चर्चामा सिमित जुम्ला एयरपाेर्ट विस्तार: बजेट अभावले राेकियाे जग्गा अधिग्रहण

लागत अनुमान १ अर्ब,विनियाेजन १० कराेडमात्रै,४० कराेड स्राेत सुनिश्चितताकाे माग

जुम्ला । बजेट अभावले जुम्ला विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणकाे काम अघि बढ्न सकेकाे छैन् । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतपछिकाे दाेस्राे ठुलाे शहर जुम्लाकाे विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणकाे काम केही समय अघिदेखि सुरु भएपनि बजेट अभावले काम राेकिएकाे छ ।

साविक कर्णालीकाे निकै ब्यस्त जुम्ला विमानस्थलकाे विस्तारका लागि जग्गा अधिग्रहणकाे काम अघि बढ्न सकेकाे छैन् । जुम्लाका सांसदहरुले बजेट व्यवस्थापनकाे पहल गरेपनि सरकारले चासाे नदिँदा काम अघि बढ्न नसकेकाे हाे ।

२०५१ सालमा निर्माण भएकाे जुम्ला विमानस्थलकाे टर्मिनल भवन जीर्ण बन्दै गएपछि नयाँ टर्मिनल भवन निर्माण तथा धावन मार्ग विस्तार लगायतका पूर्वाधार निर्माणका लागि जग्गा अधिग्रहणकाे प्रक्रिया केही महिनाअघि देखि सुरु भएकाे थियाे । यदपी काम अघि बढ्न सकेकाे छैन् ।

विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले १८३.८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको छ । 
विमानस्थल विस्तारका लागि १८३.८० राेपनी जग्गा अधिग्रहणका गर्न एक अर्बकाे लागत अनुमान गरिएकाे छ ।  तर चालू आर्थिक वर्षमा सरकारले १० कराेडमात्रै बजेट विनियाेजन गर्दा जग्गा अधिग्रहणकाे काम अघि बढ्न सकेकाे छैन् ।

यदपी फागुन १५ गतेकाे मन्त्री स्तरकाे निर्णयबाट विमानस्थलकाे जग्गा अधिग्रहणका लागि नागरिक उड्यन प्राधिकरणबाट सिफारिस भए बमाेजिम चालू आवमा थप ४० कराेड बजेट सुनिश्चिताका लागि माग गरिएकाे छ ।

चन्दननाथ नगरपालिकाकाे मेयर हुँदादेखिनै विमानस्थल विस्तारका लागि जुटिरहेकि सांसद कान्तिका सेजुवाल अहिले पनि अर्थमन्त्रालयदेखि प्राधिकरणसम्म नियमित धाईरहेकी छन् ।

जग्गा अधिग्रहणकाे लागत अनुमान एक अर्ब गरिएपनि चालुमा १० कराेडमात्रै विनियाेजन हुँदा काम अघि बढ्ने स्थिती नरहेकाे सांसद सेजुवालले बताईन् । ‘हाम्रो लामो समयको पहल र प्रयासपछि  माथिल्लो कर्णालीको जनजीवन र पर्यटनको आधार मानिएकाे जुम्ला विमानस्थल विस्तार अपरिहार्य छ ।’

उनले भने,’लागत अनुमान एक अर्ब गरिएकाे छ । त्यसमा १० कराेड मात्रै विनियाेजन भएकाे छ । तर जग्गा अधिग्रहणका लागि करिब ४८ कराेड आबश्यक पर्ने देखिएकाे छ । त्यसैले चालू आवमा थप ४० कराेड स्राेत सुनिश्चितताका लागि माग गरिएकाे छ । हाम्रा प्रयासले सार्थकता पाउदैँ छ ।’

जुम्ला विमानस्थल विस्तारका लागि सांसद कान्तिका सेजुवालसंगै ज्ञानेन्द्र बहादुर शाही,छिरिङ ल्हामु लामा,विनिता कठायत लगायतका सराेकारवालाकाे प्रयास रहेकाे छ । यदपी हाल सम्म नतिजा भने शून्य देखिएकाे छ ।

वर्षाैदेखि चर्चामा सिमित विमानस्थल विस्तारकाे हालसम्म कुनै पनि काम नहुँदा जुम्लाबासी असन्तुष्ट छन् । जुम्लाका सांसदहरुले एयरपाेर्ट विस्तारकाे एजेण्डा माथि परिणाम विहिन पहल कदमीकाे हाेडबाजी गरिरहेकाे समेत गुनासाे छ ।

६७० मिटर लामाे धावन मार्गलाई १ हजार ५० मिटरसम्म लम्बाई बढाउने लक्ष्य राखिएकाे छ । जसका लागि धावनमार्गकाे पूर्वपट्टी १८३.८० राेपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ ।

जग्गा प्राप्ति ऐन, २०३४ को दफा ४ (१) को खण्ड (ख) बमोजिम विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउने कार्यको लागि विमानस्थलको उत्तर र पूर्वतर्फ करिब एक सय ८३.८० रोपनी जग्गा अधिग्रहण प्रक्रिया अघि बढेकाे हाे ।

प्राधिकरणलाई जग्गा अधिग्रहणकाे लागि  नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०८० जेठ २ गते निर्णयबाट स्वीकृति प्रदान गरिएकाे हाे । निर्णय भएकाे एक वर्ष बित्न लागेपनि काम शून्य भएकाे छ ।

जुम्लाका सबै सांसदले निर्वाचित भएदेखि विमानस्थल विस्तारकाे एजेण्डा अघि बढाएपनि परिणाम नदेखिएपछि जुम्लाबासीले आलाेचना गर्न थालेका छन् । 

‘विमानस्थल विस्तारकाे विषय राजनीतिक एजेण्डा बनाएपनि कुनै काम हुन सकेन् ।’ नागरिक समाजका अध्यक्ष राज बहादुर महत भन्छन,’विमानस्थलले सांसद तथा अन्य सराेकारवालाई गिज्याई रहेकाे छ । एक अर्ब लागत अनुमान गरिएकाे आयाेजनामा १० कराेड मात्रै विनियाेजन गरेर सरकारले अनुदारपन देखाएकाे छ । यसमा सबै दलका प्रतिनिधि,सांसदहरुकाे परिणाममुखी पहल आबश्यक देखिएकाे छ ।’

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस