
जुम्ला : पातारासी गाउँपालिका–२ तल्फीगाउँमा जडीबुटी प्रशोधन उद्योग सञ्चालन गरिएको छ । उद्योगको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले उद्घाटन गरेका छन् ।
जडीबुटी प्रशोधन उद्योग स्थापनाले जुम्लामा मात्र नभई कर्णालीमै पाइने जडीबुटीको बजारीकरणमा कोसेढुंगा साबित हुने मन्त्री बुढाले बताए । जडीबुटी उद्योगको निरन्तरताका लागि प्रदेश सरकारले आवश्यक लगानी गर्ने प्रतिबद्धता जनाए । ‘कर्णालीमा उद्योग, कलकारखाना नभएकाले बेरोजगारी बढेको छ । अब रोजगारी सिर्जनाका लागि साना लगानीका उद्योग स्थापनामा सरकारले सहयोग गर्छ,’ उनले भने ।
जुम्लामा स्थापना भएको छन्चरीहाल्ना जडीबुटी प्रशोधन उद्योगले जटामसीको तेल उत्पादन गर्न थालेको छ । विशेषगरी जटामसी, चालिसपत्रे, सुनपाती, देवदारलगायत जडीबुटीको तेल उत्पादन हुने उद्योगका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । अहिले उत्पादन भइरहेको जटामसीको तेल प्रतिलिटर कम्तीमा ५० हजार रुपैयाँमा बिक्री हुने गरेको छ । अहिले १० लिटर जति तेल उत्पादन भएको अध्यक्ष बोहराले बताए । ‘तेल त उत्पादन भयो तर, निकासी गर्न समस्या भएको छ,’ उनले गुनासो गरे ।
जटामसीबाट छारे रोगको निदान हुने विश्वास छ । त्यस्तै, पाँचऔँले रक्तचापको औषधि हुने, चिराइतो र भोजपत्रको तेलबाट क्यान्सर निको हुने भएकाले बाहिरी बजारमा माग बढ्दै गएको उद्योगका सचिव मुनबहादुर विकले बताए । उद्योगले उत्पादन गरे पनि निकासी गर्न समस्या भएको उनले बताए । यो उद्योगबाट एक हजार स्थानीय बासिन्दा लाभान्वित भएका छन् । स्थानीय वासिन्दाले संकलन गरेको जुडीबुटी गाउँमै प्रशोधन हुन थालेपछि सहज भएको छ ।
यो उद्योग स्थापनाका लागि ३७ लाख लागेको छ । फुर्केसल्ला सामुदायिक वन र हिमाली परियोजनाको सहयोगमा उद्योग स्थापना गरिएको हो । सचिव विकका अनुसार, प्रशोधन गर्नका लागि तीनवटा मेसिन र आवश्यक पाटपुर्जामा ३७ लाख लागेको हो । यो उद्योगले महिनामा १६ हजार लिटरसम्म तेल उत्पादन गर्न सक्ने उनले बताए ।
यो उद्योग पातारासी गाउँपालिका–२ स्थित फुर्केसल्ला सामुदायिक वनसँगको समन्वयमा सञ्चालन गरिएको हो । सामुदायिक वनका पाटनमा पाइने विभिन्न जडीबुटी उद्योगले प्रशोधन गर्नेछ । वनको २५ हजार ६ सय हेक्टर जमिनमा जडीबुटी रहेको छ ।
यहाँका गैरकाष्ट वन पैदावारलाई आर्थिक उत्पादनसँग जोड्नका लागि उद्योगको भूमिका महŒवपूर्ण रहने चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले बताइन् । अहिलेसम्म भेडापालन, जडीबुटी, कृषि उत्पादनमा गाउँपालिका अग्रसर रहेको बताउँदै पातारासीका अध्यक्ष लछिमन बोहोराले अब जडीबुटीमा आत्मनिर्भर बनाउन लगानी भित्र्याइने बताए ।