जुम्ला ः चन्दननाथ नगरपालिका भित्रका १३ सय ६४ जना बालबालिकालाई दादुरा रुवेला खोप लगाइने भएको छ । ९ महिना देखि २ वर्ष मुनिका ४ सय १८ जना र २४ महिना देखि ५ वर्ष मुनिका ९ सय ४६ जना बालबालिकालाई दादुरा रुवेला खोप लगाइने भएको हो ।
स्वास्थ्य चौकी महतमा २ सय ५० जना, स्वास्थ्य चौकी कार्तिकस्वामीमा १ सय ५८ जना, स्वास्थ्य चौकी तलिउममा ३ सय ८ जना र शहरी स्वास्थ्य किल्नीक ठिन्केमा ५ सय १ जना बालबालिकालाई दादुरा रुवेला खोप अभियानमा सहभागी गराइने चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रवहादुर महतले बताए ।
चन्दननाथ नगरपालिका भित्र ४२ वटा खोप केन्द्र राखिने उनाले जानकारी दिए । चन्दननाथ नगरपालिकाको १–५ वडासम्म १५ वटा खोप केन्द्र तोकिएका छन् । स्वास्थ्य चौकी महतगाउँ, कार्तिकस्वामी स्वास्थ्य चौकी र स्वास्थ्य चौकी तलिउममा ९ वटा खोप केन्द्र तोकिएको महतले बताए । खोप अभियान अवधिभरी ८४ जना स्वयम् सेवक परिचालन गरिने पनि जनाएको छ ।
विश्वमा यही रोगका कारणले १ दिनमा ३ सय जना वालबालिकाहरुको ज्यान जाने गरेको छ । भने ६० लाख मानिसहरु प्रभावित हुने गरेका छन् । खोप अभियान चन्दननाथ नगरपालिकामा चैत ३ देखि १० गतेसम्म सञ्चालन हुने भएको छ ।