डा. केसीको रगतमा अक्सिजनको कमी, सेता रक्तकोषिका घट्दै

जुम्ला : अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ । केसीको रगतमा अक्सिजनको मात्रा कम देखिएको र सेता रक्तकोषिका घट्दो क्रममा रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका हुन् । उनलाई जुनसुकै वेला गम्भीर संक्रमण हुन सक्ने खतरा रहेको उनीहरूको भनाइ छ ।

 

अहिले केसीको उपचारमा डा. प्रवीणकुमार गिरी, डा. धीरज गुरुङ र डा. सिद्धार्थ खाती खटिएका छन् । डा. गिरीका अनुसार शारीरिक कमजोरीका कारण केसीको शरीरका मासु बाउँडिने, जिउ दुख्ने, मुटुको चाल स्थिर नहुने, पिसाब कम हुनेजस्ता समस्या बढेका छन् । उनको रक्तचाप घटिरहेको तथा पिसाबमा क्रियोटिनाइन बढिरहेको गिरीले बताए । उनलाई स्लाइन र अक्सिजन नियमित दिइएको छ ।

चिकित्सक संघका दुई चिकित्सकले स्वास्थ्य जाँचे
नेपाल चिकित्सक संघ केन्द्रीय समितिले खटाएका दुई विशेषज्ञ चिकित्सकले केसीलाई भेटेका छन् । उनीहरूले पनि केसीको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको बताए । केसीलाई चेकजाँच गरेपछि डा. ढुण्डीराज पौडेल र डा. प्रकाश बुढाथोकीले स्वास्थ्य अवस्था जटिल बनेकाले जीवनरक्षाका लागि तत्काल कुनै कदम चाल्न सरकारलाई सुझाब दिएका छन् ।

काठमाडौं र जुम्लाको हावापानी फरक परेका कारण उनको स्वास्थ्य जोखिममा परेको उनीहरूको भनाइ छ । ‘जुम्लाको हावापानी र चार दिनसम्म चिसो कभर्डहलमा राखिएका कारण स्वास्थ्य अवस्था गम्भीर बनेको हो,’ डा. बुढाथोकीले भने, ‘अनशनको अवधि लम्बिन दिँदा जतिवेला जे पनि हुन सक्छ । केसीको जीवनरक्षालाई प्राथमिकतामा राख्नुपर्छ ।’

डा. ढुण्डीराज पौडेलले केसीको जीवनमा तत्काल जटिल मोड आए जुम्लामा उपचार सम्भव नहुने बताए । तर, केसीले जुम्लाकै चिकित्सक उपचारमा सक्षम रहेको भन्दै काठमाडौं नजाने र सरकारले पठाएका चिकित्सकसँग नजचाउँने बताउँदै आएका छन् ।

पवित्र स्थलमा मर्छु : केसी
चिकित्सक संघको टोलीसँग डा. केसीले आफू कर्णालीका जनताका लागि अनशन बस्न जुम्ला आएको बताए । उनले आफ्ना माग पूरा नगरेर सरकारले मार्न खोजेको आरोप पनि लगाए । ‘मैले उठाएका माग सम्बोधन नगरेर सरकारले मलाई मार्न खोजेको हो,’ उनले भने, ‘म यही पवित्र स्थलमा मर्छु ।’

ओली हावा भरिएको बेलुनजस्तै
अनशनरत डा. केसी समर्थकहरूले केपी शर्मा ओली हावा भरिएको बेलुनजस्तो भएको आरोप लगाएका छन् । शनिबार केसीको समर्थनमा राजधानीको माइतिघरमा विरोध प्रदर्शन भएको थियो । केसी समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले ओली हावा भरिएको बेलुनजस्तो भएको आरोप लगाउँदै आफूहरू सियो भएर फुटाउने चेतावनी दिए ।

कालिकोटवासीको ऐक्यबद्धता
डा. केसीको माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराउन कालिकोटवासीले पनि दबाब दिएका छन् । शनिबार कालिकोटका जनप्रतिनिधि, शिक्षक, नागरिक समाज, स्वास्थ्यकर्मीलगायतको टोली जुम्ला पुगेर केसीको माग सम्बोधन गर्न सरकारलाई दबाब दिएका हुन् । डा. केसीले उठाएका मुद्दाहरू सबै कर्णालीवासीको साझा मुद्दा भएको भन्दै मागप्रति सरकार गम्भीर नभए चरणबद्ध कडा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

प्रकाशित मिति : २०७५ असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस