जुम्ला। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति जुम्लाले दोस्रो बृहत् कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव–२०८३ आयोजना गर्ने भएको छ। महोत्सव आगामी भदौ ७ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ।
जिल्लाको कृषि उत्पादन, पर्यटन, व्यापार तथा मौलिक कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, कृषि तथा व्यापार प्रदर्शनी, स्थानीय उत्पादनको बिक्री–प्रदर्शनी र विविध सांस्कृतिक कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ।
यस वर्ष महोत्सवको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, दर्शकको सुविधालाई प्राथमिकतामा राख्ने तथा अघिल्ला संस्करणमा देखिएका कमजोरीलाई सुधार गर्दै कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको छ।
प्रचार सामग्रीमा समावेश गरिएका सबै कलाकारलाई मञ्चमा उपस्थित गराइने व्यवस्था पनि मिलाइएको आयोजकको भनाइ छ।
महोत्सवको प्रवेश शुल्क प्रतिव्यक्ति रु. १०० देखि १५० सम्म निर्धारण गरिने जनाइएको छ।
कार्यक्रमबारे जानकारी दिँदै प्रतिष्ठानका अध्यक्ष विश्वराज खत्रीले महोत्सवले जुम्लाको कृषि, पर्यटन र व्यापार प्रवर्द्धनका साथै स्थानीय कला–संस्कृतिलाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
त्यस्तै, प्रतिष्ठानका निवर्तमान अध्यक्ष कर्ण बुढथापाले अघिल्लो महोत्सवबाट प्राप्त सुझाव र अनुभवलाई कार्यान्वयन गर्दै यसपटक व्यवस्थापनलाई थप सुदृढ बनाइएको बताए। प्रचारमा समावेश गरिएका सबै कलाकारलाई मञ्चमा प्रस्तुत गराउने प्रतिबद्धता रहेको उनको भनाइ छ।




