जुम्ला – भेडाबाख्रा पालन कर्णालीका किसानको प्रमुख आम्दानको स्रोत हो । धेरैजसो किसानले यसै भेडाबाख्रा पालनबाटै जीविकोपार्जन गर्दै आएका छन् । जीविकोपार्जन गर्ने मुख्य स्रोतमाथि नै प्राकृतिक विपत्तिदेखि जंगली जनावर चितुवाले सताउने गरेको छ ।
कालीकोटको पलाँता गाउँपालिका – ८ को वन क्षेत्रमा पसेको चितुवाले वनमा चरिरहेका एकै बगालका ७ बार्खा मारेको छ । हिउटाला हिउचुली सामुदायिक वनमा नाइवाडाका करवहादुर बमका सात बार्खा एकै क्षेत्रमा मारेको अबस्थामा भेटिए ।
जिल्ला वन कार्यालय कालीकोटका फरेस्टी टक्कबहादुर बमले वनको नजिकै यताउता तिर सात बार्खा मारेको अबस्थामा आफूले भेटेको बताए । वनको यत्रतत्र मारेको अबस्थामा भेटिएको बताए । सात बाख्रामध्ये एक बाख्राको भित्रपट्टीको केही बाहिरको भाग खाएको देखियो । अन्य बाख्राको रगत मात्र चुसेर मारेको अबस्थामा भेटिएको बमको भनाइ छ ।

यसैगरी जुम्लाको गुठीचौर गाउँपालका–२ को झुलेनी भन्ने ठाउँमा चट्याङले लागेर २१ वटा भेडाबाख्रा मरेका छन् । रुखमुनि बसेका बेला चट्याङ पर्दा २१ वटा भेडाबाख्रा मरेका हुन् । गुठिगाउँका किसान हिर वहादुर ऐडिका १६ र धनकृष्ण रोकायाका ६ वटा भेडाबाख्रा चट्याङमा परि मरेको गुठिचौर–२ का पूर्व स्थानीय धनवहादुर बोहोराले बताए । घरमा ल्याउन रुखमुनि जम्मा गरि राखेको अवस्थामा चट्याङ परेको हो ।
ऐडिका ५० वटा र रोकायाका ३० वटा भेडाबाख्रा छन् । उनिहरुको घरखर्च भेडाबाख्राबाटै चल्ने गरेको छ । चट्याङमा परि भेडाबाख्रा मर्दा किसानहरु दुखि भएका छन् । गुठिगाउँमा रहेका १ सय ७५ घरधुरीका १ सय बढी परिवारले भेडाबख्रा पाल्ने गरेका छन् । गाउँमा करिब ३ हजार पाँच सय जति भेडाबाख्रा रहेको बोहोराले बताए । उनका अनुसार एउटै भेडाबाख्राको मुल्य कम्तिमा १० हजार देखि बढीमा २५ हजारसम्म पर्ने गर्दछ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ गुठिचौरको पूर्वि क्षेत्र हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठुलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ ।
भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च चलाउनमा समस्या भएको उनीहरुले बताएका छन् । किसान हिर वहादुर ऐडिले भने, यहि पेशाबाट घर खर्च देखि छोराछोरीको पढाइ खर्च सहज रुपले चलेको थियो । राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको लागि उनले अनुरोध समेत गरेका छन् । गुठीचौर २ का वडाध्यक्ष दिपवहादुर ऐडीले स्थानीय सरकारबाट हुने सहयोग गरिने बताए । वडामा रकम नभएकाले पालिकामा रहेको विपद् शाखामा कुरा राख्ने उनको भनाइ छ ।



