हुम्लामा कोरोनाको आशंका भएपछि प्रतिष्ठानले चिकित्सक पठायो


जुम्ला ः कोरोना भाइरस संक्रमण फैलिएको बिषय बाहिर आएपछि जुम्लाबाट चिकित्सकको टोली हुम्ला पठाएको छ । कर्णाली प्रदेश सामाजिक मन्त्रलायको सहकार्यमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्लाको स्वास्थ्य अवस्थाको बारेमा वुझ्नका चिकित्सकको टोली पठाएको हो ।
हुम्लामा चीनको सिमाना नजिकैबाट आएका एक जनालाई कोरोनाको संक्रमण भएको हुन सक्ने सूचना पाएपछि चिकित्सकीय टोली पठाएको प्रतिष्ठानका निर्देशक मंगल रावलले बताए । उनका अनुसार प्रतिष्ठानका डा. अशोक गौतम सहितको तीन जनाको टोली पठाएको छ । चिकित्सकको टोली बुधबार नै जुम्लाबाट हुम्ला तर्फ प्रस्थान गरेको र त्यहाँ पुगेपछि वास्तविक अवस्थाको वारेमा जानकारी दिएर सोही अनुसार उपचारमा जुट्ने छ ।
चीनमा रहेका एक नेपाली कोरोनाको डरको त्रासले भागेर नेपाल आएका हुम्ला सिमकोट गाउँपालिका ३ लिमाटाङ्का एक जना व्यक्तिलाई कोरोनाको आशंकामा अहिले स्वास्थ्य चौकीमै निगरानी गरी राखिएको भन्ने खबर प्रतिष्ठानलाई पठाएपछि त्यहाँ चिकित्सक टोली पठाएको हो ।
यसैगरी जिल्ला प्रशासन कार्यालय जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र सामाजिक विकास कार्यालय कोरोना रोकथामका लागि सचेतना कार्यक्रम सँगै सक्रिय भएका छन् । प्रतिष्ठानमा एक बृहत जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरेर कोरोना र्भाइरस के हो ? यसको रोकथाम र सुरक्षाको अवस्था देखि विश्व व्यापी अवस्थाको वारे जानकारी गरिएको छ । कार्यक्रममा प्रतिष्ठानका विशेषज्ञ डा. धिरज गुरुङले कोरोनाको बारेमा जानकारी दिए ।

जनचेतना सहायता डेक्स राख्न निर्देशन
कर्णाली प्रदेश सरकारले भिन्नै कोरोना रोगथाम डेक्स राख्न निर्देशन दिएको छ । कोरोना भाईरस सम्वन्धी अन्तरक्रियामा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रतिष्ठान पुगेर रोगथामनै महत्वपूर्ण भएकाले छुट्टै सहायता डेक्स राखेर अनुसन्धान थाल्न निर्देशन दिएका हुन् ।
उनले कर्णालीमा स्वास्थ्यमा केही समस्या आईलागे प्रतिष्ठानको आशा ठुलो हुने भएकाले जनचेतना, व्यवस्थापन र रोगथाममा जोड दिन निर्देशन दिएका हुन् । उनले प्रतिष्ठानको उद्देश्य उपचार र उच्च शिक्षा मात्रै नभई अनुसन्धान पाटोलाई जोड दिन आवश्यक रहेको बताए । कोरोनाको वारेमा सवै जिल्ला स्वास्थ्यकर्मी र सरोकारवाको उपस्थिति गराई ठोस योजनामा अघि बढ्न उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस