनुहार हेर्न चाहिरहेका छन् । मैले पार्टीको विरोध गरेको छैन् । केहि व्यक्तिका कारण अबसर नपाउँदा उम्मेदवारी दिएको हुँ । त्यसकारण काँग्रेस भित्रका पनि इमान्दार कार्यकर्ताले मलाई भोट दिने छन् ।”
यसरी तीन उम्मेदवारले आफु जित्ने दाबी गरिरहँदा जनताले कसलाई अनुमोदन गर्लान त ? त्यो नतिजा हेर्न बाँकी छ । मतदाताले नयाँ अनुहार हेर्न चाहानु,गठबन्धनका तर्फबाट पदम रोकाया उम्मेदवारमा दोहोरिनु तथा पछाई र बस्नेत नयाँ अनुहार चुनावी मैदानमा उत्रिनु जुम्ला निर्वाचन क्षेत्र (ख)को चुनाव रोचक कडा प्रतिस्पर्धा हुने देखिएको छ
मतदाता संख्यालाई हेर्दा जुम्लामा जम्मा ६८ हजार ६ सय ३८ हुँदा निर्वाचन क्षेत्र (ख) मा ३१ हजार ८ सय ५५ मतदाता छन् । जसमध्ये १५ हजार ३३ महिला र १६ हजार ८ सय २२ पुरुष मतदाता छन् । निर्वाचन क्षेत्र (ख)मा तिला,हिमा, सिंजा र कनकासुन्दरी . गाउँपालिका पर्छन । स्थानीय तहको निर्वाचनमा तिला र सिंजामा माओबादी तथा हिमा र कनकासुन्दरीमा काँग्रेसले जितेको छ ।



