लगातारको वर्षा, पहिरो र खोलामा बढेको पानीको बहावका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार केही स्थानमा यातायात पूर्ण रूपमा रोकिएको छ भने केही सडकखण्डमा एकतर्फी तथा सावधानीपूर्वक सवारी सञ्चालन भइरहेको छ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चाक्लाभीर, ज्वाङ खोला र किर्तिपुल क्षेत्रमा यातायात बन्द रहेको छ। पहिरो पन्छाउने काम भइरहेको र सडक पुनः सञ्चालनका लागि प्रयास जारी छ।
बिपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कडुने र चौकीडाँडालगायत क्षेत्रमा पहिरो तथा ढुंगा खस्दा सडक अवरुद्ध भएको छ।
कान्ति राजमार्गको चपली र तकुर्चेलगायत क्षेत्रमा सडक प्रभावित भएको छ। मकवानपुर र ललितपुरतर्फ पहिरो हटाउने काम भइरहेको छ।
त्यस्तै, सिद्धिचरण राजमार्गको ओखलढुंगा–सल्लेरी खण्डमा सोलु खोलानजिक सडक अवरुद्ध भएको छ। सडक खुलाउन आवश्यक उपकरण तथा मेसिन परिचालन गरिएको छ।
मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगर, कालीगण्डकी करिडोरको जैमिनी–४ बेलबगर तथा बागलुङ–बेनी सडकको म्याग्दी खण्डमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ।
तमोर करिडोरअन्तर्गत उकुवा खोला, नावा खोला र रानीगाउँमा सडक अवरुद्ध छ। खोलाको बहाव घटेपछि सडक खुलाउने तयारी गरिएको छ। राप्ती राजमार्गको कपुरकोट–खरखोला क्षेत्रमा पनि पहिरो हटाउने काम भइरहेको छ।
कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो
कर्णाली राजमार्गअन्तर्गत गगने खोला, नाग्म–गुम्राको रोँका क्षेत्र, बाँझेसिमल–दैलेखोला तथा हारेनजिकका विभिन्न स्थानमा साना–ठूला पहिरो र ढुंगा खसेका छन्। सडक विभागका अनुसार प्रभावित स्थानमा पहिरो पन्छाउन टोली तथा मेसिन परिचालन गरिएको छ।
त्यस्तै, भालुवाङ–चाकचके–लिवाङ सडकका विभिन्न स्थानमा पनि आंशिक अवरोध रहेको छ। सवारी चालकलाई सावधानी अपनाएर यात्रा गर्न आग्रह गरिएको छ।
वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला थप प्रभावित हुन सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।




