
जुम्ला ः जुम्लाको प्रवेशद्धार नाग्म हेल्थ डेस्कमा परिचालन गरेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ । हेल्थ डेस्कमा एक सातासम्म बसेका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको हो । नाग्म हेल्थ डेस्कमा खटिएका स्वास्थ्यर्मीहरुले लकडाउनकै समयमा करिब चार हजार भन्दा धेरै मासिनहरुको कोरोना भाइरसको संक्रमण स्क्रिनिङ गरेका थिए ।
एक सातासम्म जुम्ला प्रवेशद्धार नाग्म बसेर स्वास्थ्य परीक्षण गरेका स्वास्थ्यकर्मीलाई अहिले जुम्लाको बसपार्कस्थित क्वारेन्टाइनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । नाग्म हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्मीले जुम्ला भित्रिने व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्दा उनिहरुसँग स्वास्थ्य सुरक्षाका समाग्रीहरु नहुँदा जोखिम मोलेर स्वास्थ्य परीक्षणमा खटिएका थिए ।
जोखिमका बीच पनि आफूहरुलाई दिइएको जिम्मेवारी पुरा गरेर फर्केको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी एवं नाग्म हेल्थ डेस्कमा खटिएका नन्दराज उपाध्यायले बताए । ‘लकडाउनको बेला पनि दैनिक हजार भन्दा धेरै व्यक्ति जिल्ला प्रवेश गरे,’ उनले भने, ‘नाग्म सानो ठाउँ भएकाले सबै जना टाँसिएरै लाइन लाग्दा जोखिम झन् बढेर आएको महसुस हुन्थ्यो तर पनि आफ्नो कर्तव्य त पुरा गर्न पर्यो । पीपीइ नभए पनि हामीले सवैको स्वास्थ्य परिक्षण गर्यौ ।
‘धेरैलई क्वारेन्टाइनमा बस्न सुझाव दिएको र एक सातासम्म नाग्म बसेर फर्किएपछि अस्पतालको काममा नगइ हामी पनि क्वारेन्टाइनमा बसेका छौं,’ उनले भने । १४ दिन पछि स्वास्थ्य अवस्था हेरेर मात्रै काममा फर्कने उनले बताए ।
जुम्लामा लकडाउनको सुरु देखि नै जिल्ला भित्रिने यात्रुहरुको स्वास्थ्य स्क्रिनिङ गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा.कपिल अमागाईको नेतृत्वमा डा.विशाल पोखरेल, निशान्त लामा, नन्दराज उपाध्याय र विशाल खड्काको टोली खटिएको थियो । अहिले उक्त टोली क्वारेन्टाइनमा बसेको छ ।