घरदैलोमै विशेषज्ञ सहितको स्वास्थ्य सेवा

मानदत्त रावल, जुम्ला ११ बैशाख ।
जुम्ला सदरमुकाम खलङ्गा देखि पुर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाले घरदैलोमै विशेषज्ञ सहितको बुधबार देखि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक बुनेशकुमार बादल सहितको दर्जन स्वास्थ्यकर्मीको टोली र औषधी घरदैलोमै पु¥याएर निशुल्क स्वास्थ्य शिविर मार्फत स्वास्थ्य सेवा दिएको हो । गाउँपालिकाद्धारा आयोजना गरिएको विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरमा आँखा, कान, दाँत, हाडजोर्नी, छाला र स्त्री रोगको जाँच गरिएको छ । शिविरको पहिलो दिनमा पाँच सय जना व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको छ ।


गाउँमै विशेषज्ञ सहितको स्वास्थ्य सेवा पाएपछि स्थानीय खुशी भएको पातारासी गाउँपालिका – ४ डोलकाटीका लक्ष्मण बुढाले बताए । उनले भने स्वास्थ्य संस्थामा औषधी अभाव र विशेषज्ञ चिकित्सकको सेवा नदेखेका स्थानीयले सहजै रुपमा स्वास्थ्य सेवा पाएपछि स्थानीय खुशी भएका हुन् ।


पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराका अनुसार यहाँका स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्यकर्मी मजबुद पारेका छौँ । यस्तै पटक पटक पालिका बाहिर वा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट विशेषज्ञ चिकित्सक ल्याएर निशुल्क स्वास्थ्य शिविर मार्फत स्वास्थ्य सेवा प्रदान गर्ने गाउँपालिकाको योजना रहेको उनको भनाइ छ ।

ग्रामीण भेगका महिलाका पाठेघरमा समस्या
पातारासी गाउँपालिका – ५ की ८५ वर्षीया लाउरी बुढाले बुधबार देखि सञ्चालन भएको दुई दिन निशुल्क स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गरिन् । उनको स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या देखियो । उनले भनिन् सधै गनाउने सेतोपानी झर्ने, ढाड दुख्ने जस्ता लक्षण देखिएकाले स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या देखिएको हो । त्यस्तै अर्का स्थानीय ६५ बर्षीया काली बुढाको पनि स्वास्थ्य परीक्षणमा पाठेघरकै समस्या देखियो ।


पातारासी गाउँपालिका स्वास्थ्य उपसंयोजक रतन बुढ्थापाका अनुसार निशुल्क उपचार सहितको स्वास्थ्य परीक्षणमा यहाँका अधिकाँश महिलाको पाठेघरको समस्या देखिएको छ । उनले भने महिलाको पाठेघरमा समस्या देखिनुको प्रमुख कारण भनेको कलिलै उमेरमा बालविवाह गर्नु, प्रजनन् अङ्ग परिपक्क नहुदै बच्चा जन्माउनु, बढी ओजिलो काम गर्ने र पोषणयुक्त खानाको आभाव नै हो ।
उपसंयोजक बुढ्थापाले भने गाउँपालिकाले यहाँको घरदैलोमै निशुल्क स्वास्थ्य परीक्षण गरी महिलाका पाठेघरमा देखिएका समस्याका विषयमा औषधी उपचार देखि जटिल समस्या देखिएका महिलाहरुलाई सुविधा सम्पन्न अस्पतालमा पठाउने व्यवस्था गरेको छ ।
बाल विवाह विरुद्ध घरदैलो अभियान
पातारासी गाउँपालिकाले बाल विवाह विरुद्ध घरदैलो अभियान संचालन गर्ने गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए । उनले भने जुम्ला जिल्लाको हकमा पातारासी गाउँपालिका बाल विवाह गर्नेमा पहिलो नम्बरमा पर्दछ । यसले बालबालिकाको पठनपाठन देखि स्वास्थ्यमा समस्या पार्ने भएकोले पनि बाल विवाह विरुद्ध अभियान गर्नेपर्ने अवस्था आएको उनको भनाई छ ।


बाल विवाह गर्ने र प्रजनन् अङ्ग परिपक्क नभएरै बच्चा जन्माउनाले महिलाको पाठेघरमा बढी समस्या देखिने गरेको छ उनले भने यस स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गर्ने अधिकाँश महिलाका पाठेघरमा समस्या देखिएको छ । बाल विवाहले अर्काे समस्या पनि देखिएको छ । उमेर नपुगेरै बालविवाह गर्ने र पछि सम्वन्धविच्छेद पनि हुने गरेको उनको भनाई छ । उनले भने पहिलो चरणमा स्थानीयको घरदैलोमै पुगेर बालविवाहका विषयमा सचेत गर्ने र त्यति गर्दा पनि नरोकिएको खण्डमा पालिकाबाट पाउने सेवासुविधा रोक्ने समेत चेतवानी दिने छौँ ।

प्रकाशित मिति : २०७६ बैशाख १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस