नन्दराम जैसी
जुम्ला । थकाईले रातो पिरो अनुहार, सिरबाट तप्प तप्प चुईरहेका पसीना, पिठ्युमा ४० केजीको भारी सहित ३ घण्टाको उकालो बाटो हिड्दै गरेकि शनिगाँउ फुङग्रकी लाउरी बुढा । ४५ बर्षकि उनि सिंजाको नराकोट बजारबाट घरमा चाहिने दैनिकी खाद्यन बोकेर स्याँ, स्याँ र सुई, सुई गर्दै उकालो हिड्दै थिइन् ।
उनिसँगै नराकोट बजारबाट सामान लिएर गएकि १० जना बढि अन्य महिलाहरुको पनि हालत उस्तै थियो । नराकोट बजारबाट साविकको शनिगाँउका सबै वडाहरुमा पुग्न कम्तीमा पनि २ घण्टाको उकालो बाटो हिड्नु पर्छ । बल्लतल्ल गाँउसम्म सडकले त छोएको छ, तर साँगुरो र भत्कीएको सडकका कारण सवारी चल्न नसक्दा स्थानियको पैदल यात्राको अवस्था भने पुर्खौदेखिको जारी छ ।
भारी सहित ३० बर्ष यता यहि बाटोमा उकाली, ओराली गर्दै गरेकि लाउरीले भनिन्, ‘म १० बर्षको उमेरदेखि यहि बाटोमा यसरी भारी बोकिरहेकि छु, अब हाम्रा दिन गए, तर पछिल्लो पुस्ताले एक बोरा चामल बोकेर यसरी पैदल यात्रा गर्न नपरोस्’ । उनिजस्तै त्यहाँका सबै स्थानियको अपेक्षा उहि छ, ‘गाँउमै खाद्यन्न ढुवानि सहितका सवारी पुगेको देख्ने’ ।
‘पैसाले गाँउसम्म सडक त काटियो, तर सवारी नपुग्दा हाम्रा दुख भने काटिएनन्’ ४० बर्षिय बिष्णुकलि रोकायाले भनिन्, ‘चुनाबको बेला विभिन्न आश्वासन बाँड्दै घरदैलोमै भोट मागेर तिजेका नेताहरुले गाँउगाँउसम्म सडक विस्तार र मर्मतमा जोड दिदैनन्, जनताको मर्का कसले बुझ्ने’ ।
शनिगाँउ, गोरा, फुङग्र, भाटगाँउ लगाएतका उक्त क्षेत्रका गाँउका महिलाहरुले यसरी बजारबाट सामान बोकेर ल्याउने कार्यदेखि घरको सबै गह्रौ काम आफै गर्नुपर्छ । यँहाका सबै युवाहरु ब्यापारको सिलसिलामा कालापहाड र रोजगारीको सिलसिलामा विदेशिएका छन् । घरमा बृद्धबृद्धाहरु र बालबालिका मात्र भएपछि त्यहाँका महिलाहरु सबै गह्रौ काम गर्न बाध्य भएका हुन् ।
‘पिठ्युमा भारी र पेटमा ७ महिनासम्मको गर्भ बोकेरै उकाली ओराली गर्छौ, यो रहर नभई बाध्यता हो, श्रीमान सँधै धन कमाउन कालापहाड जान्छन्, मैले मेरा दुई सन्तानलाई यसरी जन्म दिएँ’ राममाया रोकायाले भनिन् ।
यता सिँजा गाँउपालिकाले शनिगाँउ क्षेत्रमा सडक विस्तार र मर्मतका लागी बजेट विनियोजन भैसकेको जनाएको छ । सो क्षेत्रमा सडक विस्तार आयोजना गाँउपालिकाले मुख्य प्राथामिकतामा राखेको छ ।
शनिगाँउ क्षेत्र ६ नं वडा अध्यक्ष मुन बहादुर रावतले यस आर्थिक बर्षभित्रै गाँउमा सवारी पुर्याउने दावी गरेका छन् । उनले भने, ‘शनिगाँउसम्म सडक मर्मत गरी सवारी संचालनका लागी २० लाख रकम छुट्याईएको छ, छिट्टै सवारी पुग्छ, नागरीकले यसरी भारी बोक्ने दिन अब सकिनेछन्, सवारी साधानबाट गाँउमै खाद्यन्न तथा ब्यापारीक सामाग्री पुग्नेछ’ । अन्य गाँउगाँउसम्म सडक विस्तार कार्य तिब्र गतिले अघिबढ्ने उनले बताए ।