रसुवामा बाढीपहिरो : जुम्लाका ७०–८० जनामध्ये ६ जना मात्रै सुरक्षित, बाँकी बेपत्ता

जुम्ला । रोजगारीका सिलसिलामा रसुवा पुगेका जुम्लाको पातारासी क्षेत्रका करिब ७०–८० जना एकै कम्पनीमा काम गर्दै आएकोमा बाढीपहिरोपछि ६ जना मात्रै सुरक्षित स्थानमा पुग्न सफल भएका छन्। बाँकीको अवस्था अझै अज्ञात रहेको बताइएको छ।


बाढीपहिरो आएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुगेका भक्ति राम बोहोराका अनुसार, उनीहरूसँगै काम गर्दै आएका जुम्लाका अन्य व्यक्तिहरू सम्पर्कविहीन भएका छन्। बाढीपहिरोका कारण ठूलो क्षति पुगेपछि बेपत्ताहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।


बोहराका अनुसार बाढीपहिरोबाट बच्न सफल भएका ६ जना हाल सुरक्षित अवस्थामा रहेका छन्। तर, उनीहरूसँगै काम गर्दै आएका अन्य जुम्लीहरूको अवस्था अझै पत्ता लाग्न सकेको छैन।


बेपत्ताहरूको खोजीका लागि स्थानीय सुरक्षा निकाय तथा उद्धार टोली परिचालन गरिएको छ भने हेलिकप्टरमार्फत समेत खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको बताइएको छ।
बाढीपहिरोपछि रसुवामा रहेका जुम्लाका नागरिकका परिवारजनमा चिन्ता बढेको छ। बेपत्ताहरूको अवस्था तत्काल सार्वजनिक गर्न र प्रभावकारी खोजी तथा उद्धारलाई तीव्र बनाउन परिवारजनले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस