जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाको लुम र कनकासुन्दरीको गाउँपालिकाको न्याउरीघाटमा निर्माण हुने पक्की पूलको काम अझै सुरु भएको छैन् । निर्माण व्यवसायी संग ठेक्का सम्झौता भएको चार महिना बितिसक्दा पनि काम ठेकेदारले काम सुरु गरेका छैनन् ।
भौगोलिक रुपमा विकट वस्तीलाई सडकमा जोडन् र जोखिम पूर्ण यात्रा गरिरहेका नागरिकको सहजताका लागि करोडौ लगानीमा पक्की पूल निर्माणको ठेक्का सम्झौता भएपनि ठेकेकारले काम सुरु गर्न ढिलाई गरेका छन् ।
कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा पूर्वाधार विकास कार्यालय जुम्ला अन्तरर्गत दुई वटा पक्की पूल निर्माण हुने भएका छन् । जसका लागि पातारासी गाउँपालिका वडा नं. ६ स्थित लुममा पक्की निर्माण गर्न ५ करोड ६४ लाख लागतमा गत जेठ १३ गते सम्झौता भएको थियो ।
त्यस्तै कनकासुन्दरी गाउँपालिका वडा नं. १ को न्याउरीघाटमा बन्ने पक्की पूल निर्माणका लागि पनि गत जेठ १३ गतेकै दिन ५ करोड ५४ लाख लागतमा ठेक्का सम्झौता भएको हो । दुबै पूल निर्माणको ठेक्का एउटै निर्माण कम्पन्नीलाइ परेको छ ।
कूल ११ करोड १८ लाख लागतमा लुम र न्याउरीघाटको पूल निर्माण गर्ने ठेक्का (एएनसी÷एमएनएस÷जेएमएस÷ जेभी) काठ्मान्डौँले पाएको छ । तर सम्झौता गरेको ५ महिना बितिसक्दा पनि कुनै काम अघि नबढेको पूर्वाधार विकास कार्यालय जुम्लाले जानकारी दिएको छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख प्रभाकर प्रसाद सिंह भन्छन,‘ठेक्का सम्झौता भईसकेपछि निर्माण व्यवसायीले काम गर्नु पर्ने हो । तर हाल सम्म कुनै काम सुरु भएको छैन् । हिउँदमा सिमेन्टको काम गर्न मिल्दैन् । हामीलाई सम्झौता मिति भित्रै काम भएको हुनु पर्छ ।’
पूर्वाधार कार्यालयका प्रशासन प्रमुख धर्मराज रावल सम्झौता बेलैमा गरेपनि निर्माण व्यवसायीले काम गर्न ढिलाई गरेको बताउँछन् । उनले भने,‘पूल निर्माणको फाईल सदर गर्नु फलामको चिउरा चपाउनै जस्तै मुस्किल छ । ठेक्का खोलेर सम्झौता भएपनि काम समयमै सुरु हुदैन् । यस्तो प्रबृत्तिले पूर्वाधार विकासले गति लिन सक्दैन् ।’
मुख्य ठेकेदारले निर्माण कार्य थालनी गर्नका लागि पेटी ठेकेदारका रुपमा तुल्सी रावतलाई जिम्मा दिएका छन् । पेटी ठेकेदार रावतका अनुसार दुबै निर्माण स्थलमा सरिया पुगिसकेको र चाडै फाउण्डेशनको काम सुरु हुने छ ।
उनी भन्छन,‘सम्झौता भए लगत्तै दशैँ तिहार लगायतका विदाले काम हुन सकेन् । अब सरिया आईसकेको छ । अहिले तलको फाउण्डेसन खन्ने काम हुन्छ । तीन वर्ष भित्र निर्माण गरिसक्ने लक्ष्यनुसार काम गर्छौ ।’ हिउँदमा चिसोले सिमेन्टको काम नहुने भएकोले बाँकी काम फागुनबाटै दुर्त गतीमा अघि बढाईने उनको भनाई छ ।
पातारासी गाउँपालिका अध्यक्ष पुर्ण सिंह बोहोराले लुममा पक्की पूल निर्माण हुने भएपछि खुसी व्यक्त गरे । केही महिना अघि लुमको काठेपूलबाट खसेर एक जनाको मृत्यु भएको थियो । पक्की पूल निर्माणको बहस वर्षौ पहिलेदेखी चलेपछि जग्गा बिवादले रोकिएको थियो । जोखिम पूर्ण यात्रा गरिरहेका पातारासीका उपल्लो क्षेत्रका नागरिकलाई सहज यात्रा गराउन लामो समयदेखि गरेको प्रयास सफल भएको अध्यक्ष बोहोराले उल्लेख गरे ।
उनले भने,‘ठेक्का सम्झौता भएर पनि काम ढिला भएको सुनिएको छ । यस्तो काममा ढिला गर्नु हुदैन् । सम्बन्धीत पक्षसंग बुझेर काम अघि बढाउन सहजीकरण गर्छु । संरचनालाई गुणस्तर र समयमै निर्माण गर्न लगाउन बेला बेला अनुमगन निरिक्षण समेत गर्न जरुरी छ ।’
मंसिर लागेसंगै कर्णालीमा सिमेन्टको काम ठप्प हुन्छ । ठेकेदारले चार महिना कुनै काम नगरेर बिताएका छन् । सम्बन्धीत कार्यालय,गाउँपालिकाले निर्माण व्यवसायीलाई ताकेता नगरेको खण्डमा पूलको निर्माण कार्य धकेलीने संकेत देखिएको छ ।



