नन्दप्रसाद न्यौपानेको सरुवा पुनर्विचार गर्न माग गर्दै जुम्लामा ज्ञापनपत्र

ज्येष्ठ नागरिकको सम्मान र कदर गर, धर्मपुत्रको सरुवा बदर गर” भन्ने नारासहित सरुवा निर्णय पुनर्विचार गर्न माग गरिएको छ।

जुम्ला । आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्लामा वैद्य निरीक्षक अधिकृत छैटौँ तहमा कार्यरत नन्दप्रसाद न्यौपानेको सरुवा निर्णय पुनर्विचार गर्न माग गर्दै ज्येष्ठ नागरिक संघ, जिल्ला कार्यसमिति जुम्ला र चन्दननाथ योग साधना केन्द्र जुम्लाले जिल्ला प्रशासन कार्यालयमार्फत कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन्।

सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतले मिति २०८३/०५/१५ मा गरेको सरुवा निर्णयअनुसार न्यौपानेको जुम्लाबाट अन्य जिल्लामा सरुवा भएको भन्दै उक्त निर्णय तत्काल पुनर्विचार गर्न माग गरिएको हो।

ज्येष्ठ नागरिक संघले न्यौपानेले जुम्लाका ज्येष्ठ नागरिकका लागि निःशुल्क आयुर्वेदिक फार्मेसी सेवा, स्वास्थ्य परीक्षण तथा औषधि वितरण, व्यक्तिगत सरसफाइ तथा हाइजिन व्यवस्थापन लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ। उहाँकै पहलमा ज्येष्ठ नागरिक संघमा निःशुल्क आयुर्वेदिक फार्मेसी तथा गार्डेन फार्मेसी स्थापना गरी औषधिजन्य जडीबुटी तथा वनस्पतिको उत्पादन, संरक्षण र उपयोगको व्यवस्था गरिएको ज्ञापनपत्रमा उल्लेख छ।

त्यस्तै, विपन्न तथा अति विपन्न ज्येष्ठ नागरिकलाई खाद्यान्नलगायत आवश्यक सामग्री उपलब्ध गराउने तथा स्थानीय तह र विभिन्न सरोकारवाला निकायसँग समन्वय गरी ज्येष्ठ नागरिकसम्बन्धी कार्यक्रम सञ्चालनमा समेत न्यौपानेको भूमिका रहेको संघले जनाएको छ।

यसैगरी, चन्दननाथ योग साधना केन्द्रले न्यौपानेले चार वर्षदेखि दैनिक बिहान ५ बजेदेखि ७ बजेसम्म जिल्लाका विभिन्न स्थानबाट आउने साधक–साधिकालाई निःशुल्क योग तथा ध्यान सिकाउँदै आएको जनाएको छ। केन्द्रको मुख्य प्रशिक्षक तथा गुरुका रूपमा उहाँले स्वयंसेवक भएर सेवा गर्दै आएको र उहाँको सरुवाले योग तथा ध्यान साधनाको नियमित गतिविधिमा असर पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

केन्द्रले न्यौपानेको नेतृत्वमा योग साधना केन्द्र व्यवस्थित रूपमा अघि बढिरहेको भन्दै उहाँको अनुपस्थितिमा केन्द्रमा भइरहेका भौतिक संरचना निर्माणलगायतका कामसमेत प्रभावित हुने जनाएको छ।

दुवै संस्थाले न्यौपानेको सरुवा तत्काल रोक्का/स्थगन गरी आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्लामै कार्यरत रहने व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयसँग माग गरेका छन्।

ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतमा पठाइएको हो। संस्थाहरूले सरुवा निर्णय पुनर्विचार गरी जुम्लाको आयुर्वेद, ज्येष्ठ नागरिक सेवा तथा योग–ध्यान क्षेत्रलाई निरन्तरता दिन सहयोग गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३ भाद्र १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस