चुनावकै मुखमा जुम्लामा नेकपा एसका अध्यक्ष सहित बहुमत सदस्य एमालेमा फर्किदै

जुम्ला । माधव कुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्ष सहितकाे बहुमत सदस्य नेकपा एमाले पार्टिमै  फर्किन थालेका छन्  ।

एमाले पार्टी स्राेतका अनुसार जुम्लाकाे नेकपा एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुबै जनाले संयुक्त विज्ञप्ति निकालेर दुबै पार्टी एक भएकाे घाेषणा हुने भएकाे छ ।

एकीकृत समाजवादी जुम्लाका अध्यक्ष आदि प्रसाद न्याैपानेले दुई पार्टीका जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर पार्टी समायोजनकाे घाेषणा गरिने बताउनुभयाेे ।

‘आजै(साेमवार) हामीले घाेषणा गर्दैछाैं,’ उनले भने, ‘पत्रकार सम्मेलन मार्फत धेरै कुराकाे जानकारी दिइनेछ।’

पछिल्लो समय निर्वाचित जनप्रतिनिधि बाहेक अधिकांश नेता कार्यकर्ता एमाले फर्किन लागेकाे एक नेताले  सेवालाई जानकारी दिनुभयाे।

नेकपा एमालेबाट विद्राेह गरेर माधवकुमार नेपालकाे नेतृत्वमा पार्टी विभाजन भएपछि एकीकृत समाजवादीकाे सबैभन्दा धेरै प्रभाव जुम्ला जिल्लामा परेकाे थियाे।

पछिल्लो समय समाजवादीकाे उच्च तहकाे नेतृत्वमा रहेका नेता कार्यकर्ताले विद्राेहकाे ओैचित्यतामाथि प्रश्न उठाएर पार्टी एकताकाे बहस चलाएपछि बहुमत कार्यकर्ता एमालेमा फर्किन राजी भएकाे बताइएकाे छ।

पार्टी एकतापछि जुम्लामा एमाले बलियाे हुने धेरैले आंकलन गरेका छन्। एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार रतननाथ याेगी रहेका छन् । भने प्रदेश (क) मा धिरेन्द्रराज गिरी र प्रदेश (ख) मा टेकराज पछाई उम्मेदवार बनेका छन्।

प्रकाशित मिति : २०७९ कार्तिक २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस