सुर्खेतमा निर्वाचन बिथोल्ने आशंकामा ८ जना पक्राउ

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्न सक्ने आशंकामा ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले चुनाव विरोधी गतिविधिमा संलग्न हुनसक्ने आशंकामा फागुन १३ गते वीरेन्द्रनगर नगरपालिका– १ का क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज ६६ वर्षीय नारायण न्यौपाने र कालीकोटको नरहरीनाथ गाउँपालिका– ७ का वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका ३० वर्षीय जिल्ला सचिव धीर दर्जीलाई (डेबिट परियार) पक्राउ गरेको हो ।


यस्तै कालिकोटकै सान्नी त्रिवेणी गाउँपालिका– ६ का क्रान्तिकारी कम्युनिस्ट पार्टीका ब्युरो सदस्य ४१ वर्षीय कर्णबहादुर बिसी, कैलालीको धनगढी उपमहानगरपालिका– १२ का वैज्ञानिक समाजवादीका जिल्ला सचिव श्याम कुवँर र सुर्खेतको वीरेन्द्रनगर– ११ का बहुमत पार्टीका जिल्ला सचिव ३८ वर्षीय राजु भनिने राजकुमार पौडेललाई पक्राउ गरेको हो ।


सुर्खेतकै भेरीगंगा नगरपालिका– १२ का नेकपा (क्रान्तिकारी) का जिल्ला सचिव ५४ वर्षीय रन्तबहादुर वली, भेरीगंगा नगरपालिका–९ का वटा कमिटी सदस्य ६६ वर्षीय पूर्ण तिरुवा र रुकुम पश्चिमको चौरजारी नगरपालिका– ८ का ३८ वर्षीय मानबहादुर मल्ललाई गिरफ्तार गरेको हो ।


प्रहरीले भने फागुन १४ गते मात्रै आरोपितहरुको नाम सार्वजनिक गरेको हो । चुनाव बहिष्कार गरेका विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरूले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेकोले गिरफ्तार गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथाले बताए । उनले भने, आरोपितहरू विरुद्ध शान्ति सुरक्षामा खलल् पु¥याएको कसुरमा मद्दा चलाउने तयारी रहेको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस