नन्दराम जैसी,
जुम्ला । मालिकाबोताकी १५ बर्षिय किशोरी सपुरा रावत, बाल बिवाह गरेकोमा अहिले पश्चाताप गर्छिन् । सानैमा बिहे गरेपछि घरायासी कामको बोझसँगै आफ्नो पढाईलाई अगाडी बढाउनुपर्ने उनिमा जिम्मेवारी थपिएको छ । उनि भन्छिन् ‘पहिले बाल बिवाहको बारेमा केहि थाँहा भएन, रहर र लहलहैमा बिहे गरे, तर अहिले यस बिषयमा पुर्ण जानकार भएर पशचाताप गर्नुको विकल्प छैन ।’ बिहे अघिको सोचाई र बिहेपछिको जिम्मेवारीमा धेरै फरक रहेके उनले अहिले राम्रोसँग बुझेकी छन् । बिहे गरेको बर्ष दिन बितेपनि सन्तानको बिषयमा भने अहिले नसोच्ने उनको भनाई छ । बरु गाँउमा बाल बिवाह र जातीय छुवाछुत गर्नेको विरुद्धमा लाग्ने उनले बताईन् । तर यसअघि मालिकाबोता गाँउका सयौँ किशोरीहरु सानैमा आमा बनिसकेका छन् ।
पछिल्लो समय गाँउका अधिकांश किशोर, किशोरीहरुले आफ्नो अधिकार र कर्तब्यको बिषयमा आवाज उठाउन थालेपछि बाल बिवाह र जातीय छुवाछुत रोकिएको छ । कनकासुन्दरी गाँउपालिका २ मा पर्ने यो गाँउ एउटै वडामा अवस्थीत छ । यँहा क्षेत्रीको बाहुल्य र केहि दलितहरुको बसोबास छ । उनिहरुले प्रयोग गर्ने सार्वजनिक धाराहरु एउटै भएका कारण केहि समय अघि धारामा पानी भर्न जाँदा समेत जातीय विभेद हुन्थ्यो । तर अहिले थ्यो पनि अन्त्य भएको छ । ‘दलित भएकै कारण धारामा जाँदा शुरुमा पानी भर्न पाईदैन थ्यो, माथील्लो जातका सबैले भरीसकेपछि भर्नुपर्ने बाध्यता थियो’ किशोर नरेन्द्र विकले भने, ‘पानी भर्न लाईनमा कुर्दा कुर्दै कत्ति दिन त विद्यालय नै छुटाँए, भने कत्तिदिन गाली पनि खाँए ।’ नरेन्द्र जस्तै गाँउका धेरैको तितो अनुभव छ । तर पछिल्लो समय गाँउका दलित साथीको पक्षमा नै माथील्लो जातका किशोरहरुले आवाज उठाउन थालेपछि यो समस्या न्युनिकरण हुँदै गएको हो ।
‘धारामा पानी भर्दादेखि सार्वजनिक काममा समेत जातीय विभेद हुन्थ्यो, तर अहिले रोक्न सफल भएका छौ’ गाँउकै किशोर भिम रावतले भने, ‘यसको देन सिओसी कक्षालाई जान्छ, विद्यालयमा संचालन भएको तीन महिने कक्षाले आज हामीहरु समाज परिवर्तनका लागि बोल्न र लड्न सक्ने भएका हौँ ।’ मालिकाबोता गाँउमै रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अधिकार, कर्तब्य र परिवर्तनका बिषयमा तीन महिने सिओसि कक्षा संचालन भएपछि कक्षा लिने सबै किशोर, किशोरीहरु आफु र आफ्नो समाज परिवर्तनमा लागेका हुन् । प्लान ईन्टरनेशनल नेपालको सहयोग र आत्म सम्मानका लागि सहकार्य, क्याड नेपालको सहजिकरणमा संचालन भएको विद्यालयको सिओसी केन्द्रबाट यसअघि ३० जना किशोरले कक्षा लिईसकेका छन् । भने अँझै ५० जना कक्षामा सहभागी रहेको कक्षा सहजकर्ता पदमबहादुर रावतले बताए । उक्त कक्षा विद्यालयमै तर विद्यालय समय बाहिर संचालन हुन्छ । कक्षा संचालनका लागि सहजकर्ताको संस्थाले ब्यवस्था गरेको हो ।
‘कक्षा लिनुभन्दा समाजमा रहेका विकृति, विसंगति विरुद्ध लाग्नु गाह्रो हुँदो रहेछ, तर लागेपछि भने परिवर्तन संभव छ’ किशोर चन्द्र बुढाले भने, ‘बाल बिवाह र छुवाछुतका बिषयमा शुरु शुरुमा गाँउलेलाई सम्झाउनै मुस्किल पर्र्यो, तर विस्तारै सबैले बुझ्न थालेपछि अहिले सजिलो छ ।’ अब समाजमा विद्यमान छाउ प्रथा जस्तो कुसंस्कार समेत अन्त्य हुँदै जाने उनले बताए । कक्षा लिईसकेपछि अधिकांश किशोरहरुमा बोल्ने, पढ्ने, परिवर्तनका लागि एकताबद्ध हुने बानी र सहयोगी भावनाको विकास भएको छ । ‘पहिले पहिले गाँउ समाज र विद्यालयमा आफु भन्दा ठुला मान्छेको अघि बोल्न हुन्न र बोल्न सकिँदैन भन्ने सोचाई थियो’ किशोर डिलबहादुर रावतले भने, ‘आफ्नो समस्या आफैले बोले मात्र समाधान हुने रहेछ, त्यसैले सकारात्मक कामका लागि सबैका अघि बोलिन्छ ।’ भविष्यका कर्णदार मानीने पछिल्लो पुस्ताका किशोर, किशोरीहरुले परिवर्तनको बाटो अपनाए समाजमा रहेका सबै विकृति तथा कुसंस्कारहरु अन्त्य हुँदै जाने नागरीक समाजको भनाई छ ।