
जुम्ला : कर्णाली राजमार्ग अन्र्तगत जुम्लाको प्रवेश दवार नाग्ममा हेल्थ डेक्स स्थापना गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, तिला गाउँपालिका स्वास्थ्य शाखा र प्रहरी प्रशासनको समन्वयमा आइतबार हेल्थ डेक्स स्थापना गरिएको हो ।
कर्णाली राजमार्ग हुदै जुम्ला र मुगु जिल्लामा जाने यात्रुको तापक्रम र स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले आइतबार हेल्थ डेक्स स्थापना गरिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने अहिले जिल्ला बाहिर विशेष गरी व्यापार व्यवसाय गर्न छिमेकी राष्ट्र भारतमा जुम्ली धेरै गएका छन् । भारतमा कोरोना भाइरस फैलिएको र त्यहाँ गएका व्यापारीहरु जिल्लामा आउने समय भएकोले उनीहरुबाट संक्रमण आउन सक्ने सम्भावना भएकाले जुम्लाको प्रवेश दवारमा स्वास्थ्य परीक्षण अनिवार्य गर्न आवश्यक भएको उनले बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका डाक्टर कपिल अमगाईको नेतृत्वमा स्वास्थ्य परीक्षणका लागि तिला गाउँपालिका स्वास्थ्य शाखाका दुई जना अनमी सहित ७ जनाको समुहलाई हेल्थ डेक्समा परिचालन गरिएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको नोवल कोरोना भाईरस रोगथामको पूर्वतयारीका लागि जुम्लामा एक हप्तासम्म ‘लक डाउन’ गरिने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा आइतबार बसेको विपद् व्यवस्थापन समितिले सोमबारदेखि एक साता जिल्लालाई ’लकडाउन’ गर्ने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा भएको भन्दै जुम्लालाई चैत १० देखि १६ गतेसम्म लकडाउन गरिने भएको हो ।
रोजगारी र हिउँदे व्यापारमा भारत गएका जुम्लीहरु धमाधम घर फर्किन थालेपछि जुम्लामा कोरोना भइरसको उच्च जोखिम पनि बढेको हो । जुम्लामा मानिसहरुको चाप बढ्न थालेपछि कोरोनाको जोखिमबाट बचाउन लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । ’अत्यावश्यक सामग्री व्यवस्थापन गर्न र क्वारेन्टाइन र आइसोलेसन सेन्टर सञ्चालन गर्न पनि समितिहरु गठन गरेका छौं’, उनले भनिन्, ’जिल्लामा भीडभाड नगरिदिन नागरिकलाई समेत अपिल गरेका छौ ं।’
मानिसको भिडभाड कम गर्न तथा कोरोनाको प्रतिकार्य गर्नका लागि पनि ‘लकडाउन’ नीति आबश्यक रहेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक मंगल रावलले कोरोना संक्रमणको जोखिम र सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै ‘लक डाउन’ निर्णय स्वागत योग्य भएको बताए ।