गिडिदह भ्रमण वर्ष केन्द्रित बहसः पूर्वाधार निर्माण र प्रचारमा जोड

गिडिदह पर्यटन पूर्बद्धनका लागि गिडिदह अंकित टिसर्ट लगाएर सामुहिक फोटो खिचाउदैँ सरोकारवाला । तस्बिरः कर्णाली मिसन ।

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नं ४ को स्थित कर्णालीको नयाँ पर्यटन गन्तव्य गिडिदहको प्रर्बद्धनका लागि तातोपानी गाउँपालिकाले ‘गिडिदह भ्रमण वर्ष–२०८२ को शुभारम्भ गरेको छ । गिडिदहमा पर्यटक भित्रयाएर स्थानीयको आयस्तर बृद्धि संगै रोजगारी सृजनामा टेवा पुराउने दिर्घकालिन सोच सहित गिडिदह भ्रमण वर्ष– २०८२ को शुभारम्भ गरिएको हो । गिडिदह भ्रमण वर्षको बुधबार प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले उद्घाटन गरे ।

उद्घाटन संगै भ्रमण वर्ष सफल पार्न तातोपानी गाउँपालिका वडा नं ४ मा आयोजित बहस कार्यक्रममा सहभागी सरोकारवालाले गिडिहलाई तातोपानीको मात्र नभई जिल्लाको समृद्धीको मेरुदण्डका रुपमा प्रर्बद्धन र विकास गर्नुपर्ने धारणा राखे ।
न्युनतम पूर्वाधार बाटो,धर्मशाला,पदमार्ग,खानेपानी धारा लगायतका केही संरचना बनाइएको छ । थप ठुला पूर्वाधार बन्ने क्रममै छन् । तर गिडिदहमा पर्यटकको आर्कषण बढेपछि पर्यटन प्रर्बद्धन गर्न पालिकाले गिडिह भ्रमण वर्ष सुरु गरेको हो ।

गुमनाम गिडिदहलाई चर्चामा ल्याएर सबैको रोजाईको गन्तव्य बनाउन पालिकाले गरेका प्रयास प्रसंशा योग्य रहेको र पर्यटनबाटै समृद्धी सम्भव भएकोले पूर्वाधार विकासका जोड दिनु पर्ने बताएका हुन् । बहसको सुरुमा तातोपानी–४ का वडाध्यक्ष अम्मर बहादुर रोकायाले गुमनाम गिडिदहको चर्चामा आएदेखि साढे दुई वर्षको अबधिमा गरिएका कामको फेहरिस्त सुनाए । साथमा सम्भावना चुनौती तथा अब गर्नु पर्ने कामका विषयमा समेत सरोकारवालाई प्रकाश पारे ।

वडाध्यक्ष रोकायाका अनुसार गिडिदह संगै तातोपानी–४ भित्र बिष्टज्यु, ठाकुर ज्यु, शिवभण्डार वन,मष्टो देवता,गणेश गुफा,माझ पाटन,बजेडी खोला धप्के पाटन,लामाचौर,फूलचौल्या लगायतका पर्यटन गन्तव्य रहेका छन् । भने लोपउन्मुख रेडपाण्डा पनि त्यस क्षेत्रमै पाईन्छ ।

पर्यटक भित्राउन पूर्वाधार निर्माणमा जोड
कर्णाली प्रदेश सभा सदस्य देबेन्द्र बहादुर शाहीले गिडिदह मात्र नभई जिल्लाका सबै पर्यटन गन्तव्य प्रर्बद्दनमा जोड दिनु पर्ने बताए । एक क्षेत्रको प्रर्बद्धनले मात्र जिल्लाको विकास नहुने भएकोले सबै पालिकाहरुको आपसी समन्वय र सहकार्यमा काम गर्नु पर्ने उल्लेख गरे ।

उनले भने,’जिल्लाको पर्यटन विकास,कृषि उत्पादन बृद्दि तथा उर्जा विकासका काम केन्द्रित हुन जरुरी छ । पर्यटन र कृषि जुम्ला समृद्धिका आधार हुन् । गिडिदह भ्रमण वर्ष सफल पार्न पूर्वाधारमा पनि जोड दिन आबश्कय छ । जुम्ला आउने हरेक पर्यटकलाई अर्गानिक नासो दिने गरी उत्पादन बृद्दि र लेवलिङ प्याकेजिङमा ध्यान दिनुपर्छ ।’

पर्यटनसंगै कृषिमा जोड दिनु पर्ने भन्दै तीनै तहका सरकारमा निर्वाचित सबै जनप्रतिनिधिहरुले पाँच वर्ष सम्म पार्टिगत स्वार्थ भन्दा माथि उठेर जनताको पक्षमा काम गर्नु पर्ने उल्लेख गरे । हाँकुमा पक्की पूल निर्माण तथा फूलचौल्या सम्मको सडक निर्माणको पहललाई परिणाममुखी बनाउन लागि परेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले तातोपानी गाउँपालिका पर्यटन संगै पूर्वाधार विकासमा जिल्लाकै अब्बल रहेको बताए । पर्यटन पूर्वाधार अभावले पर्यटक भित्राउन कठिन हुने भएकोले त्यसतर्फ ध्यान दिनु पर्ने उल्लेख गरे ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले निर्वाचित भएकै पहिलो काम स्वरुप गिडिदह प्रर्बद्दनको काम थालनी गरेको बताए । पूर्वाधार विकास,प्रचार प्रशारणका काम अघि बढाईएको उनको भनाई छ । गिडिदह केन्द्रित पूर्वाधार निर्माणमा वन क्षेत्र परेकाले समस्या भएको छ ।

उनले भने,’यस वर्षभित्र फूलचौल्या सम्म बाटो पुराउने लक्ष्य लिएका छौ । पदमार्ग,धर्मशाला अन्य संरचना बनिसकेका छन् । वाताबरणीय प्रभाव मुल्यांकन प्रतिवेदन स्वीकृत भएमा बजेट जुटाएर सडक निर्माण थाल्छौ । गिडिदहलाई तातोपानीको मात्र नसोची सबैले सहयोग गर्न आबश्यक छ ।’

कार्यक्रममा सहभागी स्थानीय दुर्गा प्रसाद पाण्डेले गिडिदहलाई तातोपानीको मात्र नभई जिल्लाले अपनत्व लिने गरि काम गर्नु पर्ने बताए । गिडिदहमा चहलपहल बढेसंगै जडिबुटि,वन पैदावारको चोरी निकासी बढेकाले नियमन नियन्त्रणमा ध्यान दिन सुझाव दिए ।

डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बहादुर बुढ्थापा विकास संगै वातावरण विनास हुँदै गएको बताए । गिडिदहमा निर्माण हुने हरेक संरचना वातावणमैत्री हुनुपर्नेमा जोड दिए । पूर्वाधार विकास बिना पर्यटक आउन मुस्किल हुने र हचुवामा बन्ने पूर्वाधार दिर्घकालीन असर गर्ने भएकोले ध्यान दिनु पर्ने उल्लेख गरे ।

गिडिदह प्रर्बद्धनमा केके भए काम ?
गुमनाम गिडिदह लाई चर्चाम ल्याउन तातोपानी गाउँपालिकाले २०७९ को असोज ४–६ गते सम्म पहिलो गिडिदह सम्मेलनको आयोजना गर्याे । त्यसअघि गिडिदह क्षेत्रमा जानू हुदैन्,भूत लाग्छ भन्ने अन्धविश्वास थियो । तर प्रचुर पर्यटन सम्भावना बोकेको गिडिदहमा २०८९ साल असोज ४– ६ गते सम्म गिडिदह सम्मेलनमा पहिलो पटक ८४ जनाको सरकारी टोली पुगेपछि गिडिदह चर्चामा आएको हो ।

सम्मेलनमा पालिकाले ३ लाख खर्च गरेको थियो । भने भिडियो बनाउन २५ हजार खर्च गरेको थियो । भौगोलिक रुपमा विकट गिडिदहमा पूर्वाधार बिना पर्यटक भित्र्याउन असम्भव भएपछि संघ प्रदेश र गाउँपालिकाको लगानीमा पूर्वाधार निर्माणदेखि प्रचार प्रशारका थुप्रै काम गरिएको वडाध्यक्ष रोकायाले उल्लेख गरे ।

जसमा हाल गिडिदहको प्रर्बद्दनका लागि ७ लाख २५ हजार लगानीमा ६ किमी पदमार्ग निर्माण, १० लाख खर्चेर गिडिखोला भलखोला फूल्च्याउले लामाचौर गिडिदह जाने २० किमीसडकको डिपिआर निर्माण,वाताबरणीय प्रभाव मुल्यांकन गरिएको छ ।
त्यस्तै १५ लाख लगानीमा गिडिदहमा धर्मशाला,खानेपानी धारा शौचालय निर्माण गरिएको छ । उक्त क्षेत्रमा वर्षाै पहिला बनेको भवन जीर्ण बन्दै गएको थियो । अहिले गिडिदह पुग्ने पर्यटकलाई सहज भएको छ । त्यस्तै फूलचौल्यामा धर्मशाला निर्माणको काम भईरहेको छ ।

समुद्री सतहदेखि ३४ सय ८५ मिटर उचाईमा अबस्थित गिडिदहको लम्बाई– १५ सय १० मिटर चौडाई ३१० मिटर गहिराई ४२.८ मिटर रहेको छ । भने आकार र गहिराईका हिसाबले रारा ताल र शेफोक्डो पछि तेस्रो ठुलो ताल हो । जहाँ पर्यटन प्रर्बद्दनको प्रचुर सम्भावना रहेको छ । निर्माण भएका संचरना पर्यटकको आबश्यकता पुर्ति नहुने भएकोले थप पूर्वाधार निर्माणमा ध्यान दिनु पर्ने देखिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस