नदी उत्खननले जलाधार क्षेत्र उच्च जोखिममा

जुम्ला – नदी उत्खनन्ले जलाधार क्षेत्र उच्च जोखिममा परेका छन् । तिला, हिमा, जवा, गिडिदह, भेरीखोला जुम्लाका मुख्य जलाशाय क्षेत्र हुन् । यिनै क्षेत्रमा अध्यधिक मात्रमा नदी उत्खनन् हुन थालेपछि जलाशय क्षेत्र उच्च जोखिमा परेका हुन् ।
भु तथा जलाधार कार्यालयको स्थानीय तहसँग जलाधार तथा उपजलाधार सम्वन्धी अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले यहाँका जलाशाय (नदी) क्षेत्रमा उत्खनन् बढ्दो रहेको बताए । उनले भने स्थानीय तहले जलाशय क्षेत्रको संरक्षण गर्नुपर्ने हो । उपभोग गरेबापत राजश्व संकलन गर्ने पनि स्थानीय तहै दायित्व हो । तर त्यसो हुने गरेको छैन । नदीमा डोजर र ट्याक्टर टिप्पर जोतिएका हुन्छन् । जल प्रणाली नै निकै समस्यामा परेका छन् ।
०७८ र ०७९ को असोज कार्तिक महिना ठुलो बर्षा हुदा बाढीपहिरोले धनजनको क्षति भयो । त्यही बाढीपहिरोका कारण अहिले धेरै खेती योग्य जमिन पुरिएका छन् । सिचाई नहर बाँझिएका छन् । जिसस प्रमुख आचार्यले भने अत्यधिक मात्रमा नदी उत्खनन भएकै कारण बाढीपहिरो हो । नदीमा भएका बालुवा र ढुंगा सकिएका छन् ।


हरेक वर्ष नदी उत्खनन हुने, नदीले जमिन कटान गर्ने र भु तथा जलाधार कार्यालयले जाली ग्याविन भर्ने काम भएको छ । जाली ग्याविन भर्ने पनि नदीकै ढुंगा उत्खनन् गरेरै भरिन्छ । यस्तो कुरालाई पनि परिवर्तन गरी नदीको ढुंगा प्रयोग नगरी खानीको ढुंगा प्रयोग गर्नुपर्ने नीति बनाउन आवश्यक रहेको चन्दननाथ नगरपालिका उपप्रमुख रामदेवि खड्काले बताइन् ।


भु तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाका प्रमुख हिमालय साउदका अनुसार जुम्लासहित उपल्लो कर्णालीको पाँच जिल्लामा जलाधार संरक्षण सम्र्वधनका क्षेत्रमा काम गर्दै आएका छौँ । उनले भने जुम्लाका जलाशय क्षेत्र उच्च जोखिममा भएका हुनेले स्थानीय तहदेखि सरोकारवाला निकायको समन्वय र सहकार्यमा कार्यसम्पादन गर्न आवश्यक रहेको छ ।
जलाधार क्षेत्रको नक्सांकन, वर्गीकरण, प्राथमिकीकरण, संवेदनशिल गाउँबस्ती तथा पूर्वाधारको प्रकोप जोखिम न्यूनिकरणका कार्यक्रम हुदै आएका छन् । अति जोखिम क्षेत्र पहिचान, नक्सांकन तथा पूर्वसूचना प्रणाली व्यवस्थापन, चुरे क्षेत्रको जलाधार व्यवस्थापन, ताल तलैया पोखरी तथा सिमसार क्षेत्रको पहिचान, वर्गीकरण र संरक्षणका काम भईरहेको प्रमख साउदले बताए ।

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस