नदीकै दुषित पानी खान्छन् कर्णालीका ४२ सय घरधुरी

प्रदेश राजधानी सुर्खेतमै १४ सयघघरधुरीले नदीको पानी प्रयोग गर्छन्

जुम्ला । कर्णाली प्रदेशका चार हजार दुई सयबढी घरपरिवार खोला नदीको दुषित पानीकै भरमा दैनिकी गुर्जान बाध्य छन् । स्रोत भएपनि उचित प्रर्बद्धन र पूर्वाधार विकास सहित स्रोत परिचालनको ठोस नीति र लगानी नहुँदा कर्णाली प्रदेशका ४२ सय घरपरिवार खोला र नदीको दुषित पानी पिउन बाध्य भएका हुन् ।

नेपालको संविधानले खानेपानीलाई आधारभूत आबश्यकता मानेको छ । संविधानको भाग–३ मौलिक हक अन्तरर्गत स्वास्थ्य सम्बन्धी हकको दफा (४) मा प्रत्यक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाईमा पहुँचको हक हुने व्यवस्था छ ।

तर संघियता कार्यान्वयन भएको ६ वर्ष बितिसक्दा पनि कर्णाली प्रदेशका नागरिक खोला र नदीको दुषित पानी पिउन बाध्य रहेका छन् । राष्ट्यि जनगणना २०७८ को तथ्यांक अनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा गरी अझै चार हजार दुई सय ७६ घर परिवार अहिले पनि खोलाकै दुषित पानी प्रयोग गरिरहेको पाइएको छ ।

जसमा सबैभन्दा बढी कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतका नागरिकले खोला नदीको पानी पिउने गरेका छन् । तथ्यांकनुसार सुर्खेतका एक हजार चार सय ६८ घरधुरीले खोला र नदीको दुषित पानीको प्रयोग गरिरहेका छन् ।

भने,सल्यानका सात सय २३,रुकुम पश्चिमका एक सय ९५, जाजरकोटका तीन सय ५३,दैलेखखका तीन सय,कालिकोटका दुई २५ घरधुरीले शुद्ध खानेपानी आधारको अभावले खोलाकै पानी प्रयोग गरीरहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, जुम्लाका दुई सय १४, हुम्लाका ८५, मुगुका तीन सय ५० र डोल्पाका तीन सय ६३ घरधुरी गरेर कुल चार हजार दुई सय ७६ घरधुरी खोला नदीको दुषित पानी पिउन बाध्य रहेको राष्ट्यि जनणगना २०७८ को तथ्यांकले देखाएको छ ।

दुषित पानीको प्रयोगकै कारण सबैभन्दा बढी सरुवा रोग लाग्ने भएपनि दैनिकी आबश्यकता परिपुर्तिका लागि दुर्गम कर्णालीका ग्रामिण भेगका नागरिक दुषित पानी प्रयोग गर्न बिवश भएका छन् ।

प्रदेश राजधानीकै सबै क्षेत्रमा शुद्ध पानी नपुगेको तथ्यांकले देखाई रहँदा ग्रामिण भेगका नागरिक अझै खानेपानीको चरम अभाव खेपी रहेका छन् भन्ने स्पष्ट बुझ्न सकिन्छ । दुर्गम जिल्ला डोल्पाको शेफोक्सण्डो गाउँपालिका,मुगुको कार्मारोङ्ग गाउँपालिका,जुम्लाको तातोपानी गाउँपालिका,दैलेखको आठविस नगरपालिका,जाजरकोटको भेरी मालिका नगरपालिका,सल्यानको सारदा नगरपालिका,सुर्खेतको बहराताल गाउँपालिकामा सबैभन्दा बढी खोलाको नदीको दुषित पानी पिउने गरेका छन् ।

भौतिक विकास केन्द्रित स्थानीय सरकारले खानेपानीको अभाव झेल्दै आएका र खोला नदीको पानी पिउन बाध्य नागरिकको समस्यालाई मध्यनजर गर्दै योजना र नीति बनाउन समेत सकेका छैनन् ।

मानव जीवन अभिन्न अंगका रुपमा रहेको खानेपानी विकासमा स्थानीय सरकार संवेदनशील हुनु पर्ने देखिएको छ । खेर गईरहेको पानीलाई उचित व्यवस्थापन गरी शुद्ध खानेपानीबाट बन्चित नागरिकलाई खानेपानीको पहुँचमा पुराउन आबश्यक छ ।
उता हिमा गाउँपालिकाले पाँच वर्षमा पालिकाका सबै बस्तीमा एक घरएकधारा निर्माण गर्ने लक्ष्य लिएको छ । यदपी,तथ्यांकनुसार हिमा गाउँपालिकाका १६ घरधुरीले अझै पनि खोलाको पानी प्रयोग गरीरहेका छन् । एकै वर्षमा सात सय ७६ घरधुरीमा एकघर एकधारा निर्माण गरीसकेको हिमाले पालिकाभिर खोलाको पानी पिउने घरधुरीको पहिचान गर्न सकेको छैन् ।

साथै तातोपानी गाउँपालिका वडा नं. १ बाईराँका गाउँका स्थानीय खोलाको पानी पिउन बाध्य छन् । उक्त गाउँमा लामो समयदेखि खानेपानी पुराउने कसरत भएपनि हालसम्म स्वच्छ पानी पुगेको छैन् ।

यदपी,धौलिघाट खानेपानी आयोजना निर्माणपछि बाईराँकाबासीले शुद्ध खानेपानी पाउने तातोपानी गाउँपालिका १ नम्बर वडाध्यक्ष कर्ण बहादुर कठायत बताउँनुहुन्छ । उहाँका अनुसार वडामा आबश्यकता बढी बजेट सिमित हुने भएको बृहत्त खानेपानी आयोजना बनाउन सकिएको छैन् । तर बाइराँकामा पानी पुराउन पहल जारी रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस