
जुम्ला ः जुम्लाका एक नगरपालिका र साता गाउँपालिका भित्रका ९ महिना देखि ५ बर्षमुनिका एक हजार बालबालिकालाई दादुरा र रुबेला खोप लगाइने भएको छ । बालमृत्युदर शुन्य बनाउनका लागि दादुरा र रुबेला खोप लगाउने अभियान सुरु गरिएको हो ।
नेपाल सरकारको सन् २०२३ सम्म दादुरा र रुबेला रोग निवारण गर्ने नीतिअनुसार जुम्लामा पनि आगामी चैत २ गते देखि दादुरा र रुवेला विरुद्धको खोप अभियान गरिने भएको हो ।
सरकारले दोेस्रो चरणमा कर्णाली सहित नामाकरण गरिएका प्रदेशमा शुरु गरिने दादुरा रुवेला विरुद्धको खोप अभियानमा आ–आफ्ना वालवालिकालाई नछुटाउन समेत अपिल गरिएको छ । स्वास्थ्य कार्यालय जुम्लाले जिल्लामा खोप अभियानको बिषयमा विभिन्न क्रियाकलापसहित अभियानको प्रचार प्रसार शुरु गरेको छ ।
स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद सापकोटाले जिल्लाका सरोकारवाला निकायसँग अभियानको बारेमा जानकारी दिएका छन् । जुम्लामा चैत्र २– ५ गतेसम्म पहिलो चरणको अभियान सुरु हुने भएको छ भने चैत ९–१४ गतेसम्म दोस्रो चरणको दादुरा र रुवेला खोप लगाउने स्वास्थ्य कार्यालयले योजना बनाएको छ ।
दादुरा र रुवेला खोप अभियान सञ्चालन गर्नका लागि जुम्लामा ९४ जना स्वास्थ्यकर्मी तयार गरिएको छ भने २ सय ७१ खोप केन्द्र स्थापना गरिएको स्वास्थ्य प्रमुख सापकोटाले बताए । त्यसैगरी ५ सय ४२ स्वयम्सेवक बनाएको छ ।
अहिले जुम्लामा दादुरा खोप लगाउने ९० प्रतिशत र रुवेला खोप लगाउने ७४ प्रतिशत बालबालिका रहेको जनाएको छ । जुम्लामा अझै दादुरा खोप लगाउन १० प्रतिशत र रुवेला खोप लगाउन २६ प्रतिशत बाँकी रहेको जनाएको छ । दादुरा र रुवेला खोप शतप्रतिशत यसै अभियान बनाउने योजना रहेको स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।
जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले अभियानलाई सफल पार्न सवैको सहयोग आवश्यक रहेको बताए । उनले खोप पछि अबाञ्छित घटना हुन सक्ने अवस्थामा चाडै उद्धार गर्ने पूर्वाधार तयार गर्न पनि सूझाव दिए । यसैगरी खोप केन्द्रमा आवश्यकता भएमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरको घुम्ती अनुगमन पनि हुने जनाएको छ ।