
जुम्ला । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि विहिबार राती १२ बजेदेखि स्थिर समय (मौन अवधि) शुरु भएको छ । मंसिर ४ गते साँझ ५ बजेसम्म मतदान नसकुन्जेल निर्वाचन सम्बन्धी कुनै पनि गतिविधि गर्न नपाईने निर्वाचन आचारसंगितामा उल्लेख छ ।
मौन अबधिमा संचार माध्यममा विज्ञापन तथा समचार लेख्न नमिल्ने,प्रचा पम्पलेट टाँस्न नपाईने टाँसेका सबै हटाउनु पर्ने,कुनै पनि माध्यमबाट भोट माग्न नपाईने लगायत कुनै पनि निर्वाचन केन्द्रित गतिविधि गर्न पाईदैन् ।
तर जुम्लामा सुक्ष्म निरिक्षण नहुँदा स्थिर समय शुरु भएपनि निर्वाचन आचारसंगिता विपरितका विभिन्न गतिविधि भईरहेका छन् । मोबाईलको एसएमएसमा मलाई भोट दिनु होला भन्ने सन्देश शुक्रबार विहान सम्म आईरहेको थियो । भने, जुम्ला सदरमुकाम खलंगाको मुख्य बजारमा राखिएका विभिन्न पार्टीका झण्डा र टाँसीएका पोष्टरहरु अझै हटाइएको छैन् ।
तर निर्वाचन आचारसंगिता अनुगमन समितिका संयोजक जागुराम चौधरी भने हाल सम्म जुम्लामा निर्वाचन आचारसंगिता उलंघनका एक पनि उजुरी नआएको बताउनुहुन्छ । लिखित रुपमा अहिले सम्म एक पनि उजुरी परेको छैन् । उहाँले भन्नुभयो,“मौखिम रुपमा बिना प्रमाण केहि गुनासा आएका थिए । सरकारी गाडी प्रयोग भएको,कर्मचारी निर्वाचनमा खटिएको र पार्टीका पोष्टर वितरण गरेको गुनासो आएपनि उजुरी परेका छैनन् । तर गुनासा आएका विषयमा सोधपुक्ष गरेका छौ ।”

यता नागरिक अगुवा राज बहादुुर महत भन्छन,“अझै बजारमा टासीएका पार्टीका पोष्टर र झण्डा हटाइएका छैनन् । सामाजिक संजालमा सर्वत्र भोट मागिरहेका छन् । तर निर्वाचन आचारसंगिता अनुगमन समितिले सुक्ष्म निगरानी गरेको पाईएन् ।”
समितिले लिखित उजुरीकै प्रतिक्षा गर्ने र फिल्डमा गएर निरिक्षण नगर्ने समस्याले जुम्लाका गाउँघरमा हुने निर्वाचन आचारसंगिता विपरितका गतिविधि पत्ता लगाउन मुस्किल हुने महतको भनाई छ ।
स्थित समय शुरु भएसंगै निर्वाचन आचारसंगिता अनुगमन समिति र पत्रकारको टोली गाउँगाउँमा अनुगमन गर्न जानु पर्ने हो । तर बजारमै प्रर्चा पम्पलेट झण्डा हटाइएका छैनन् भने, गाउँमा व्यापक चुनावी गतिविधि भईरहेको हुन सक्ने नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो । अहिले सम्म जुम्लामा निर्वाचन आचारसंगिता उलंघनका एकपनि उजुरी नपर्नु सुखद पक्ष भएपनि पार्टीका झण्डा,पोष्टर नहटाइनुले अनुगमन समितिले फिल्डमा उत्रेर सुक्ष्म निरिक्षण नगरेको स्पष्ट देखिन्छ ।
जुम्लाका विभिन्न दलका कार्यकर्ताहरुले मौन अबधिमा भने सामाजिक संजालमा निर्वाचन आचारसंगिताको विपरित विभिन्न गतिविधि अपडेट गरिरहेका छन् । तर त्यसको अनुगमन तथा निरिक्षण हुन सकेको छैन् ।



