अर्बौ खर्चेर गाउँ गाउँमा सडक काटिए,दुःख काटिएनन्

जुम्लाका ६० वटै वडामा सडक पुग्यो,तर अधिकांश सडक प्रयोगविहिन, पिठ्युमै भारी बोक्नु पर्ने बाध्यतासंगै घरमै थन्कीउदै उत्पादन

जुम्ला । जुम्लामा गाडी पुग्ला भन्ने कल्पना समेत नगरेका तिला गाउँपालिका वडा नं. ६ का पुरुने रोकाया २०६२ सालमा कर्णाली राजमार्ग संचालनसंगै जुम्ला गाडी पुगेपछि दंग भए । उमेरले सात दशक नाघिसकेका उनीले करिब पाँच दशक समय पिठ्युमै भारी बोकेर बिताएका छन् ।

सडक पहुँच नहुनु पहिले पुरुने रोकाया जस्तै जुम्लाबासी एक बोरा चामल, नुन तेल ल्याउन महिना दिनसम्म हिँडेर सुर्खेत नेपालगन्ज पुग्थे । कर्णाली राजमार्ग सञ्चालनपछि एक बोरा चालम र नुनका लागि महिना दिन सुर्खेत दैलेखको चुप्रा हिँड्नुपर्ने बाध्यताले छुटकरा पायो । तर पिठ्युमा भारी बोक्नु पर्ने बाध्यता छुटेन् ।

उनलाई कर्णाली राजमार्ग संचालन संगै गाउँ गाउँमा पनि सडक पुग्ने, गाडी पुग्ने घर आँगनमै विकास पुग्ने आशा गरेका थिए । विडम्बना गाउँ गाउँमा सडक पुग्नु त परै जावस कर्णाली राजमार्ग सुधारमै दशकौ बित्यो । स्तरन्नोती नहुँदा अहिले कर्णाली राजमार्गलाई मृत्युमार्गका रुपमा चिनिन्छ ।

राजमार्गले जुम्ला–सुर्खेतको यात्रा सहज बनायो । तर नागरिकको अपेक्षानुसार गाउँमा विकासको अनुभूति हुन सकेन् । कर्णाली राजमार्ग संचालन भएको करिब १२ वर्षपछि देशमा संघियता कार्यान्वयन भयो । २०७४ पछि स्थानीय सरकारले प्रथामिकताका साथ गाउँगाउँमा सडक निर्माण गरे । एक नगरपालिका सहित सात गाउँपालिका रहेको जुम्लाका ६० वडामा स्थानीयतहको पहिलो कार्यकालमै सबै वडामा सडक पुगिसकेको थियो । अहिले गाउँ गाउँमा सडक पुगेका छन् ।

तिलाका पुरुने रोकायालाई गाउँगाउँमा सडक निर्माण हुँदै गर्दा दुर्गम गाउँमा गाडी पुग्ने । साढे ६ दशकदेखि पिठ्युँमै भारी बोक्नुपर्ने दुःखले मुक्ति पाउने,गाउँको उत्पादनले बजार पाउने र किसानले मूल्य पाउने आशा थियो । तर संघियताको सात वर्ष सम्म पनि उनको आशा आशामै सिमित छ । घर आँगनमै गाडी पुगेको हेर्ने रहर अधुरै छ ।

भौगोलिक रुपले जुम्लाकै विकट मानिने तिलाका गाउँ गाउँमा सडक काटिएपनि नागरिकका दुःख काटिएका छैनन् । पिठ्युँमै भारी बोकेर साढे ६ दशक बिताएका रोकायालाई छोरा नातिका दिन पनि पिठ्युँमै भारी बोकेर जान्छ कि भन्ने चिन्ता छ ।
‘गाउँमा सडक काटिए पनि पिठ्युँमा भारी बोक्नुपर्ने बाध्यता हटेको छैन ।’ उनले भने,‘कर्णाली राजमार्गदेखि झण्डै ११ किलोमिटर टाढा दुर्गममा अवस्थित तिला–६ का घोडेमहादेव, रिपी र सुडी गाउँमा सडक पुगे पनि अझै यातायात पुग्न सकेको छैन । सडक काट्नु पहिले पुल बनाउनु पथ्यो । करोडौ खर्चिएर सडक काटिएपनि उपलब्धी विहिन छन् ।’

तातोपानी गाउँपालिका वडा नं. ८ का विजय शाही रोकाया मुलुक संघीयतामा गएसँगै गाउँगाउँमा सडक सञ्जाल त पुग्यो वृद्धवृद्धादेखि युवाले भारी बोक्नुपर्ने बाध्यतामा फेरबदल नआएको बताउँछन् ।

उनी भनछन,‘संघीयतापछि स्थानीय सरकारले करोडौं खर्चेर गाउँगाउँमा सडक निर्माण गरेको छ । विडम्बना, दिनहुँ सानो काममा घण्टौँ हिँडेर भारी बोक्ने दुःख कायमै छ । नत यातायात सुविधा छ । नत गाउँमा उत्पादित वस्तुलाई बजारमा लिन सकिएको छ । गाउँमा सडक पुगेको करिब पाँच वर्ष बढी भयो । तर गाडी नपुग्दा ४५÷५० किलो भारी बोकेर रातोपिरो अनुहार लगाउदैँ पसिना चुहाउँदै उकालो ओरोलो हिँड्ने बाध्यता उस्तै छ ।’

तिलाका पुरुने र अलि रोकाया जस्तै सडक काटेर गाडी नपुग्दाका कष्ट जुम्लाबासीक उस्तै छन् । गाउँगाउँमा सडक पुगे पनि कर्णाली राजमार्गसँंग जोड्ने तिला नदीमाथि मोटरेवल पक्की पुल निर्माण नहुँदा तिला ६, ७, ८ र ९ नम्बर वडाका तुही, गोठीगाउँ पोख्री, घोडमहादेव, सुडी, रिपी, रासा, मालापानी, खोप्री, जुम्लाकोट र पुरु दर्जनौं बस्तीका नागरिक खच्चर र पिठ्युँकै भरमा भारी बोक्न बाध्य छन् ।

जुम्लाको तिला,पातारासी,तातोपानी,गुठिचौर गाउँपालिका स्याउ,सिमि,आलु,कोदो,फापर,चिनो,कागुनो लगायत रैथानेबाली अन्नबाली उत्पादन हुने क्षेत्र हुन् । यातायात पहुँच नहुँदा किसानले चाहेर पनि उत्पादनलाई बजार सम्म पुराउन सकेका छैनन् ।
गाउँमा सडक देख्न डेढ दशक लाग्यो । अब गाडी पुग्न कति दशक लाग्ने हो ? पातारासी गाउँपालिका सन्देश बोहोराले भने,कहिले गाउँमा गाडी पुग्ने हो भन्दै रित्ता सडक हेरेर दिन गन्दै बसेका छौं । बनेका सडक जीर्ण हुने र स्तरवृद्धि हुने काम भए पनि गाडी नगुड्दा समस्या ज्यूँका त्यूँ छन् । सडक पुगेपनि गाडी नपुग्दा विकासको अनुभूति छैन्।’

तर गाउँ गाउँमा सडक पुगिसकेका र राजमार्गसंग पनि जोडिएकै तातोपानी,चन्दननाथ,पातारासी,गुठिचौर,कनकासुन्दरी,सिंजा हिमा गाउँपालिकाका गाउँहरुमा नियमित गाडी गुडेका छैनन् । गाउँमा उत्पादन भएको स्याउ सिमि ओखर बोकेर राजमार्गमा ल्याउनु पर्ने अबस्था अझै विद्यमान रहेको छ ।


सडक नियमित प्रयोगमा नआँउदा जीर्णबन्दै गएका छन् । नियमित गाडी नगुड्ने भएकैकारण निर्माण गरिएका सडकको स्तरन्नोतीमा स्थानीय तहको ध्यान छैन्।दुर्गम गाउँमा सडक पुराउनु सुखद पक्ष भएपनि नियमित यातायात संचालनदेखि उत्पादनको बजारीकरण हुने वातावरण मिलाउनु पर्नेमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए ।

अधिकांश पालिकामा राजमार्गसंग जोड्ने पुल नहुँदा गाउँका सडक प्रयोगविहिन देखिएको उनको भनाई छ ।
यता तातोपानी र तिला गाउँपालिका अध्यक्षले पालिकाको लगानीमा पुल बनाउन सम्भव नरहेको र संघ प्रदेशको लगानीमा पुल निर्माण भईरहेको बताएका छन । तिलाका अध्यक्ष मोतिलाल रोकायाका अनुसार मोटरेबल पुल निर्माण अन्तिम चरणमा छ । यता तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाई गाउँलाई राजमार्गमा जोडन् पुल निर्माण प्रक्रिया बढेको बताउँछन्।

सडक निर्माणमै एकअर्ब खर्च,सडक प्रयोग विहिन
जुम्लामा स्थानीय तहले हाल सम्म सडक निर्माणमा मात्रै एक अर्बबढी बजेट खर्चिएका छन् । स्थानीय सरकार संचालनको सात वर्षमा गाउँ गाउँमा सडक निर्माण गर्ने भन्दै जुम्लाका आठ पालिकाले एक अर्बबढी लगानी गरेका हुन् । आठै पालिकाका वईसाईटमा राखिएको बजेटलाई मात्रै केलाउँदा सडक विकासका लागि हालसम्म एक अर्बबढी बजेट लगानी गरेको देखिएको छ ।

आठै पालिकाको वईभसाईटमा राखिएको आव २०७४÷७५ देखि ०८०÷८१ सम्मको बजेट वक्तव्यको अभिलेख अनुसार सडक पूर्वाधार अन्तर्गत मात्रै एक अर्बबढि खर्च गरेको देखिन्छ । जसमा तिला गाउँपालिकाले भने सबैभन्दा बढी सडक निर्माणमा बजेट खर्चिएको छ । तिलाले आव २०७४÷७५ मा ६ करोड ३५ लाख ५० हजार,आव ०७६÷७७ मा सडक पूर्वाधारमा २४ करोड ५९ लाख ८४ हजार खर्च गरेको देखिन्छ ।

त्यस्तै आव ०७७÷७८ मा एक करोड ५५ लाख आव ०७९÷८० मा तीन करोड ३९ लाख र आव ०८०÷८१ मा भने सडकको बजेट भनेर छुट्टै देखाईएको छैन् । यसरी तिलाले भौगोलिक विकटताले हालसम्म सबैभन्दा बढी कुल ३५ करोड बजेट सडक विकासमा लगानी गरेको छ ।

यता तातोपानी गाउँपालिकाले स्थानीयतह संचालनको हाल सम्म सडक निर्माणमा मात्रै साढे १७ करोडबढी बजेट लगानी गरेको छ । सुरुको वर्ष आव ०७४÷७५ मा ३ करोड ७५ लाख छुटाईएको थियो । भने आव ०७६÷७७ मा ’गाउँ गाउँमा सडक संजालका पोका,अत्याआबश्यक सुविधाहरु पुराउन यातायात रुपी ढोका’ भन्ने नारा सहित सडक निर्माणमा एककरोड ८९ लाख विनियोजन गरिएको थियो ।

सडक संजालमा पोका पुगेपनि यातायातका ढोका भने अझै तातोपानी गाउँहरुमा खुलेका छैनन् । आव ०७७÷७८ मा १० करोड, ०७८÷७९ मा बजेट उल्लेख छैन् । ०७९÷८० मा एक करोड ४३ लाख, ०८०÷८१ मा पनि ५० लाखबढी गरि हालफसम्म साढे १७ करोढबढी बजेट सडक विकासमा बजेट छुटाईएको छ ।

हिमा गाउँपालिकाले ग्रामिण सडक निर्माणाा हाल सम्म ११ करोड बढी बजेट खर्च गरेको छ । सिंजा गाउँपालिकाले करिब ९ करोड बजेट सडक निर्माणमा लगानी गरेको छ । भने भौगोलिक रुपमा विकट यहाको कनकनसुन्दरी गाउँपालिकाले पनि सडक निर्माणमा ८ करोडबढी लगानी गरेको देखिन्छ । जसमा आव ०७६÷७७ मा एक करोड ३४ लाख ८६ हजार,आव ०७७÷७८ मा २ करोड ६१ लाख, आव ०७८÷७९ मा ३ करोड ७ लाख, आव ०७९÷८० को बजेट छैन् । भने चालू आवमा एक करोड ५० लाख गरी कुल आठ करोड बजेट सडक विकासमा लगानी गरेको छ ।

यता पातारासी गाउँपालिकाले सडक विकासमा आव ०७८÷७९ र ०७९÷८० मा दुई करोड खर्चिएको छ । यदपी पातारासीको वईसाईटमा वर्षअनुसारको बजेटनै छैन् । साथै गुठिचौर गाउँपालिकाको वईसाईटमा राखिएको बजेटनुसार आव ७९÷८० र ८०÷८१ मा सडक निर्माणमा ३ करोडबढी लगानी गरेको छ । गुठिचौरको वईसाईटमा ७९÷८० र ८०÷८१ को बाहेक अरु वर्षको बजेट राखिएको छैन् ।

चन्दननाथ नगरपालिकाले हाल सम्म सडक निर्माणमा ६ करोडबढी खर्चिएको छ । यो बजेट आव ०७५÷७६ र ०७७÷७८ को मात्रै हो । नगरपालिकाले अन्य आर्थिक वर्षको बजेट वईसाईटमा राखेको छैन् । यसरी आठै पालिकाले सडक विकासका लागि एक अर्ब बढी लगानी गरेपनि नियमित यातायात संचालन गर्न तर्फ ध्यान दिएका छैन् । जसका कारण ग्रामिण सडक निर्माणका लागि गरिएका अर्बौ लगानी बालुवामा पानी जस्तै भएको छ ।

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस