जुम्ला ः जुम्ला स्याउमा आत्म निर्भर जिल्लाका रुपमा विकसित हुँदै गएको छ । यहाँका पाखाबारी पनि स्याउ बगैँचामा परिणत छन् । जुम्लाका १८ हजार घरधुरी मध्ये झण्डै १६ हजार बढी घरधुरीमा स्याउ खेती गरिएको छ । एक घर एक बैगचा जस्ता कार्यक्रम पनि जुम्लामा सञ्चालन भएका छन् । जुम्लाकोे जुनसुकै क्षेत्रको भू भाग स्याउ खेतीका रुपमा योग्य भएको जिल्ला कृषि कार्यालयले प्रमाणित गरेको छ ।
पश्चिमको मालिकाठाँटा, पुर्वको गुठिचौर लगायतका सबै क्षेत्रमा स्याउ खेती हुने कृृषि विज्ञहरुले बताएका छन् । स्याउ खेतीलाई मौसमी व्यापारका रुपमा पनि लिने गरिन्छ । एक वर्षमा एकै कृषकले कम्तीमा पनि १० लाख बढी आम्दानी गर्दछन् । गएको वर्षमा मात्रै जुम्लाबाट १७ करोडको स्याउ निर्यात भएको थियो ।
प्रत्येक वर्ष स्याउ निर्यात दर बृद्धि हुदै गएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका बरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलेले बताए । जुम्लाको प्रमुख नगदेबालीका रुपमा रहेको स्याउलाई व्यवस्थित गर्न तथा बाहिरी बजारसम्म लिनका लागि सामुहिक स्याउ खेती उपयुक्त ठानिएको छ ।
गाउँको खाली खाली पखेरा जग्गामा गरिएको स्याउ खेती फस्टाउदै गएको छ । झण्डै १ सय ५० घरधुरीको स्वामित्वमा रहने गरी खेती गरिएको स्थानीय अगुवा धनबहादुर बुढाले बताए ।
पहिलो वर्ष दुई क्वीन्टल उत्पादन हुने अनुमान
गाउँलेको सक्रियतामा ४ वर्ष पहिले लगाएको स्याउ खेतीको पहिलो वर्षको उत्पादन बढिमा दुई क्वीन्टल उत्पादन हुने अनुमान गरिएको छ । पहिलो वर्ष भएको र केही विरुवामा फुल नलागेकोले त्यति धेरै उत्पादन नहुने देखिन्छ । जुम्लाकै एक मात्र सामुहिक स्याउखेती गरिएको जर्मी गाउँ हो ।
यस वर्ष पहिलो उत्पादन हुने स्याउ खान गाउँले पर्खाइमा छन् । जति उत्पादन भएपनि धेरै कष्टका साथ गएिका सामुहिक स्याउ खेती फस्टाउन थालेको प्रति स्थानीय हर्षित छन् ।
गाउँको हितमा आर्थिक लगानी हुने
एकआपसमा मिलेर नमुना गाउँको सन्देश दिने लक्ष्य रहेको जर्मी गाउँका शिक्षक अर्जुन बुढाले बताए । ‘सामुहिक स्याउ खेती फस्टाउदै गएपछि त्यसको नेतृत्व गर्नेको भिड छ ।’ उनले भने, ‘तर उक्त बगैचाबाट हुने आम्दानी समग्र गाउँको हित हुने काममा लगानी हुन्छ ।’ एक वर्षमा आम्दानी हुने रकम गाउँमा कोही विरामी हुँदा, उच्च शिक्षा पढ्दा, विकास निमार्ण तथा क्षमता विकासका क्षेत्रमा मात्रै लगानी हुनुपर्ने उनको भनाइ छ ।
‘बजारीकरणको लागि पनि निश्चित व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ ।’ उनले थपे, ‘सबैले विश्वास गर्ने व्यक्तिलाई जिम्मेवारी दिनु पर्ने हो । घर घरबाट मलझल संकलन गरी निकै मेहनतका साथ सामुहिक स्याउ खेती गरिएको छ ।’