
जुम्ला : जुम्लाको सदरमुकाम खलङ्गा देखि पश्चिम उत्तरी भेगमा पर्ने सिँजा उपत्यकामा बृहत निशुल्क स्वास्थ्यमा हजारौँ स्थानीय नागरिकको स्वास्थ्य चेकजाँच गरिएको छ । सिँजा गाउँपालिकाको व्यवस्थापन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्राविधिक सहयोग तथा थाँहा फाउण्डेशन नेपालको आयोजनामा विहिबार र शुक्रबार दुईदिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।
कर्णाली स्वास्थ्य प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक कमल शर्माको नेतृत्वमा गएको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरी उपचार गरेको हो । यहाँका स्वास्थ्य चौकीबाट सामान्य उपचार पाएपनि विशेषज्ञ चिकित्सकबाट राम्रो स्वास्थ्य उपचार पाएपछि स्थानीय खुशि भएका छन् । स्वास्थ्य शिविरमा धाती दुख्ने, दम रुघाखोली, ज्वारो र विशेष गरी महिलाको पाठेघरमा समस्या देखिएको चिकित्सकले जनाएका छन् ।
सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलका अनुसार स्थानीय तहमा पटक पटक स्वास्थ्य शिविर संचालन गरेर स्थानीयको घरदैलोमा सेवा प्रवाह गर्नु सकारात्मक पक्ष हो र यो राज्यको दायित्वमा पनि हो ।