जुम्ला । तातोपानी गाउँपालिका वडा नं. २ का सिंह बुढा वर्षौदेखि गाउँमै होटल व्यवसाय गरिरहेका छन् । उमेरले ४० नाघिसकेका सिंहले कालापहाड(भारत) त्यागेर गाउँमै होटल व्यवसाय थालेको अहिले ठ्याक्कै १२ वर्ष भयो । गाउँमा रोजगारी नहुँदा जीवनका झण्डै १२÷१३ वर्षसम्म प्रायः कालापहाड गएरै बिताए ।
वर्षदिनको घरमा आउने परिवार भेट्ने अनि कालापहाडमै फर्किने उनको क्यालेण्डर थियो । कालापहाडमा सिंहको दिन,हप्ता महिना हुदैँ वर्ष मात्र बितेनन् । बालापन बित्यो । श्रम खर्च भयो । परिवारबाट टाढिनु पर्यो । परदेशमा भोक निद्रा नभनी पसिना बगाउनु नियती जस्तो बन्यो ।
तर अहिले सिंह बुढाका लागि कालापहाडको कष्ट एकादेशको कथा जस्तै बनेको छ । उनी अहिले आफ्नै गाउँमा सफल होटल व्यवसायी बनेका छन् । १२ वर्ष पहिले जर्मी गाउँ स्थित कर्णाली राजमार्गको आडमा होटल संचालन गर्ने उनी पहिलो व्यवसायी हुन् । तातोपानी धारामा घुम्न आउने पाहुनालाई सस्तोमा मिठो परिकार खुवाउने राजमार्गका एकल साहुजी हुन् सिंह ।
कालापहाडबाट फर्किएपछि उनले होटल व्यवसायसंगै तरकारी खेती पनि सुरु गरे । सुरुमा होटलमा मेसो नपाएका सिंहलाई तरकारी खेतीनै सहज जस्तो लाग्थ्यो । नागरिकलाई ताजा तरकारी खुवाउन एड्लास साईकलमा पश्चिमको कुडारी र पूर्वको एैरेनी बजारसम्म तरकारी बेच्न पुग्थे । तरकारी व्यवसायमा सिंहकी श्रीमतीले निकै सघाउन्थीन् । अहिले पनि होटल व्यवसायमा हुनुमा श्रीमती मुख्य हात छ ।
होटलमा ग्राहकको भीड बढ्दै जान थालेपछि उनले तरकारी खेती छोडेर व्यवसायीक रुपमा होटल व्यवसायमा होमिने निदो गरे । तर प्रयाप्त पुँजी भने खल्तीमा थिएन् । साहस जुटाएर तातोपानी धारा जाने बाटोको छेउमै ‘हिमाल एण्ड नरेश’ नामको होटल संचालन गरे ।
सिंह साहुजी उपनामले चिनिने उनले हालसम्म कुकको औपचारिक तालिम लिएका पनि छैनन् । कुनै निकायले तालिम दिएका पनि छैनन् । तर उनले बनाएका हरेक परिकार ग्राहक मिठो माने खाने गर्छन् । भने रातको १२÷१ बजे नभनी ग्राहकको मागअनुसार सेवा दिन तयार छन् । त्यसैले तातोपानी २ जर्मी गाउँ स्थित ‘हिमाल एण्ड नरेश’ होटल सामान्य नागरिकदेखि ठुलाबडाको समेत रोजाईमा छ ।
डेढ लाख लगानीबाट करोडको मालिक
सिंह बुढाले १२ वर्षअघि कालापहाडबाट कमाई ल्याएको एक लाख ५० हजार रुपैयाबाट होटल व्यवसाय सुरु गरेका हुन् । उनीसंग अरु पुँजी थिएन् । कमाई ल्याएको डेढ लाखले होटलमा बस्ने बेच्न टेबुल,किचनको र्याक,सुत्ने कोठाका खाँट बनाउन पुग्यो ।
उनी भन्छन,‘पढ्न लेख्न नआउने । एक लाख ५० हजार खर्च भईसक्यो । असुल हुने होकी नाई भन्ने चिन्ताले पिरोल्न थाल्यो । डेढ लाख असुलीको चिन्ताले श्रीमान श्रीमती बीच केहि समय बोलचालनै बन्द भयो । तर रातदिन नभनी व्यवसायमा जुट्दा ३÷४ महिनामै लगानी उठेपछि बल्ला साहस आयो ।’

पछि होटल विस्तार गर्दै गए, ग्राहकको चाप पनि बढ्दै गयो । कति अर्काको ठाउँमा पसिना बगाउने आफ्नै ठाउँमा श्रम गर्नुपर्छ भन्ने मान्यताले कालापहाड त्यागेर गाउँमै होटल व्यवसायमा जुटेको व्यवसायी सिंह बुढाले बताए ।
‘कालापहाड जस्तै कष्ट आफ्नै होटल व्यवसायमा पनि छ । तर परिवार संगै छन् । गाउँ समाज छ । आफै मालिक आफै कामदार छु । सबै परिवार मिलेर व्यवसाय अघि बढाइएरहेका छौ । यसमै सन्तुष्ट छु ।’उनले भने ।
कोरोनाकाल अघि दिनमा न्युनतम २५ हजारदेखि ६० हजार सम्म कमाई हुन्थ्यो । पहिला वार्षिक ७ देखि १० लाख सम्म आम्दानी हुने गरेको उनको भनाई छ । उनले होटल व्यवसायकै कमाईबाट नेपालगन्जमा एक कठ्ठा जमिन,गाउँमा एउटा स्याउ बगैचा,अहिले आफ्नै पाँच तले घर निर्माण गरेका छन् । सरदर हिसाब गर्दा पनि डेढ लाखबाट सुरु गरेको होटल व्यवसायले सिंह बुढालाई करोडको मालिक बनाएको छ ।
अहिले परिवार चलाउन कुनै चिन्ता छैन् । गाउँलेलाई सक्दो सहयोग गरेको छु । जेजस्तो भएपनि गाउँमै रोजीरोटी जुटेको छ । अहिले आफ्नै घर निर्माण गरी होटल व्यवसायलाई थप व्यवस्थित गर्ने सोचमा रहेको उनको भनाई छ ।
त्यस्तै दुःख पर्दा गाउँलेलाई सिंहले सहजै पैसा सापटी दिने गरेका छन् । सिंह साहुजीबाट सहयोग नलिने जर्मी गाउँकाका साहेतै कमै मान्छे होलान् । दिनरातको मेहनतले होटल व्यवसायमा आफू मात्र सफल भएका छैनन् । सारो गाह्रो पर्दा गाउँलेलाई ढाडस दिने नम्र बानीले उनी सहयोगी बनेका छन् ।
दुःख नगरी सुख मिल्दैन् । उनी थप्छन्,‘पहिला राजमार्ग छेउमा एउटा होटल पनि थिएन् । पढन् लेख्न नजानेपनि कडा मेहनतले म सफल भएपछि धेरैले अहिले होटल खोलेका छन् । यो निकै सुखद पक्ष हो । कालापहाड,खाडी गएर पसिना बगाउनु भन्दा आफ्नै गाउँमा एक अर्काको सिको गरी व्यवसाय गर्नु राम्रो हो ।’
कुनै समय सिंह बुढाले एकल व्यवसाय सुरु गरेको जर्मीगाउँमा अहिले बजार बनेको छ । दर्जनौ यूवा गाउँमै रोजगार बनेका छन् । गाउँ घरमा सम्भावना नदेखेर विदेशी ग्रामिण यूवाका लागि सिंह बुढा प्रेरणाका स्रोत बनेका छन् । गाउँमै केही ईलम गर्न उनले हरेक यूवालाइ सल्लाहसंगै ईच्छा देखाएमा सहयोग पनि गर्न तयार रहेको बताएका छन् ।



