आयातित प्लाष्टिक मालाले बजार भरिभराउ,स्थानीय उत्पादन शुन्य

जुम्ला । नेपालीको महान दोस्रो चाड तिहार नजिकीएपछि प्लाष्टीक मालाले जुम्ला सदरमुकाम देखि ग्रामिण बजार भरिभराउ भएको छ । जुम्लामा स्थानीय फूलको उत्पादन नहुँदा हरेक तिहारमा आयातित प्लाष्टीक मालालेनै बजार भरिने गरेको हो ।

छिमेकी जिल्ला मुगुमा व्यवसायीक फूलको खेती गरेपनि जुम्लामा हाल सम्म हुन सकेको छैन् । जुम्लाका आठ पालिका मध्य तातोपानी गाउँपालिकाले खाँदामुक्त पालिका घोषणा गरेपनि स्थानीय फूल उत्पादनमा कुनै लगानी गरेको छैन् । भने अन्य पालिकाले त्यसतर्फ ध्यान दिएका छैनन् ।

प्रायः तिहार कार्तिक तेस्रो र अन्तिम साता पर्ने र त्यो समयमा चिसो बढी हुने भएकोले फूल खेती गर्न नमिल्ने फूलेको फूल पनि ओईलिने समस्या रहेको बताउँनुहुन्छ । तर व्यवसायीक फूल खेती टनेल हाउसमा गरेको खण्डमा आम्दानी राम्रो देखिन्छ ।

पातारासीका स्थानीय प्रेम राज विष्ट भन्छन,‘स्थानीय उत्पादित फूलको रौनकता आफ्नै छ । तर उत्पादन शुन्य जस्तै हुँदा आयातित प्लाष्टीक मालाकै प्रयोग गर्नु बाध्यता जस्तै बनेको छ । स्थानीयतहले तिहार लगायतका पर्वलाई लक्षित गरी फूलखेती गर्नुपर्ने र सबै कार्यक्रममा त्यही फूलको प्रयोग गर्न जरुरी छ ।’

स्थानीय फूल प्रति माला १०० सय १५० सम्म पर्ने गरेपनि हेर्दा आर्कषक देखिने आयातित प्लाष्टीकको मालाको मुल्य ३÷४ सय मुल्य सम्म पर्ने गरेको छ । सडक पुगी सकेपछि जुम्लामा प्लाष्टीक मालाको प्रयोग बढेको देखिन्छ ।

फाटफूट रुपमै भएपनि सडक नआउनु पहिले स्थानीय घरघरमा फूलको खेती गर्थे । तर पछिल्लो समय खेतीनै गर्न छोडेका छन् ।

जुम्लामा कति बराबरको प्लाष्टीक माला आयात भयो भन्ने एकिन तथ्यांक कसै संग छैन् । तर डिलरदेखि खुद्रा पसल सम्म गाउँदेखि शहर सम्म प्लाष्टीक मालाले भरिएको छ ।

स्थानीयवासी सयपत्री फूलको साटो प्लाष्टिकका माला भित्रिन थालेपछि यहाँका बासिन्दामा परनिर्भरता बढेको हो । स्थानीए मुनबहादुर डाँगी पछिल्ला तिहारमा सयपत्री फूलको माला भेटिन छाडेको बताउँछन्।

उनले भने,‘घर आँगनमा मात्रै फूल रोपेको खण्डमा तिहारमा प्रयोग गर्न सकिन्छ । तर बजारमा माला पाईहाल्छ भन्ने मनसायले पनि खेत किसानले खेती गर्न छोडेका छन् । स्थानीयतहले फूलखेत ीगर्ने किसानलाई अनुदान दिनेदेखि प्रोत्साहन गर्ने जस्ता कार्यक्रम ल्याउनु पर्छ ।’

उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष स्थानीय उत्पादन नहुँदा आयातित मालाकै भरपर्नु पर्ने बाध्यता रहेको बताए । स्थानीय उत्पादन नभए सम्म प्लाष्टीक माला प्रतिवन्ध लगाउन पनि मुस्किल छ । आयातित माला लिन उपभोक्ताको निकै भीड देखिन्छ । त्यसको साटो आफ्नै उत्पादन गर्नुपर्ने कुरामा जाँगरण फैलाउन जरुरी छ ।

गत वर्ष चन्दननाथ नगरपालिकाका वडा नं. ७,८,१० लगायतका वडाका महिलाले फूल खेती गरेका थिए । उनिहरुले दशै तिहारको अवधिमा मात्रै करिब ३० हजारदेखि ५० हजार सम्म आम्दानी गरेका थिए । यस वर्ष फाटफूट रुपमा उत्पादन भएपनि जिल्लाभरको अबस्था शून्य नै छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस