मुगुको छायाँनाथ रारा नगरपालिकामा अविरल वर्षासँगै आएको बाढीले ६० वटा बाख्रा बगाएको छ। बाढीमा बगेकामध्ये दुई वटा बाख्रा मृत अवस्थामा फेला परेका छन् भने ५८ वटा अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपनिरीक्षक विराज थपलियाका अनुसार आइतबार दिउँसो करिब १ बजे छायाँनाथ रारा नगरपालिका–११ स्थित उदारी चौरको रुम खोलामा चराउन लगिएका बाख्रालाई माथिबाट अचानक लेदोसहित आएको बाढीले बगाएको हो।
घटनाबारे छायाँनाथ रारा नगरपालिका–१० का वडा सदस्य सिंहबहादुर बुढाले अपराह्न करिब ५ बजे टेलिफोनमार्फत अस्थायी प्रहरी पोष्ट रोवालाई जानकारी गराएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) प्रकाशबहादुर सिंहको कमाण्डमा चार जनाको प्रहरी टोली साँझ करिब ७ बजे घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढीले बगाएका ६० बाख्रामध्ये दुई वटा मृत अवस्थामा फेला परेका छन्। मृत बाख्रा कसका हुन् भन्ने खुल्न सकेको छैन। बाँकी ५८ वटा बाख्रा भने बाढीको भेलले बगाएर लगेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ।
घटनामा कुनै मानवीय क्षति भने भएको छैन। घटनास्थल अस्थायी प्रहरी पोष्ट रोवाबाट करिब दुई घण्टा पैदल दक्षिणतर्फको दूरीमा रहेको बताइएको छ।
प्रहरीका अनुसार बाढीमा तेजबहादुर बोहराका १० वटा, लालचन्द्र ऐडीका १० वटा, हरिबहादुर ऐडीका ६ वटा, दर्जबहादुर बोहराका ३ वटा र मायादेवी बडुवालका १ वटा बाख्रा परेका छन्। अन्य बाख्रा धनीको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि बाख्रा धनी तेजबहादुर बोहरासँग टेलिफोन सम्पर्क गर्दा उनले आफूहरूले आँखै अगाडि ठूलो भेल आएको र धेरै बाख्रालाई बाढीले बगाएर लगेको बताए।
उनले भने, “एक्कासी ठूलो भेल आयो। मेरै आँखाअगाडि कयौँ बाख्रालाई बगाएर लग्यो। हामी भने दौडेर ज्यान बचाउन सफल भयौँ, तर बाख्राहरूलाई बचाउन सकिएन।”
बाढीले ठूलो संख्यामा बाख्रा बगाएपछि स्थानीय पशुपालक किसानहरूमा चिन्ता बढेको छ। बेपत्ता बाख्राको खोजी तथा घटनाको थप विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।




